काठमाडौं, १७ चैत । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको भन्दै निगमले आन्तरिक र बाह्य दुवैतर्फको हवाई इन्धनको मूल्य ह्वात्तै बढाएको हो ।
यद्यपि, सर्वसाधारण उपभोक्तालाई राहत दिन भन्दै पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्यासको साबिकको खुद्रा मूल्य भने यथावत राखिएको छ ।
निगम सञ्चालक समितिको बैठकले चैत १८ गते बिहान ००:०१ बजेदेखि लागू हुने गरी आन्तरिकतर्फको हवाई इन्धनको मूल्य लिटरमै १२४ रुपैयाँले बढाएको छ । यसअघि प्रतिलिटर १२७ रुपैयाँ रहेको आन्तरिक हवाई इन्धनको मूल्य अब एकैपटक २५१ रुपैयाँ पुगेको छ । त्यसैगरी, अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि हवाई इन्धनको मूल्य प्रतिकिलो लिटर ८१९ अमेरिकी डलरले वृद्धि गरी १७८५ डलर पुर्याइएको छ । यसअघि यो ९६६ डलर थियो । पोखरा र भैरहवाको हकमा भने ‘ब्रेक इभन प्वाइन्ट’ (नाफा घाटा नहुने बिन्दु) मा रहेर क्रमशः १७३२ र १७१६ डलर कायम गरिएको निगमले जनाएको छ ।
मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निरन्तर बढिरहेकाले बाध्य भएर मूल्य समायोजन गर्नुपरेको निगमको भनाइ छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट अप्रिल १ मा प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ४१.६० रुपैयाँ, डिजेलमा ९४.९३ रुपैयाँ, हवाई इन्धनमा १२३.८ रुपैयाँ र ग्यासमा प्रतिसिलिन्डर १९०.३६ रुपैयाँले वृद्धि भएर आएको छ ।
यसअघि मूल्य समायोजन हुन नसक्दा निगमलाई मार्च १६ देखि ३१ सम्मको १५ दिनमै ५ अर्ब घाटा भइसकेको छ ।
उपभोक्ताको हितलाई मध्यनजर गर्दै र निगमसँग रहेको मूल्य स्थिरिकरण कोषको समेत उपयोग गर्ने गरी पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य हाललाई नबढाइएको निगमले स्पष्ट पारेको छ । यद्यपि, नयाँ खरिद मूल्यअनुसार निगमलाई प्रतिलिटर पेट्रोलमा ४७.१२ रुपैयाँ, डिजेलमा १३३.४५ रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर ४१६.३७ रुपैयाँ घाटा रहेको छ ।
पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दा पाक्षिक रूपमा निगमलाई १३ अर्ब २१ करोड रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ ।
घाटा चुलिँदै जाँदा आईओसीलाई तोकिएको समयमै भुक्तानी दिन नसक्ने अवस्था सिर्जना भई इन्धन आपूर्ति व्यवस्थामै प्रभाव पर्न सक्ने जोखिम बढेको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको यस आकस्मिक र विषम परिस्थितिलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययीता अपनाउन निगमले सम्पूर्ण उपभोक्तालाई अपिल समेत गरेको छ ।

