भारत र पाकिस्तानः कसको शक्ति कति ?

भारत र पाकिस्तानः कसको शक्ति कति ?

विमानस्थलहरुमा युद्धक विमानहरु तैनाथ


भारत र पाकिस्तानः कसको शक्ति कति ?


काठमाडौं । भारत–पाकिस्तानले औपचारिक सूचना जारी गरेर युद्ध रोकिएको जानकारी दिएका छैनन । सोमबार मात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूहरूको आक्रमणमा १०० जनाभन्दा बढी खतरनाक आतंककारीहरू मारिएका दावी गर्दै भारतले पाकिस्तानविरुद्धको सैन्य कारबाही मात्र स्थगित गरेको र पाकिस्तानको मनोवृत्ति हेरेर फेरि थप कारबाहीको निर्णयमा पुग्न सक्ने उनले चेतावनी पनि दिएका थिए । जसले गर्दा अझै पनि त्रास बाँकी नै रहेको छ । भारतले रोकिएका विमानस्थलहरु पनि खुला गरेको छ । सबै विमानस्थलहरुमा युद्धक विमानहरु तैनाथ गरेर राखेको छ । नेपाल भारतका सीमा नजिकका सबै विमानस्थलहरुमा भारतीय सेनाले विमानहरु तैनाथ गरेर राखेका छन् । लखनउ, गोवा, पट्ना, दरभंगा जस्ता नेपाल र भारतमा सीमा क्षेत्रमा विमानस्थलहरुमा यात्रुहरुलाई तस्वीर खिच्न प्रतिबन्ध लगाइएको छ ।
सोमबार राति राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानको अनुरोधमा भारत युद्ध रोक्न सहमत भएको पनि दाबी गरेपनि भारत अझै युद्धकै मनस्थितिमा रहेको संकेत गरेका थिए । भारतले पाकिस्तानविरुद्धको सैन्य कारबाही मात्र स्थगित गरेको र पाकिस्तानको मनोवृत्ति हेरेर फेरि थप कारबाहीको निर्णयमा पुग्न सक्ने उनले चेतावनी पनि दिएका । 
‘हाम्रो एकता हाम्रो सबैभन्दा ठूलो शक्ति हो,’ मोदीले भने, ‘हामी सबै सबै प्रकारका आतंकवादविरुद्ध एकजुट छौं । पक्कै पनि यो युद्धको युग होइन, तर यो आतंकवादको युग पनि होइन। आतंकवादविरुद्ध शून्य सहनशीलता नै राम्रो ग्यारेन्टी हो ।’ पाकिस्तानी सेना र सरकारले जसरी आतंकवादलाई प्रोत्साहन गरिरहेको छ, त्यसले एक दिन पाकिस्तानलाई नै ध्वस्त पार्ने उनको भनाइ थियो । ‘यदि पाकिस्तान बाँच्न चाहन्छ भने, उसले आफ्नो आतंकवादी पूर्वाधार नष्ट गर्नुपर्नेछ, यसबाहेक शान्तिको अर्को कुनै उपाय छैन,’ मोदीले भने । भारतको दृष्टिकोण एकदमै स्पष्ट भएको र आतंक र वार्ता सँगै चल्न नसक्ने उनले बताए । ‘पानी र रगत पनि सँगै बग्न सक्दैनन् । म विश्व समुदायलाई यो पनि भन्न चाहन्छु, हाम्रो घोषित नीति पाकिस्तानसँग कुनै वार्ता हुन्छ भने त्यो आतंकवादबारे मात्र हुनेछ,’ उनले भने, ‘यदि कुनै कुराकानी हुन्छ भने, त्यो केवल पाकिस्तानमा हुनेछ ।’
यता नेपालले आतंकवाद विरुद्धको लडाइमा भारतलाई साथ दिएको छ । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपालको समर्थन जुटाउन काठमाडौ आएको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आतंकवाद विरुद्धको लडाईमा साथ रहने बताएका थिए । सोमबार मात्रै बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री ओलीले  भारत–पाकिस्तान दुवैले संयम अपनाएको बताएका थिए । ‘हाम्रै छिमेकमा झन्डैझन्डै भारत र पाकिस्तानको अलिकति हात हालहाल त भएको थियो तर, हात हालाहाल बढ्न पाएन। संयमका लागि उहाँहरूलाई धन्यवाद छ। हामीले सुरुदेखि भन्यौँ– विस्तार हुन नपाओस् है यो। यो हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भनेर भन्ने कामना ग¥यौँ, उहाँहरूसँग नि कुरा ग¥यौँ । नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो,’ उनले भने । अहिले दुवै देशको सीमा क्षेत्रमा युद्धक विमानहरु तैनाथ नै रहेका छन् । भारतले यता छिमेकी मुलुकहरुको सीमा क्षेत्रमा पनि आफ्ना सैन्य क्याम्पहरु खडा गरेको छ । भारत युद्धकै मनस्थितिमा रहेको छ । 

