काठमाडौं, १३ चैत । २१ फागुनको आम निर्वाचनमा एमालेको अकल्पनीय पराजयको नैतिक जिम्मेवारीमाथी प्रश्न उठिरहेका बेला अध्यक्ष केपी ओलीले अर्थशास्त्रको नियमको प्रसङ्ग उठाएका छन ।
नवनिर्वाचित सासदहरुलाई दिशानिर्देश गर्ने क्रममा एमलेको हारमा अर्थशास्त्रको सिमान्त उपयोगी ह्रासको नियम लागू भएको भन्दै आफ्नो प्रतिरक्षा गरेर निराश नहुन पार्टी पङ्तिलाई सचेत गराए ।
चुनावी हारपछी एमालेको समग्र पुनर्गठनको बहस जोडदार उठिरहेका बेला एमालेले प्राकृतिक स्रोतसाधनको उपयोग, खनिज उत्खननको काम गर्ने क्रममा चौतर्फी हमला गरिएको र घृणाको राजनीतिले आजको अबस्था आएको टिप्पणी पनि गरेका छन ।
‘हामीले राजनीतिको उतारचढावसँग हरेस खानुहुँदैन । अर्थशास्त्रमा सीमान्त उपयोगी ह्रासको नियम भन्ने हुन्छ । कुनै चिज क्लाइमेक्समा पुगेपछि फेरि त्यसको घटोत्तरी प्रारम्भ हुन्छ । हामी कुनै गल्तीले, देश, जनता, सुशासनविरोधी कुनै कामले, भ्रष्टाचारजन्य कुनै कामले, विकास गर्न नसक्ने कामले सरकारबाट हटेको होइन । घृणाको राजनीतिको कारणले र चौतर्फी संयुक्त हमलाले हटेको हुनाले निराश हुनुपर्दैन । फेरि पनि जनतालाई साथ लिएर अघि बढ्न सक्छौँ,’ ओलीले भने, ‘सबभन्दा चरम घटोत्तरी अहिले भएको हो । । अरू अनेक शक्ति नाम–निसान नरहँदा पनि एमाले तेस्रो शक्तिका रूपमा रहेकै छ । यथार्थ विश्लेषण त त्यही हो नि । गम्भीर शिक्षा लिने अवसर प्राप्त गरेका छौँ ।’
पार्टीले द्लको नेता तोक्ने सन्देश
ओलीले संसदीय दलमा पनि सर्वसम्मत पदाधिकारी चुनिने भन्दै महत्वाकांक्षा नराख्न सचेत गराए । ‘हामीले केही दिनभित्र दुवै सदनको पदाधिकारी चयन गर्नेछौँ र जिम्मेवारी तोक्नेछौँ । कामका अभिभारा सुम्पिइनेछ । त्यसलाई पार्टीले गरेका मूल्यांकन, पार्टीले ठानेको आवश्यकताअनुसार साथीहरू चल्नुपर्छ । मलाई यो पद चाहियो, त्यो पद चाहियो भन्ने हाम्रो शैली होइन । पाएको जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने र त्यस आधारमा मूल्यांकन हुँदै जान्छ । क्षेत्रीय, जातीय, धार्मिक, लैंगिक आदि आधारहरू हेरेर मूल्यांकन हुँदैन,’ उनले भने ।
