काठमाडौं,११ चैत।
प्रधान सेनापति अशोकराज सिग्देलले जेन–जी आन्दोलन उत्कर्षमा पुगेका बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनीतिक समाधान खोज्न राजीनामा दिन वा संवैधानिक प्रक्रियाअनुसार सेना परिचालन गर्न सुझाव दिएको बताएका छन्।
भदौ २३ गतेको आन्दोलनपछि भोलिपल्ट बिहान प्रधानमन्त्री निवासमा भएको छलफलमा आफूले यस्तो सुझाव दिएको उनले जाँचबुझ आयोगसमक्ष दिएको बयानमा उल्लेख छ।
साप्ताहिक पत्रिका ‘जनआस्था’मार्फत सार्वजनिक भएको प्रतिवेदनअनुसार प्रधानमन्त्रीले सुझाव मागेपछि सिग्देलले दुईवटा विकल्प अघि सारेका थिए।
उनले पहिलो विकल्पका रूपमा थप मानवीय क्षति रोक्न राजनीतिक समाधान रोज्नुपर्ने र त्यसका लागि प्रधानमन्त्रीले राजीनामा दिन उपयुक्त हुने बताएका थिए। दोस्रो विकल्पमा भने मन्त्रिपरिषद्को सिफारिस आएमा परिस्थिति नियन्त्रणका लागि नेपाली सेना पूर्ण रूपमा तयारी अवस्थामा रहेको जानकारी गराएको उल्लेख छ।
सिग्देलले नेपाली सेना स्वतः सडकमा उत्रिन नमिल्ने कानुनी व्यवस्था रहेको स्पष्ट पारेका छन्। उनका अनुसार सेना परिचालनका लागि मन्त्रिपरिषद्को सिफारिस र राष्ट्रपतिको निर्णय अनिवार्य हुन्छ।
उनले भदौ २२ गतेको केन्द्रीय सुरक्षा समितिको बैठकमै आन्दोलन व्यापक हुन सक्ने सूचना प्राप्त भएको तर भदौ २४ गतेसम्म राष्ट्रिय सुरक्षा परिषद्को औपचारिक बैठक नबसेकाले रणनीतिक निर्णय हुन नसकेको बताए। सो अवधिसम्म गृहमन्त्रीले राजीनामा दिइसकेको, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाइएको र आन्दोलनकारीका माग सम्बोधन हुने अपेक्षा गरिएकाले परिस्थिति झन् जटिल बन्ला भन्ने अनुमान नगरिएको उनको भनाइ छ।
प्रधान सेनापति सिग्देलका अनुसार संवेदनशील संरचना सुरक्षाका लागि सेनाले सक्रिय भूमिका खेलेको थियो।
सिंहदरबार, राष्ट्रपति र प्रधानमन्त्री निवास, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थल, इन्धन डिपो तथा कारागारको सुरक्षामा सेना परिचालन गरिएको थियो।
त्यसैगरी, सेनाकै दमकल प्रयोग गरेर सिंहदरबारस्थित राष्ट्रिय डाटा सेन्टर र अर्थ मन्त्रालयको डाटा सेन्टरमा लागेको आगो नियन्त्रणमा लिइएको उनले जानकारी दिए। सबै कार्यमा मानवीय क्षति न्यून राख्न अत्यन्त संयमता अपनाइएको सिग्देलको भनाइ छ।