कसको कति शक्ति 
ग्लोबल फायर पावरले सार्वजनिक गरेको एक रिपोर्ट अनुसार सैन्य शक्तिमा भारत चौथो स्थानमा रहेको छ भने पाकिस्तान १२ औ स्थानमा रहेको छ ।  सन् २०२५ मा विश्वव्यापी सैन्य शक्तिको हिसाबले भारत १४५ देशहरूमध्ये चौथो स्थानमा छ भने पाकिस्तान १२ औं स्थानमा छ ।
भारतीय सेनामा लगभग २२ लाख सेनाका कर्मचारी, ४,२०१ ट्याङ्क, लगभग १.५ लाख बख्तरबन्द सवारी साधन, १०० स्वचालित तोपखाना र ३,९७५ टोइड तोपखाना छन् । यसबाहेक, बहु ब्यारेल रकेट आर्टिलरीहरूको संख्या २६४ छ। भारतीय वायुसेनामा ३ लाख १० हजार वायुसेना र ५१३ लडाकु विमान र २७० परिवहन विमानसहित कुल २,२२९ विमान छन्। कुल विमानहरूमा १३० युद्धक, ३५१ प्रशिक्षण विमान र छ वटा ट्याङ्कर फ्लीट विमानहरू समावेश रहेको सो रिपोर्टमा उल्लेख छ । 
भारतीय सेनाका तीनवटै शाखासँग कुल ८९९ हेलिकप्टर छन्, जसमध्ये ८० वटा युद्धक हेलिकप्टर छन् । भारतीय नौसेनामा १.४२ लाख नाविक र दुई विमान वाहक, १३ विनाशक, १४ फ्रिगेट, १८ पनडुब्बी र १८ कार्भेट सहित कुल २९३ पानीजहाजहरू छन्। भारतीय सेनासँग ३११ विमानस्थल, ५६ बन्दरगाह र ६३ लाख किलोमिटर सडक र ६५ हजार किलोमिटर रेलवे कभरेज छ ।
ग्लोबल फायर पावरका अनुसार पाकिस्तानी सेनामा लगभग १३.११ लाख सैन्य कर्मचारी, १.२४ लाख नौसेना कर्मचारी र ७८ हजार वायुसेना कर्मचारी छन् । पाकिस्तानसँग ३२८ लडाकु विमान, ९० आक्रमण प्रकार, ६४ यातायात विमान, ५६५ प्रशिक्षक, ४ ट्याङ्कर फ्लीट र ५७ आक्रमण हेलिकप्टर सहित ३७३ हेलिकप्टरसहित कुल १,३९९ विमानहरू छन्। यसमा २,६२७ ट्याङ्क, १७.५ सवारी साधन, ६६२ स्वचालित तोपखाना, २६२९ टोइड तोपखाना र ६०० बहु–ब्यारेल रकेट तोपखाना छन् । पाकिस्तानी नौसेनासँग ९ फ्रिगेट, ९ कर्भेट, आठ पनडुब्बी र ६९ गस्ती जहाजहरूसहित जम्मा १२१ युद्धपोतहरू छन्। पाकिस्तानसँग केवल तीन बन्दरगाह, ११६ विमानस्थल र ६० व्यापारिक समुद्री जहाजहरू छन् । यसबाहेक २.६४ किलोमिटर सडक र ११.९ किलोमिटर रेलवे कभरेज छ । स्विडेनी थिंक ट्याङ्क स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटको २०२४ को रिपोर्ट अनुसार भारतसँग १७२ आणविक हतियार छन् भने पाकिस्तानसँग १७० आणविक हतियार छन् । हतियारमा भने दुवै देश आमुन्ने सामुन्ने रहेका छन् । 


प्रकाशित मिति: मंगलबार, ३० बैशाख, २०८२, १०:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९