काठमाडौं, १३ चैत । गृहमन्त्री सुधन गुरुङले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न निर्दैशन दिएपछि प्रहरीले लिखित पत्र माग गरेको छ । सरकारले लिखित पत्र दिएपछि मात्रै पक्राउ गर्ने प्रहरीको अडानपछि आजका लागि संभवत रोकिएको छ । ‘हामीले लिखित मागेका छौ,त्यो आएपछि प्रकृया अघि बढ्छ’, उच्च प्रहरी अधिकारीले भने । उनका अनुसार अहिले गुण्डुस्थित ओली निवासमा नेपाल प्रहरीको एउटा टुकडी निगरानीको लागि पुगेको छ । भक्तपुर प्रहरी परिसर र काठमाडौं उपत्यका अपराध महाशाखाको टोली निगरानीका लागि गुण्डु पुगेको छ ।
गृहमन्त्रीमा नियुक्त भएपछि सुदन गुरुङले करिब दुईघण्टा देखि दुई प्रहरी प्रमुखसँग छलफल गरेका थिए। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालसँग गुरुङले छलफल गरेका बेला उनीहरुले लिखित आदेश मागेका थिए । गृहमन्त्रीले प्रहरी प्रमुखलाई पक्राउ गर्न आदेश दिएका थिए । प्रहरी प्रधानकार्यालयले जवानदेखि अधिकृतसम्म चुस्ता बस्न निर्दैशन दिइएको छ । प्रहरी कार्यालयमा अहिले पनि आन्तरिक छलफल चलिरहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट फर्किए लगत्तै उनी छलफलमा थिए । प्रहरीले लिखित आदेश मागेपछि गुरुङ रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठ पुगेका थिए । स्रोतका अनुसार गुरुङ र दुई आईजीपीले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका विषयमा छलफल गर्दा तत्कालै कार्यान्वयन गर्न जरुरी पूर्जी दिने तयारी थियो ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय मन्त्रिपरिषद्को पहिलो बैठकले गरिसकेको छ। मन्त्रिपरिषद्ले सुरक्षाकर्मीको हकमा तत्काल कार्यान्वयन नगर्ने तर अन्यको हकमा तत्काल कार्यान्वयन गर्ने निर्णय गरेपछि गृहमन्त्रीले सुरक्षा प्रमुखहरुसँग छलफल गरेका थिए ।
सुरक्षाकर्मीको हकमा भने अध्ययन गर्न समिति बनाउने र उक्त समितिको रायपछि मात्रै थप निर्णय लिने निर्णय भएको थियो । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको हकमा प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय भएको छ। त्यसकै आधारमा गृहमन्त्रीले प्रहरी प्रमुखलाई पक्राउ गर्न आदेश दिएका थिए ।
