म एउटा पालको अगाडि ठिङ्ग उभिन आइपुगेको थिएँ । र, त्यो गाढा नीलो रङको पालको मुखैमा ठूलाठूला सेता अक्षरमा लेखिएको थियो— “महानिर्देशकको कार्यकक्ष ।”
पर्वतारोहणको सिलसिलामा यस्ता शानदार, ठूला र गोला आकारका पालहरू त मैले यसअघि पनि प्रशस्तै देखेको थिएँ । आरोहण दलका सदस्यहरू एकै ठाउँमा बसेर छलफल गर्नका लागि यस्तो विशेष पाल पनि खडा गरिएको हुन्छ— यदि टिम अलि धनी रहेछ भने । तर ‘महानिर्देशकको कार्यकक्ष’ लेखिएको यस्तो शानदार पालचाहिँ मैले जीवनमै पहिलो पटक देखिरहेको थिएँ ।
त्यहाँका निर्देशक Rudra Prasad Pandit ले पुष्पगुच्छाले स्वागत गरेर मलाई पालभित्र छिराउनुभयो । उहाँकै पछिपछि अरू कर्मचारीले पनि पालभित्रै प्रवेश गरेर स्वागत गरे । हामी सबै पालभित्रै अटायौँ मज्जाले । वास्तवमै मैले यसपूर्व देखेकाभन्दा पनि ठूलो रहेछ मित्रराष्ट्र चीनबाट भूकम्पपीडितलाई सहयोगस्वरूप प्राप्त हुन आएको यो पाल । त्यो बेला नेपाली जनता मात्र भूकम्पपीडित नभएर सिङ्गो निजामती सेवाको अभिलेख राखिएको निजामती किताबखाना पनि २०७२ को भूकम्पको सबैभन्दा ठूलो पीडितमध्येको एक थियो । यसमा रहेका कागजपत्रहरूलाई हतारहतार उद्धार गरेर नेपाल सरकारका अन्य विभिन्न निकायहरूका आँगनमा थुपारिएका थिए । यसरी थुपारिएका थुप्राहरूमा पनि सबैभन्दा बिजोगको थुप्रो थियो— पुल्चोकमा रहेको जल उत्पन्न प्रकोप व्यवस्थापन विभागको आँगनमा त्रिपालले छोपेर राखिएको एउटा विशाल थुप्रो ।
मैले वहाली गरेकै दिन कर्मचारी साथीहरूले यसरी कागजपत्र र सामानहरू थुपारिएका ५/७ वटा ठाउँहरू देखाउनुभयो । कतै हाम्रा दराजहरू शरणार्थी भएका थिए भने कतै कोरामा बाँधिएका अनेक पोकाहरू । कतै बोरामा कोचिएका अभिलेखको डङ्गुर देखिन्थ्यो त कतै नाङ्गा फाइलका थुप्राहरू ।
निजामती किताबखानालाई तत्काल संचालन गराउनु जरुरी भएको महसुस गरी सरकारले प्रिफ्याब टहराहरू बनाउने निर्णय गरेर त्यसका लागि रकमसमेतको व्यवस्था गरिसकेको रहेछ । केही टहराहरूको डिपिसी लेभलसम्मको निर्माण कार्य भइसकेको देखिन्थ्यो भने केहीको त धुरी छाउने फलामे डाँडाभाटा समेत लगाइसकेका देखिन्थे । तर बजारमै जस्तापाता अभाव भएका कारणले छानो छाउने काम भने कुनै टहराको पनि हुन सकेको थिएन ।
अनि यही बिन्दुबाट मेरो काम सुरू गर्नुपर्ने स्थिति थियो ।
निर्देशक रुद्रप्रसाद पण्डितले सुनाए— “पुनर्निर्माण प्राधिकरणका लागि समेत ठूलो परिमाणमा जस्तापाता उत्पादनको काम गर्नु पर्ने भएकाले हुलास स्टील कम्पनीले हाम्रो ठेकेदारलाई तत्काल जस्तापाता दिन नसक्ने भएछ । यही कारणले गर्दा छानो छाउन पाइएन सर । त्यो कम्पनी त अहिले यति चापमा छ रे कि दिनको २४ घण्टा चलाए पनि पूरै ७ वर्षका लागि अर्डर प्राप्त भइसकेको स्थिति छ रे ! लगातार २४ गेजको पाता बनाउने घान हालिरहेको अवस्थामा हाम्रालागि मात्र २२ गेजको घान हाल्न कम्पनीलाई पनि अप्ठेरो भएको छ रे ! त्यसैले यी फलामे डाँडाभाटा हालेर ठिक्क पारिएका टहराहरूमा पनि छानो ओढाउने काम अब विस्तारै खतराको सूचीमा परिसकेको छ सर !”
