काठमाडौं, १३ चैत । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको शुक्रवारको शपथग्रहण कार्यक्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज साम्पाङ राई अनुपस्थित भएका छन् ।
राष्ट्रपति भवन शितल निवासमा शुक्रावार अपरान्ह् १२ बजेर ३४ मिनेटमा आयोजित शपथ समारोहमा राईको अनुपस्थिति मात्र हो कि, बहिष्कार ? सात सिटसहित संसदमा उपस्थित अर्को नयाँ पार्टी श्रम संस्कृति पार्टीको अध्यक्षको यो कदमप्रति अहिले धेरैको ध्यान तानिएको छ ।
त्यसो त समारोहमा सहभागी त्यस पार्टीका महासचिव तथा सांसद आरएन राई पनि प्रधानमन्त्री र मन्त्रीहरुलाई शुभकामना नै नदिई फर्किए । उनले पार्टी अध्यक्षलाई निमन्त्रणा भए पनि पूर्व निर्धारित बागबजारस्थित हार्दिक होटलको विशेष कार्यक्रममा सहभागी हुनुपर्दा अनुपस्थित रहेको महासचिव आरएनले बताए ।
‘काठमाडौं उपत्यका कमिटीले पहिल्यै निर्धारण गरेको प्रशिक्षण, भेटघाट र सदस्यता बिस्तारसम्बन्धि विशेष कार्यक्रममा अध्यक्षज्यू सहभागी भएका कारण ब्यस्तताकै कारण शपथमा जान पाउनुभएन ।’ महासचिव आरएनले भने ।
तर, बागबजारबाट करिब दुई किमी दुरीमा रहेको शितलनिवासमा आधा घण्टामै शपथ समारोहमा सहभागी भएर फर्किन सक्ने अबस्थामा पनि हर्क अनुपस्थित रहनुलाई धेरैले बहिष्कारकै रुपमा पनि अथ्र्याएका छन् ।
उता महासचिव आरएनले शपथ समारोहमा गए पनि भद्रगोल र अव्यबस्थित भएका कारण समारोहमा सहभागी भएर पनि शुभकामना दिन नपाएको अनुभव सुनाए ।
‘कार्यक्रम एकदम अव्यबस्थित र धेरै भद्रगोल थियो, त्यहाँ कुनै अनुशासन र भद्रताको कसैले पालना गरेको देखिएन । यस्तो अव्यबस्थित होला भन्ने अनुमान पनि थिएन । त्यसकारण उपस्थित भएर पनि म पनि शुभकामना नदिई फर्किन बाध्य भएँ ।’ उनले भने ।
विहिबार सांसदहरुको शपथ समारोहमा रास्वपाका अध्यक्ष रवी लामिछाने र प्रधानमन्त्रीका उम्मेद्वार बालेन्द्र शाहले आफूहरुलाई तीन घण्टा पर्खाएको विषयमा अध्यक्ष हर्क साम्पाङले सामाजिक संजालबाट बिरोध गरेका थिए ।
