सामाजिक सञ्जालमा महिलामाथि भैरहेका अपमानजनक टिप्पणीको विषयलाई लिएर सचेत महिला तथा युवाहरुले सार्वजनिक रुपमा राष्ट्रिय स्वतन्त्र पाटीका सभापति रवि लामिछानेको ध्यानाकर्षण गराएका छन् । फागुन २१ को निर्वाचनपश्चात् स्थापित राजनीतिक दलहरू नेकपा एमाले र नेपाली कांग्रेसले भोगेको चरम पराजय, नयाँ दलको रूपमा उदय भएको राष्ट्रिय स्वतन्त्र पार्टीको झण्डै दुईतिहाइ बहुमतसँगै नेपाली राजनीतिमा सुरु भएको घृणा, प्रतिशोध र दबंग शैलीको सिकार अधिकांश महिला अभियन्ता तथा राजनीतिक नेता कार्यकर्ताहरू भइरहेको बेला झापाकी मुना तिवारीले लामिछानेलाई सार्वजनिक रुपमा पत्रचार गरेकी हुन् ।
पछिल्लो समय अमिशा पराजुलीमाथि भएको अनलाइन दुव्र्यवहार, रेणुका बरालप्रति गरिएको अनलाइन हिंसा यसका तत्कालीन चर्चामा आएका उदाहरण हुन् । निर्वाचनको सम्मुखमा नै रास्वपा नेतृ रञ्जु दर्शनाको विषयमा उनलाई प्रत्यक्ष निर्वाचन लड्न हतोत्साहित हुने गरी उनको गर्भावस्थाप्रति लक्षित दुव्र्यवहारपूर्ण अनलाइन अभिव्यक्तिहरू देखिए । विगतमा पूर्वप्रधानमन्त्री सुशीला कार्की, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वमन्त्री रामुकमारी झाँकी पनि अनलाइन हिंसाका निरन्तर सिकार बनेका घटनाहरू छन् । अहिले पनि यो चलिरहेका कारण तिवारीले सार्वजनिक रुपमा पत्रचार गरेकी छिन् ।
हेरौ उनको पत्र जस्ताको तस्तैः
आदरणीय सभापति ज्यू,
रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी,
विषयः महिला माथि हुने विभेदजन्य अभिव्यक्ति नियन्त्रणका लागि अनुरोध ।
सभापति ज्यू,
म मुना तिवारी, झापाबाट हाल काठमाडौंमा बसोबास गर्दै आएकी एक सचेत नागरिक हुँ। राष्ट्रिय राजनीतिप्रति गहिरो चासो राख्दै, नेपाली जनताको आवाजलाई जिम्मेवार र मर्यादित ढंगले उठाउनु प्रत्येक नागरिकको कर्तव्य ठान्दै यो निवेदन प्रस्तुत गरेकी छु।
हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमार्फत जनताको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकार सञ्चालन गर्ने महत्वपूर्ण जनादेश प्रदान गरेको छ। यस जनादेशभित्र विभिन्न राजनीतिक विचारधारा राख्ने नागरिकहरूको समेत समर्थन समेटिएको यथार्थ हामी सबैलाई ज्ञात नै छ। लोकतन्त्रमा नजताले आफ्नो विचार धारणा र मत आफ्नो इच्छा ले जाहेर गर्न पाउँछन् भन्ने आधार हो। हिजो आज आफ्नो विचार राख्ने र आफुलाई अन्याय भयो भनेर आवाज र विचार राख्न नपाईने हो ?
निर्वाचनका क्रममा विभिन्न दलहरूबीच आरोप–प्रत्यारोप, गाली–गलौज तथा अनावश्यक विवाद देखिनु दुःखद भए पनि, निर्वाचनपछिको दिनमा तपाईंको संयमित हुने अभिव्यक्तिले केही हदसम्म सकारात्मक सन्देश प्रवाह गरेको अनुभव गरिएको छ। तथापि फेसबुक, टिकटक लगायत सामाजिक सञ्जाल मार्फत अझै पनि केही व्यक्तिहरूले अन्य राजनीतिक दलप्रति आस्था राख्ने नागरिकहरू, विशेषगरी महिलामाथि, अपमानजनक, आपत्तिजनक, विभेदपूर्ण तथा असहिष्णु अभिव्यक्तिहरू दिइरहेको अवस्था देखिन्छ। गालि बैजति बन्द गराउन र सामाजिक सञ्चाल नियमन गर्न रास्वपा सरकारले सक्दैन भने देशमा सुशासनको प्रत्याभूत नागरिकले कहिलेर कसरी महसुस गर्ने ?
यस्ता गतिविधिहरूले केवल राजनीतिक वातावरणलाई मात्र प्रदूषित गर्दैनन् यसले महिलाको आत्मसम्मान, गरिमा र अधिकारमाथि समेत गम्भीर प्रश्न सृजना गरेको छ। सभ्य, समावेशी र सम्मानजनक समाज निर्माण गर्ने हाम्रो साझा लक्ष्यविपरीत यस्ता प्रवृत्तिहरू निश्चय नै हानिकारक छन्।
अतः तपाईं मार्फत महिलामाथि यस्ता आपत्तिजनक र अपमानजनक अभिव्यक्तिहरू त्याग्न स्पष्ट निर्देशन दिनुहुनेछ भन्ने अपेक्षा व्यक्त गर्दछु। तपाईं सञ्चारकर्मी र गृहमन्त्री हुदा चर्को आवाज उठाउनु भएको निर्मम अपराधिको सिकार बनेर ज्यान गुमाउनु भएको निर्मला पन्त घटना पुन नदोहो¥याउने गरिको नीति कानुन निर्माणमा पनि तपाईं र तपाईले नेतृत्व गरेको पार्टीले कठोर कानुन छिटो भन्दा छिटो निर्माण गर्नु हुनेछ भन्ने अपेक्षा राखेको छु। गालि बैजतिमा परेका हामी महिलालाई जिउदै मरे तुल्य (जिउदो लास) भएर बाच्नु अत्यन्त दुःखद र गम्भीर विषय हो ।
सबैको सम्मानमा आधारित, सहिष्णु र जिम्मेवार राजनीतिक संस्कार विकास गर्न तपाईंको नेतृत्व महत्वपूर्ण रहने विश्वास लिएकी छु। हामी सबैको साझा उद्देश्य—सुखी, समृद्ध, समावेशी र सम्मानजनक समाज निर्माण—तर्फ अघि बढ्न तपाईंको सकारात्मक पहलको हार्दिक अपेक्षा गर्दछु।
विनम्र,
मुना तिवारी
