काठमाडौं,२१ चैत । बालेन्द्र साह (बालेन)ले सरकार सम्हालेको तेस्रो दिन पक्राउ परेकी एमाले सांसद हिरासत मुक्त भएकी छिन् । नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई हिरासतमुक्त गर्न अदालतले आदेश दिएपछि आइतबार छुटेकी हुन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलले मिसिलमा संलग्न कागजात हेर्दा, पीडितको पढाइमा निरन्तरता रहेको र प्रतिवादीले संरक्षकको भूमिका पूरा गर्दै आएको देखिएको बताएका छन् । आइतबार वरिष्ठ अधिवक्ता श्रीकान्त बराल,अधिवक्ता राधिका खतिवडा र मञ्जु ज्ञावालीसहितका कानुनविदहरुले शर्मालाई हिरासत राख्नुपर्ने कुनै पनि कारण नभएको र कानुनपनि आकर्षित नभएको भन्दै बहस गरेका थिए ।
शर्माले पीडितलाई यातना दिई दास बनाइ राखेका हुन भन्ने आरोप पुष्टि गर्ने वस्तुनिष्ठ आधार नदेखिएकोले सरकारी वकिल कार्यालय काठमाडौं र पाटन उच्च अदालतबाट मुद्दा नचलाउने निर्णय कानूनसम्मत रहेको आदेशमा उल्लेख छ । गत जेठ १६ गते महान्यायाधिवक्ताको कार्यालयबाट प्रतिवादीलाई थुनामै राखी मुद्दा पुर्पक्ष गर्नुपर्ने अवस्था नदेखिएको भन्दै हिरासतबाट मुक्त गरी अनुसन्धान गर्न भनिएको थियो ।

