काठमाडौं, १७ चैत । प्रहरीले काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई पक्राउ गरेको छ । अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई सुविधानगरस्थित घरबाट पक्राउ गरेको हो ।
उनी जेनजी आन्दोलनको बेला काठमाडौंको सीडीओ थिए । रिजालमाथि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गरेको आरोप छ । उनी तत्कालीन गृहमन्त्री रमेश लेखक निकट थिए । जेनजी आन्दोलनमा दमन गरेपछि उनी काठमाडौंको प्रमुख जिल्ला अधिकारीबाट एक महिना नपुग्दै सरुवा भएको थियो ।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजाललाई समेत कारबाही सिफारिस गरेको थियो । आयोगकै सिफारिसका आधारमा यसअघि तत्कालीन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखक गत शनिबार नै पक्राउ परिसकेका छन् । तिनै रिजाल काठमाडौंका प्रमुख जिल्ला अधिकारी हुनुभन्दा अघि गृह मन्त्रालयको प्रशासन महाशाखाको प्रमुख थिए । तत्कालीन गृहमन्त्री रमेश लेखकको पालामा प्रशासन महाशाखा प्रमुख रहेका उनीमाथि कर्मचारीहरूलाई अध्यागमन एवं आकर्षक कार्यालयहरूमा पठाउँदा ‘पेशागत आचरण विपरित काम गरेको’ आरोप लागिरहेको छ ।
