काठमाडौ ६ चैत ।
दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान मा निर्माण हुन लागेको ४ सय शैयाको अस्पताल भवनको ठेक्का प्रक्रिया अघि बढ्न नसकेको विषय सार्वजनिक भएको छ।
अर्थमन्त्री रामेश्वर खनाल ले सरकारबाट बाहिरिने क्रममा सार्वजनिक गरेको कार्यकाल समाप्ति प्रतिवेदनमार्फत उक्त जानकारी दिएका हुन्। अर्थ मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय का तर्फबाट जारी प्रतिवेदनमा सम्पन्न हुन नसकेका तथा प्रक्रियामै रहेका योजनाहरूको विवरण समावेश गरिएको छ।
प्रतिवेदनअनुसार प्रतिष्ठानको ४ सय शैयाको अस्पताल भवन निर्माणका लागि चालु आर्थिक वर्षमा विनियोजित बजेटभन्दा बढी रकमको ठेक्का लगाउनुपर्ने अवस्था रहेको थियो। तर बहुवर्षीय स्रोत सुनिश्चितताको सहमति नहुँदा ठेक्का प्रक्रिया अघि बढाउन नसकिएको मन्त्री खनालले स्पष्ट पारेका छन्।
उनले चालु वर्षको बजेटसमेत खर्च हुन नसक्ने स्थिति देखिएको भन्दै यसका लागि तत्काल समाधान खोज्नुपर्ने आवश्यकता औंल्याएका छन्। स्रोत सहमति नजुटेमा बहुवर्षीय आयोजना अलपत्र पर्ने जोखिम रहेको र भवन निर्माणका लागि छुट्याइएको करिब ८८ करोड रुपैयाँ फ्रिज हुने सम्भावना रहेको पनि प्रतिवेदनमा उल्लेख छ।
प्रतिष्ठान हाल स्वास्थ्य र शिक्षाको महत्वपूर्ण केन्द्रका रूपमा विकसित हुँदै गएको छ। तर आवश्यक भौतिक पूर्वाधारको अभावका कारण नयाँ सेवा विस्तारमा कठिनाइ भइरहेको बताइएको छ। विशेषज्ञ सेवा विस्तार भइरहेकै अवस्थामा नयाँ अस्पताल भवन निर्माण अघि बढ्न नसक्दा अन्योलता थपिएको छ।
प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिस्ट्रार श्याम लम्साल ले भवन निर्माणका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरी सम्बन्धित निकायमा पेश गरिसकिएको जानकारी दिएका छन्। उनले नयाँ सरकारले यस विषयलाई प्राथमिकतामा राखेर समाधान निकाल्ने विश्वास व्यक्त गर्दै सरोकारवाला सबै पक्षको समन्वय र पहल आवश्यक रहेकोमा जोड दिएका छन्।
