काठमाडौं, १३ चैत । बालेन्द्र (बालेन) शाहको शपथमा केही नयाँ र अनौठा अभ्यास हुने भएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार दिउँसो हुने शपथका लागि मञ्च पनि नयाँ बनाइएको छ ।
शीतल निवासको मूलढोका अगाडि रहेको मञ्चमा बालेनको शपथ हुने छैन । बालेनकै चाहनामा शपथका लागि उत्तरतर्फ फर्केको मञ्च बनाइएको छ ।
प्रधानमन्त्रीको शपथका बेला विभिन्न जातीय संस्कृति झल्किने कलाचित्र राखिने भएको छ । ‘नेवारी, मैथली, किराँत लगायत जातीय पहिचान र संस्कृति झल्किने कलाचित्र राखिनेछ ।
बालेन दौरा सुरुवाल र भादगाउँले टोपीमा शपथ लिन जाने तयारी छ । बिहीबार प्रतिनिधि सभा सदस्यको शपथका लागि जाँदा पनि बालेनले दौरा–सुरुवाल, कालो भादगाउँले टोपी र किराँत पहिचानको सिलाम साक्मा लगाएका थिए ।
शपथ कार्यक्रमको मोडालिटीबारे बुधबार बालेनको टोलीका सदस्यले राष्ट्रपति कार्यालयका अधिकारीसँग छलफल गरेका थिए ।
राष्ट्रपति कार्यालयले संवैधानिक निकाय, कूटनीतिक नियोगलगायत प्रतिनिधिलाई राष्ट्रपति कार्यालयले निमन्त्रणा गरेको छ । नियुक्त हुने प्रधानमन्त्री र रास्वपाका नेता/कार्यकर्ता गरी ७–८ सय जना आउने जानकारी बालेनको टीमले गराएको स्रोतले बतायो ।
प्रधानमन्त्रीको शपथका लागि रामनवमीको दिन शुक्रबार दिउँसो १२:३४ को साइत जुराइएको छ । नियुक्त हुने प्रधानमन्त्रीको प्रस्तावमै राष्ट्रपति कार्यालयमा शपथको कार्यक्रम तय भएको हो ।
शीतलनिवास स्रोतका अनुसार शपथ समारोहका लागि राष्ट्रपति रामचन्द्र पौडेल सवा १२ बजे मञ्चमा आइपुग्नेछन् । राष्ट्रपति आएलगत्तै राष्ट्रपति कार्यालयका सचिव महादेव पन्थले औपचारिक कार्यक्रम सञ्चालन गर्नेछन् ।
औपचारिक समारोहमै बालेनलाई प्रधानमन्त्री नियुक्त गरेको जानकारी गराइने छ । १२:१५ देखि १२:३३ सम्मको समयमा राष्ट्रपति कार्यालयका सचिवले सबै कुरा भनिसक्ने छन् ।
राष्ट्रपति कार्यालयले तयार गरेको ‘शेड्युल’ अनुसार १२:३३ मा राष्ट्रपति र नवनियुक्त प्रधानमन्त्री शपथका लागि माइकको अगाडि उभिने छन् ।
३४ मिनेटमा मात्र बालेनले ‘म ..’ भनेर शपथ शुरू गर्नेछन् । यसरी समय मिलाउन राष्ट्रपति कार्यालयलाई हम्मेहम्मे परेको छ । ‘३३ मा पनि हुँदैन, ३५ मा पनि हुँदैन । ३४ मै शपथ शुरू गर्नुपर्छ भन्ने छ, सोही अनुसारको तयारी छ । एक प्रकारले रिहर्सल पनि भएको छ ।
बालेनको शपथका क्रममा बटुकहरूले स्वस्तिवाचन, बौद्ध भिक्षुले मंगलवाचन गर्नुका साथै शंख ध्वनि समेत गरिनेछ ।
प्रधानमन्त्रीको शपथमा २ हजार व्यक्ति उपस्थित हुने अनुमानका आधारमा राष्ट्रपति कार्यालयले चियापानको व्यवस्था गरेको छ । विगतमा प्रधानमन्त्रीको शपथमा ‘जलपान’ राखिने गरेकोमा यसपटक भने ‘चियापान’ मात्र राखिएको छ ।
मितव्ययिता अपनाउने सरकारको नीतिअनुसार प्रधानमन्त्रीको शपथमा चिया र बिस्कुट मात्र राखिएको स्रोतले बतायो । शपथ लिएलगत्तै बालेन शुक्रबार नै पदभार सम्हाल्न सिंहदरबार पुग्नेछन् ।
