काठमाडौं, ६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १३ चैतमा प्रधानमन्त्री नियुक्ति गर्ने गरी सम्पूर्ण निकायमा पत्रचार गरेपछि सरकारमा को को सहभागी हुन्छ भन्ने कौतुहलता पैदा भएको छ । महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार पार्टीले संवैधानिक निकायहरूमा पार्टीका तर्फबाट जानकारी दिइसकेको र मन्त्रीहरुको बारेमा छलफल चलिरहेको छ ।
बुर्लाकोटीका अनुसार त्यसअघि नै पार्टीले संसदीय दलको नेता टुङ्ग्याउनेछ । मन्त्रीमण्डल कति बनाउने भन्ने विषयमा बिहीबार नेताहरूबीच छलफल चलेको थियो । दरबारमार्गस्थित होटल रोयल सिंगेमा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) र उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र डोलप्रसाद (डीपी) अर्यालबीच भएको छलफलमा बढीमा १८ सदस्यीय मन्त्रीमण्डल बनाउने छलफल भएको हो ।
उनका अनुसार प्रधानमन्त्री शाहले सपथ लिएकै दिन केही मन्त्रीले पनि सपथ लिने गरी तयारी भइरहेको छ । ‘को–को मन्त्री बन्छन् भन्ने कुरामा हामी छलफलमै छौँ,’ बुर्लाकोटीले भने, ‘त्यही दिन केही मन्त्री टुङ्गिनेछन् भने बाँकी मन्त्रालयको जिम्मेवारी पार्टीले योग्यता, क्षमता र दक्षताका आधार तय गर्नेछ । यसबारे नेताहरूबीच छलफल भइरहेको छ ।’ रास्वपा स्रोतका अनुसार १८ सदस्यीय बनाउने मन्त्रीमण्डलमा सभापति लामिछानेपक्षबाट १० र बालेनपक्षबाट ८ जनालाई मन्त्री बनाउने गरी छलफल गरिएको छ ।
उपसभापति अर्याललाई गृहमन्त्री तथा वाग्लेलाई अर्थमन्त्री बनाउने चर्चा रास्वपाभित्र चलेको छ । त्यस्तै, परराष्ट्र मन्त्रालयमा शिशिर खनाल र अमरेशकुमार सिंहको दाबी रहेको छ । भने, कानुनमन्त्रीमा सोविता गौतम, पर्यटनमन्त्रीमा धनन्जय रेग्मी, विराजभक्त श्रेष्ठ र सुम्निमा उदासको चर्चा चलेको छ । त्यसैगरी सुनिल लम्सालको पनि गृहमा चर्चा चल्दा सस्मित पोखरेललाई शिक्षामन्त्री बनाउने गरी छलफल भएको छ । त्यस्तै सञ्चारमा जगदीश खरेल र मनिष झाले इच्छा जनाएका छन् भने सुधन गुरुङले भौतिक पूर्वाधारमा दाबी गरेका छन् ।
स्वास्थ्यमन्त्रीमा तोसिमा कार्की र लेखजंग थापाको चर्चा रहेको छ । रास्वपाले बालेनलाई प्रधानमन्त्री बनाउने यसअघि नै तय गरिसकेको छ । काठमाडौं महानगर प्रमुखको पदबाट राजीनामा दिएर गत १३ पुसमा रास्वपा प्रवेश गरेका बालेनले पार्टीभित्र पदाधिकारीसहित उम्मेदवारमा ४० प्रतिशत कोटा लिएका थिए । हाल रास्वपाका १२५ प्रत्यक्ष र ५७ समानुपातिक सांसद निर्वाचित भएका छन् । झण्डै दुईतिहाइको हाराहारीमा सिट संख्या लिएर सरकार बनाउन लागेको रास्वपा सरकारलाई उच्च प्राथमिकताका साथ हेरिएको छ ।