यति सुन्नासाथ मैले तत्कालै बाराका सिडिओलाई फोन लगाएँ । अलि पुरानो कुरो हुनाले स्पष्ट सम्झिन त सकिरहेको त छैन, तर पनि त्यो बेला बाराको सिडिओको रूपमा शायद बालकृष्ण प्रसाईंजी कार्यरत हुनुहुन्थ्यो जस्तो लाग्छ । मैले उहाँलाई स्थितिको पूरै बेलिविस्तार लगाउँदै ठट्टा गरेर भनेँ— “तपाईं त मभन्दा पनि पहिले सेवानिवृत्त हुने मान्छे, हामीले तपाईंको व्यक्तिगत फाइल नै जोगाइदिन सकेनौँ भने पछि कसरी पेन्सनपट्टा बनाउनुहुन्छ यार ? यहाँको बिजोग देखेर त मेरै आँखा रसाइरहेका छन् । लौ न, केही गरिदिनोस् सिडिओसाहेब । आखिर अप्ठेरो परेकै बेलामा त हो नि केही गर्ने भनेकै ।”
र, यति सूचना पाउनासाथ वास्तवमै उहाँले गर्नु पनि गर्नुभएछ । उहाँले तुरुन्तै हुलास स्टील कम्पनीको जिम्मेवार पदाधिकारीलाई आफ्नै कार्यकक्षमा बोलाएर परिस्थिति अवगत गराउनुभएछ । यति हुनासाथ १०/१५ दिनभित्रै हामीलाई चाहिने जस्तापाता तयार भएको खबर आयो । तर फेरि समस्या आयो ढुवानीको । भारतीय नाकाबन्दीलाई नै सहयोग पुग्ने गरी नेपालभित्रै चलिरहेको मधेश आन्दोलनले गर्दा पूर्व–पश्चिम राजमार्गमा यातायात सहज थिएन । मैले फेरि बाटोमा पर्ने सबै सिडिओसाहेबहरूलाई “ती जस्तापाता बोकेका गाडीलाई प्रहरी सुरक्षा दिन” अनुरोध गरेँ । उहाँहरूसँग भएको सल्लाहअनुसार नै बाटो पार गर्ने समय तालिका मिलाइयो । यसरी सबैको सहयोगमा जस्तापाता ललितपुर ल्याइपुर्याइयो । जस्तापाता आइपुगेपछि हाम्रो निर्माणको कामले पनि फटाफट गति पायो । सिधै हेर्दा त यसले ठेकेदारलाई नै मद्दत पुगेको जस्तो देखिए पनि अन्ततोगत्वा यसले सरकारलाई नै फाइदा पुर्यायो । अब हाम्रा खातापाताहरू सबै जोगिने भए । सबै तयारी सकेर मिति २०७२ कार्तिक २० गतेका दिन तत्कालीन सामान्य प्रशासनमन्त्री रेखा शर्माज्यूलाई बोलाएर ती प्रिफ्याब टहराहरूको समुद्घाटन गराउन सफल भइयो । हामी सबै कर्मचारी, हाम्रा सबै दराज र खातापाताहरू पनि अब विभिन्न थुप्रा र पालबाट टहरामा सरुवा भयौँ ।
अब सबै काम सहज भयो । बसाइ टहरामा भए पनि सबै काम वेबबेसमा हुने प्रणाली मिलाइसकिएको हुनाले सबै काम सिस्टमबाटै हुन्थ्यो । पेन्सनपट्टारूपी स्टिकरको मुद्रण र पेन्सनको अंक निर्धारण गर्ने काम पनि सिस्टमबाटै हुन्थ्यो । कसैको कुनै गुनासो थिएन । तर धेरै मान्छेले सोध्न आउने विषयचाहिँ “पट्टा बनाउन के के कागज चाहिन्छन् ?” भन्ने नै हुन्थ्यो । एउटै जवाफ सयौँ पटक दिनुपर्ने यस समस्यालाई सम्बोधन गर्न ‘चेकलिस्ट’ नै छापेर हात हातमै एक एकप्रति थमाइदिएपछि त्यसका लागि पनि धेरै बोलिरहनु नपर्ने भइसकेको थियो । सबै काम निर्बाध र सजिलो गरी चलिरहेका थिए ।
तर यहीबीचमा एउटा अनौठो घटना घट्यो । कुनै विभागमा महानिर्देशकको रूपमा रहेका र भर्खरै मात्र नेपाल सरकारको सेवाबाट निवृत्त भएका एकजना सहसचिवले मेरै कार्यकक्षमा आएर मलाई बडो गम्भीर मुद्रामा भन्नुभयो— “रिटायर भएपछि मेरो सञ्चित विदा र औषधी उपचारको पैसाको हिसाब गरिमाग्दा मलाई मेरै लेखापालले अपमानित गर्यो । मसँगै ठाडै घुस माग्यो । पैसा नदिए पत्रै बनाइदिन्नँ भन्यो । लौ न सर, अब के गर्ने होला ? मेरो हिसाब यहीँबाट गरिदिन मिल्ने कुनै उपाय छैन ?”
