काठमाडौं, १३ चैत ।
२१ फागुनमा भएको निर्वाचनमा रास्वपा झन्डै दुईतिहाइ नजिक सीट जित्दै पहिलो दल बनेको रास्वपाभित्र आन्तरिक लोकतन्त्रमाथि शुरुमै अंकुश लागेको छ । विहिबार साँझदेखि मध्यरातीसम्म दरवारमार्गस्थित रोयल सिंगे होटलमा पार्टी सभापति रवि लामिछाने र बालेन्द्र साहबीच भएको छलफलमा मन्त्रीको टुंगो लागिसकेको भएपनि अझै बाहिर ल्याइएको छैन । १८२ सीट जितेको रास्वपाले नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार बनाउँदै छ । चुनावपूर्वकै घोषणाअनुसार बालेन शाह प्रधानमन्त्री बन्दैछन् । प्रधानमन्त्रीमा बाध्यताले पारदर्शिता देखाउनु परेपनि अन्य मन्त्रीहरुको बारेमा दुई नेताहरुले कोही कसैसँग छलफल गर्न चाहेनन ।त्यतिमात्र होइन बालेन साहले संसदीय दलको बैठकमा धन्यवाद समेत भन्न सकेनन । पार्टीभित्र मन्त्री छनौटको विषयले प्राथमिता नपाएपछि आन्तरिक लोकतन्त्र कमजोर भएको अवस्थामा त्यहाँ मात्र होइन बाहिर पनि कसैले आवाज उठाउन सकेका छैनन ।
प्रधानमन्त्रीमा बालेनको टुंगो भइसके पनि अन्य मन्त्रालय र मन्त्री को–को हुन्छन् भन्नेचाहिँ रास्वपाले खुलाएको छैन । धेरै आकांक्षी तथा मिडिया र सार्वजनिक बहसमा गए वातावरण बिग्रने भन्दै रास्वपाले मन्त्री हुनेहरूको नाम बाहिर ल्याउन नचाहेको बताइएको छ । यद्यपि संसद भवन परिसरमा सांसद शिशिर खनालले मिडियामा बोल्नका लागि अब छुट्टै समय मिलाउनु पर्ने बताएर त्यहीबाट मिडिया अंकुशको शुरुवात पनि गरेको आभाष दिलाएका थिए ।
रास्वपा स्रोतका अनुसार पार्टीभित्रै पनि को–को मन्त्री बन्दैछन् भन्ने जानकारी कसैलाई छैन । सबै विषय अनुमान र चाहनाको भरमा नेताहरूले प्रचार गरिरहेका छन् । पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह बालेनबीच मन्त्रिमण्डलको विषयमा सहमति भैसकेको छ ।
उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र डीपी अर्यालसँग पनि कतिपय विषयमा सल्लाह लिने र कतिपय विषयमा छलफल भएपनि बाहिर आएको छैन ।
सांसद संख्या धेरै र केही न केही पद खोज्ने आकांक्षी बढी नै भएकाले मन्त्री छान्ने काम गोप्य बनाउने प्रयास रास्वपाले गरेको छ । त्यसमाथि वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेन शाहको स्वभावका कारण पनि रास्वपाले मन्त्री छनोट प्रक्रियालाई गोप्य बनाउन चाहेको बुझिन्छ ।
रास्वपाले बनाउने मन्त्रिपरिषदमा केही नाम चर्चामा रहेका छन्, जसमा अर्थविद् तथा पार्टी उपसभापति स्वर्णिम वाग्ले अर्थमन्त्री बन्ने चर्चा छ । चुनावअघि सभापति रवि लामिछानेले स्वर्णिमलाई बजेट लेख्दै गर्नु भन्दै निर्देशन दिएका थिए । सोही निर्देशनका कारण पनि स्वर्णिम वर्तमान मन्त्रिमण्डलमा छुट्दैनन् भन्ने बहस रास्वपाभित्र छ ।
यस्तै, अर्का नेता शिशिर खनाल परराष्ट्र मन्त्री बन्ने चर्चा पार्टीभित्र छ । रास्वपामा बालेनलाई जोड्न लामो समय मेहनत र संघर्ष गरेका खनालले अघिल्लोपटक एकदमै थोरै समय शिक्षा मन्त्री बन्ने मौका पाएका थिए । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिमा बसेर काम गरेका उनी पार्टीमा रणनीतिक नेताको रुपमा चिनिन्छन् ।
यसबाहेक गृह मन्त्रालयमा अर्का उपसभापति तथा रविका विश्वासपात्र डीपी अर्याल र बालेननिकट नेता पार्टी महामन्त्री सुनिल लम्सालको चर्चा रहेको छ । बालेन निकट स्रोतले भने सुनिल लम्सालको नाम मन्त्री बन्ने सूचीको प्राथमिकतामा रहेको बतायो । त्यसैगरी, काठमाडौं ५ बाट निर्वाचित सस्मित पोखरेललाई शिक्षा मन्त्री बनाउने गरी तयारी भएको छ । डा. अमरेशकुमार सिंहको नाम पनि बालेन समूहले मन्त्री बन्ने सूचीमा राखेको स्रोतले बतायो । बालेन समूहले गुल्मी १ बाट चुनाव जितेका सागर ढकालको नाम पनि सम्भावित मन्त्रीको सूचीमा राखेको स्रोतले बतायो । यस्तै, अघिल्लोपटक खेलकुद मन्त्री बनेका विराजभक्त श्रेष्ठको नाम संस्कृति पर्यटन मन्त्रीको रूपमा चर्चामा रहेको छ । उनी विगतदेखिनै संस्कृति जर्गेना अभियन्ता समेत रहेका थिए ।
यसबाहेक कानून मन्त्रीमा सोविता गौतमको चर्चा छ । स्रोतका अनुसार सोवितालाई सभामुख वा अन्य कुनै निकायमा लैजाने कि भन्ने पनि बहस पनि पार्टीमा भइरहेको छ । पार्टी प्रवक्ता मनिष झाको नाम सञ्चार मन्त्रीको रूपमा चर्चामा छ । इन्दिरा राना मगर‚ प्रतिभा रावल‚ जगदीश खरेल लगायतको नाम भावी सभामुखका रूपमा चर्चामा रहेको छ ।
