काठमाडौं, १९ चैत ।
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई महासचिव शंकर पोखरेलले पहिलो पटक नेतृत्व छाड्न आग्रह गरेका छन् । जेनजी आन्दोलनपछि बनेको गौरी बहादुर कार्की आयोगको प्रतिवेदनको सिफारिसमा पक्राउ परेपछि महासचिव पोखरेलले अस्पतालमा पुगेर नेता कार्यकर्ताहरुको भावना बमोजिम नेतृत्व हस्तान्तरण गर्दा उपयुक्त हुने बताएका थिए । तर महासचिव पोखरेलले त्यसोभन्दा ओलीले सातो खाएका थिए । नेतृत्वलाई अप्ठेरोमा पार्नेले थप गर्न सक्दैन भन्दै झपारेका थिए । ‘यसपटक अलि अप्ठेरो होला जस्तो छ, साथीहरुले नेतृत्व हस्तान्तरण गर्दा उपयुक्त हुने राय दिन थाल्नु भएको छ, अध्यक्ष कमरेडले रिथिङ्क गर्ने बेला भयो भन्ने आवाज तलबाटै आयो’, शंकर पोखरेलले अस्पतालको बेडका पुगेर भनेका थिए । तर ओलीले यो विषय सुन्न पनि नचाहेको स्रोतको दावी छ ।
ओली पक्राउ परेपछि शिक्षण अस्पतालमा महासचिव पोखरेल भेट्न पुगेका थिए । त्यही बेला यो विषय उठाएका थिए । शंकर पोखरेल नै नेतृत्व छाड्नु पर्यो भनेपछि ओली अहिले तनावमा रहेका छन् । ‘ओलीकै विश्वासपात्र शंकरले पहिलो पटक यस्तो भन्ने दुस्साहस गरे’, एक नेताले भने‘ शंकरको यो भनाई ओलीले सुन्न पनि चाहेनन ।’ ओली र शंकरबीत अस्पतालमा झण्डै पार्टीको विषयमा एक घण्टा कुराकानी भएको थियो । शंकर पोखरेलले बाहिरको परिस्थिति र आन्दोलन तथा अदालतमा भैरहेको विषयहरुबारे पनि जानकारी गराएका थिए । यद्यपि ओलीले नेतृत्वको छाड्न दिएको सुझावमा केन्द्रीत भएर शंकरलाई बढी हप्काएका थिए ।
शंकर पोखरेलले ओलीलाई नेतृत्व छाड्न आग्रह गरेको चाल पाएका विष्णु पौडेलले आज अर्का उपाध्यक्ष रामबहादुर थापा बादलको अभिव्यक्तिका आपत्ति जनाएका छन् । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले आज संसदको बैठकमा दिएको अभिव्यक्तिप्रति उपाध्यक्ष पौडेलले असन्तुष्टि जनाएका हुन् । पौडेलले बादलको अभिव्यक्तिप्रति पार्टीको स्थापित नीति र मान्यता विपरित भएको टिप्पणी गरेर ओलीलाई चुनौति दिएका छन् ।
बादलको अभिव्यक्तिपछि समाजिक सञ्जालमा आफ्नो धारणा व्यक्त गर्दै पौडेलले भनेका छन‘प्रतिनिधि सभाको आजको बैठकमा नेकपा (एमाले) को दल नेताको हैसियतले मा.रामबहादुर थापाले ब्यक्त गर्नुभएको विचार पार्टीका स्थापित नीति र मान्यता विपरीत छन्।’
उनले बादलको अभिव्यक्तिबारे शुक्रबार हुने सचिवालयको बैठकमा छलफल हुने पनि उल्लेख गरेका छन्। उनले भनेका छन्–‘यस सम्बन्धमा भोली आयोजना गरिएको नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय हुने अपेक्षा गरेको छु।’
