काठमाडौं, १९ चैत । नेकपा एमालेका युवा नेताहरुले पुस्तान्तरण र रुपान्तरणसहितको नारा लिएर साझा मञ्च बनाएका छन् । पार्टी कार्यालयका धर्ना बसिरहेका युवा नेताहरुले यस्तो मञ्च बनाएका हुन् । उनीहरुले सिर्जनात्मक र दबाबमूलक कार्यक्रमहरू गर्ने, लेखरचना र भिडियो सामग्री मार्फत दवाव सिर्जना गर्ने तथा जिल्ला एवं प्रदेश पार्टी कार्यालयहरूमा शान्तिपूर्ण प्रदर्शन र ज्ञापनपत्र बुझाउने जस्ता विभन्न दबाबमूलक कार्यक्रम गर्ने भएका छन् ।
आदरणीय कमरेडहरू,
सर्वप्रथम, पार्टी पुनर्जागरणको यस अभियानमा विभिन्न माध्यमबाट सहभागी हुनुभएका र शुभेक्षा प्रकट गर्नुभएका सम्पूर्ण कमरेडहरूमा हामी हार्दिक धन्यवाद एवं अभिवादन व्यक्त गर्न चाहन्छौं। आज नेपालको वामपन्थी आन्दोलन इतिहासकै चुनौतीपूर्ण र संकटपूर्ण मोडमा उभिएको छ। यस्तो संवेदनशील परिस्थितिमा हाम्रो गौरवशाली पार्टी नेकपा (एमाले) झन् बढी संयमित, व्यवस्थित र प्रगतिशील बन्नुपर्ने आवश्यकता थियो। तर, वर्तमान नेतृत्वको कार्यशैली जनमुखी र कार्यकर्तामुखी हुनुको साटो आत्मकेन्द्रित र व्यक्तिवादी बन्दै गइरहेको आभास भइरहेको छ। यसले पार्टीलाई क्षति पुर्याउने र वैचारिक रूपमा कमजोर बनाउने जोखिम देखिएको छ।
तसर्थ, नेकपा (एमाले) लाई सही वैचारिक बाटोमा हिँडाउन, नेतृत्वको कार्यशैलीमा सुधार ल्याउन र पार्टीभित्र नयाँ ऊर्जा भर्न हामीले ‘नेकपा (एमाले) का युवा : नामक एउटा साझा मञ्च (Loose Forum) निर्माण गरेका छौं। पार्टीलाई सही दिशा दिन र विचार एवं पद्धतिमा सुधार ल्याउन यो हाम्रो दृढ संकल्प र एउटा पवित्र पहलकदमी हो। हाम्रो यस प्रयासलाई सम्पूर्ण पार्टी पंक्ति र आम नेपाली जनताले उत्साहका साथ साथ दिनुहुनेछ भन्ने हामीले पूर्ण विश्वास र अपेक्षा राखेका छौं। नेपाली जनताको भरोसाको केन्द्र र वामपन्थी आन्दोलनको मूल प्रवाहका रूपमा नेकपा (एमाले) लाई पुनःस्थापित गर्न हामी युवाहरू जुनसुकै त्याग गर्न तयार छौं।
देशैभरि पार्टी रूपान्तरणको पक्षमा सिर्जनात्मक र दबाबमूलक कार्यक्रमहरू गर्ने, लेख-रचना र भिडियो सामग्री मार्फत दवाव सिर्जना गर्ने तथा जिल्ला एवं प्रदेश पार्टी कार्यालयहरूमा शान्तिपूर्ण प्रदर्शन र ज्ञापनपत्र बुझाउने जस्ता विभन्न दबाबमूलक कार्यक्रम गर्न हामी आवाहन गर्दछौ। हामी सम्पूर्ण न्यायप्रेमी र परिवर्तनकारी कमरेडहरूलाई यस महान अभियानमा सरिक भई आफ्नो अमूल्य समर्थन र ऐक्यबद्धता जनाउन विनम्र अनुरोध गर्दछौं।
– नेकपा (एमाले) युवा