निजामती प्रशासनको विशेषता नै यही हो कि आफू शक्तिमा रहुन्जेल हाकिमहरूले अरूलाई मान्छे नै गन्दैनन र तिनीहरूको शक्ति खुस्किएका दिनदेखि तिनीहरूलाई अरूले मान्छे नै गन्दैनन् । शायद यी महानिर्देशक र ती लेखापालको सम्बन्ध पनि त्यस्तै रहेको थियो होला । अनि यसो सोचेँ— विभिन्न कार्यालयहरूबाट गरिएर आएको यो विषयको हिसाब आखिर हामीले यहाँ जाँच गर्दा फरक पर्ने गरेको भेटिएकै छ । सम्बन्धित कार्यालयको लेखा वा आर्थिक प्रशासन शाखाबाट आएको हिसाबलाई नै अन्तिम मान्ने अवस्था त यसै पनि छैन । फेरि यी महानिर्देशकको जस्तो समस्या त अरू पनि सयौँ ठाउँमा हुन सक्छ । हो त, हामीले नै केन्द्रीय प्रणालीबाट यहीँ हिसाब गरिदिन पाए त यो झन्झट सधैँका लागि समाधान हुने रहेछ ।
यो घटनाले मेरो दिमागमा दह्रो गरी ‘क्लिक’ गर्यो । त्यसपछि मैले तत्काल किताबखानाकी आइटी अफिसर र प्रशासनका शाखा अधिकृत सुदन ख्वाखली श्रेष्ठलाई आफ्नै कार्यकक्षमा बोलाएर छलफल गर्न थालेँ । विषयवस्तुको गाम्भीर्यले आकार ग्रहण गर्दै गएपछि विस्तारै हामी सबै जिम्मेवार अधिकृतहरू एकै ठाउँमा जम्मा भएर यही विषयमा छलफल गर्न थाल्यौँ । कार्यरत आइटी अफिसरको भन्दा प्रशासनतर्फका शाखा अधिकृत सुदन ख्वाखली श्रेष्ठको कम्प्युटर सम्बन्धी ज्ञान र सीप विशिष्ट भएकाले उनैलाई यस अभियानको चालक सिटमा राखियो र रुद्रप्रसाद पण्डितकै संयोजकत्वमा एउटा विशेष कार्यदल नै बनाएर सञ्चित विदा र औषधोपचारको रकम निर्धारण गर्ने स्वचालित प्रणालीको खोजीमा जुटियो ।
यो बेला २०७२ सालको भदौ महिनाको ९ वा १० गते चल्दै थियो होला ।
मैले साथीहरूलाई प्रोत्साहित गर्दै भनेँ— “आगामी भदौ २२ गते निजामती सेवा दिवसको दिन यो हिसाबको चेकसरहको मान्यता पाउने हाम्रो पहिलो पत्र छापिनेछ र यो नै हामी ८४००० निजामती कर्मचारीहरूका लागि हाम्रोतर्फबाट सादर र युगान्तकारी उपहार हुनेछ ।”
त्यसपछि त किताबखानाका साथीहरूले न रात भने न दिन भने । लगातार सफ्टवेयरमा प्रयोग गर्ने काम जारी रह्यो । सफ्टवेयरमा विभिन्न काल्पनिक अंकहरू हाल्दै त्यसले गरेको हिसाब र त्यसलाई मान्छेले क्याल्कुलेट गरेर हेर्ने काम कैयौँ रातसम्म जारी रह्यो । सुरु सुरुमा आनका तान फरक पर्ने गरेको हिसाब नयाँ नयाँ मान सेट गरेर हेर्दा अब विस्तारै लाइनमा आउँदै गयो ।
यसरी रातदिन ‘हिट एण्ड ट्रायल’ गर्दै भदौको २० गते राति हामी हरतरहले तयार भयौँ । अब हामीले गर्ने हिसाबमा कुनै त्रुटि रहेन । भदौ २२ त सार्वजनिक विदा नै भइगयो, त्यसैले भदौ २३ गते हाम्रो पहिलो चेकसरहको पत्र प्रिन्ट भयो जसमा सेवानिवृत्त कर्मचारीले पाउने सञ्चित विदा र औषधि उपचारको रकम उल्लिखित हुन्थ्यो । भुक्तानीको हिसाब राख्ने सरकारी निकायलाई चाहिने जति प्रति सक्कलै प्रिन्ट दिइन्थ्यो र यसको फोटोकपीलाई मान्यता नदिइने व्यवस्था मिलाइयो । तब त चेक भनिएको नि !
