पोखरा,१७ चैत ।
सुनसान र बस्तीभन्दा टाढाको एकान्त घरमा ट्रान्सपार्टी गरिरहेको समयमा प्रहरीले छापा मारेको छ । कास्की प्रहरीका अनुसार पोखरा महानगरपालिका–१८ सेदीस्थित जंगल नजिकको एकान्त घरमा स्वदेशी र विदेशी युवायुवतीहरु ट्रान्सपार्टीमा रमाईरहेको बेला प्रहरीले छापा मारेको हो ।
मध्यरातमा छापा हानेको प्रहरीले अवैध रुपमा आयोजना गरिएको ट्रान्सपार्टीबाट ३८ जनालाई नियन्त्रणमा लिएको छ । ती मध्ये १२ जना विरुद्ध मुद्धा चलाउने तयारी भएको छ । कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार पोखरा–१८ का कृष्ण पराजुलीका पुरानो घर बमेन्द्र पुन सहितको टोलीले भाडामा लिएर ट्रान्सपार्टी आयोजना गरेका थिए । पार्टीमा लागु औषध समेतको बिक्री वितरण र सेवन समेत गरेको पाइएको प्रहरीले बताएको छ ।
‘हामीले मध्यरातमा छापा मारेका हौ । प्रहरीले छापा मार्दा त्यहाँका लागु औषध सेवन र बिक्री वितरण गरेको पाइएको थियो,’ एसपी कार्कीले भने, ‘घरको चारैतिर घेरा हालेर छापा मारेका हौ । स्वदेशी र विदेशीलाई त्यहाँबाट पक्राउ गरिएको छ ।’
उनका अनुसार प्रहरीले पक्राउ गरेका मध्ये ८ जनाको साथबाट लागु औषध फेला पारेको छ । ती मध्ये ६ जना विदेशी र बाँकी स्वदेशी युवायुवती थिए । उनीहरु सबैलाई स्क्रिनिङ गर्दा आठजनाको साथबाट लागुऔषध फेला परेको एसपी कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार प्रहरीले उनीहरुको साथबाट एमडीएमए, चरेस, कोकिनजस्तो देखिने सेतो धुलो, खात, खैरो हेरोइन जस्तो पदार्थ, ‘आइस’ (एम्फेटामिन जस्तो देखिने पदार्थ), गाँजा, म्याजिक मसरुम, एलएसडी (लाइसर्जिक एसिड डाइथाइलामाइड) कागज र तरल फेला परेको प्रहरीले जनाएको छ ।
‘यो अति नै उच्च तहको लागु औषध हो । अरुबेला पनि यो तहको लागु औषध खासै फेला पर्दैन,’ उनले भने, ‘लागु औषधको स्वरुप पनि कुनै झोलामा त कुनै ठोस स्वरुपमा तयार पारिएको थियो ।’ प्रहरीले पक्राउ परेका युवायुवतीबाट लागु औषध बाहेक नगद र मोवाइलन समेत बरामद गरेको छ । पक्राउ परेको मध्ये चारजनालाई भने अभद्र मुद्धा चलाईने उनले जानकारी दिए ।
एसपी कार्कीका अनुसार पक्राउ परेका मध्ये भारतीय नागरिक ३१ वर्षीया श्रृष्टी चन्द र ३५ वर्षीय अनुभव शर्मालाई लागु औषधको मुद्धा चलाउने तयारी प्रहरीको छ । यस्तै पोखरा–६ का २७ वर्षीय विशाल परियार, पोखरा–५ प्रस्याङका २५ वर्षीय आशिष दर्जी, पोखरा–६ का ३२ वर्षीय बमेन्द्र पुन, दाङका २९ वर्षीय सौरभ महरा, काठमाडौंका २१ वर्षीय निकुञ्ज कार्की, ३१ वर्षीय सक्षम कोइराला, ३१ वर्षीय रोशन अधिकारी, २८ वर्षीय विवेक परियार र २६ वर्षीय सौरभ भनिने लोकबहादुर घर्तीमगरमाथि पनि मुद्धा चलाउने उनले बताए । ब्राजिलका नागरिक ४८ वर्षीय चाल्र्स गुवाइवामाथि पनि मुद्धा चलाउने प्रहरीको तयारी छ ।
‘भर्खरका युवायुवती देखि पाको उमेरका पनि छन । लागु औषधको खुलमखुला बिक्री र सेवन गरेर युवायुवती रमाएका थिए,’ उनले भने,‘यो गतिविधि गर्न पइदैन ।’ प्रहरीका अनुसार लगातार तीनदिनसम्म चलाउने तयारीका साथ पार्टी आयोजना गरिएको थियो । नेपालमा ट्रान्स पार्टीलाई अवैध मानिन्छ । यसअघि पोखराको एक पाँचतारे होटलमा यस्तै ट्रान्सपार्टी आयोजना गरिएको थियो ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
पोखराको सेती जंगलमा ट्रान्सपार्टी,झुम्दै गरेका युवायुवतीहरु प्रहरीको फन्दामा
Previous Articleहवाइ इन्धनमा भारी वृद्धि, पेट्रोल र डिजेलमा यथावत