त्यो वर्ष मैले किताबखानामा कार्यरत मरिमेटेर काम गर्ने ७ जना कर्मचारीलाई ग्रेड थपिदिएर पुरस्कृत गरेँ । तर सङ्ख्या बढी भएका कारणले सबैलाई समेट्न सकिएन । यो कार्ययोजनाको ड्राइभिङ सिटमै बसेर हामीलाई सफल बनाउने सुदन ख्वाखली श्रेष्ठलाई स्नेहपूर्वक भनेँ— “सुदनजी, तपाईं त यो कार्यालयको ध्रुवतारा नै हुनुहुन्छ, तपाईंको कामलाई यहाँ जो महानिर्देशक आए पनि देख्नुहुनेछ । तर यी अरू कर्मीमौरीहरू सधैँ छायामा पर्नेछन् । म नै यहाँ रहेँछु भने तपाईंलाई अर्को वर्ष पुरस्कृत गर्नेछु । म नरहे पनि तपाईं आफ्नो कामकै कारणले सबैको नजरमा पर्नुहुनेछ । यो वर्ष मलाई क्षमा गर्नुहोला है !”
ती शालीन कर्मचारीले भन्नु नै के थियो र ? बडो भावुक भएर भने— “हजुरले नै यति भनिसकेपछि मैले पुरस्कार पाएँ सर । मलाई कुनै गुनासो छैन ।”
नभन्दै केही दिनपछि नै स्वयं प्रधानमन्त्रीज्यूको आग्रहमा मेरो सरुवा राष्ट्रपतिको कार्यालयमा भइहाल्यो । शायद यस्तै ६/७ महिना मात्र म निजामती किताबखानाको महानिर्देशकको रूपमा रहेँ र सुदनजीको ऋण चुक्ता गर्न नपाउँदै हिँडिहालेँ । केही दिन अघि डा. टोकराज पाण्डेज्यूलाई भेट्न जाँदा पो देखेँ— नाम फेर्ने रोगले यसलाई पनि छोएछ र अहिले त ‘राष्ट्रिय किताबखाना’ पो भइसकेको रहेछ । नाम फेर्ने प्रवृत्तिका बारेमा त मैले ‘त्यो उज्यालो कर्णाली’ नामको पुस्तकमै प्रशस्त लेखिसकेको हुनाले यहाँ केही भनिरहनै परेन ।
अहिले वहालमा रहेका कतिपय साथीहरूले यस कर्मको गहिराइ बुझ्न सक्नुहुन्न र लाग्दो पनि होला— यो पनि कुनै ठूलो कुरो हो र ? यो त गफ मात्रै भयो । तर जब सेवानिवृत्त भएर पट्टा बनाउन जाँदा त्यहाँका आफ्नै साथीहरूले आफूलाई पुर्याएको सेवाको स्तर देख्नुहुनेछ नि, तब तपाईंलाई आफूले जिन्दगीभरि अरू सेवाग्राहीलाई उचित व्यवहार र सेवा दिन नसकेकोमा पछुतो हुनेछ । किनकि अब किताबखानामा पुग्दा तपाईंको हैसियत सेवाप्रदायकको होइन, सेवाग्राहीको भइसकेको हुनेछ । र, नबिर्सौं, नेपालमा सेवाग्राही नै सबैभन्दा बढी पीडित छन् ।
नोटः नेपाली साहित्यमा ‘हिमालपारि पुगेपछि’, ‘सेती पनि काली पनि’, ‘सगरमाथाको आधारशिविरबाट’, ‘चीनको विचित्र चित्र’, ‘पाइतलाका छापहरु’, ‘गण्डकीको मुहान तिर’, ‘परिक्रमा अन्नपूर्ण’, ‘आनन्द भूमिको आगन’, ‘त्यो उज्यालो कर्णाली’ लगायतका कृतिहरु अमूल्य उपहारको रुपमा दिने साहित्यकार प्रतीक ढकालको फेसबुकबाट साभार गरिएको हो ।
