काठमाडौं, २ वैशाख । सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकी शेर्पाले लोबुचे हिमालको सफल आरोहण गरेकी छिन्। २०८३ वैशाख १ गते मंगलबार बिहान ८:५७ बजे उनले ६ हजार १ सय १९ मिटर अग्लो सो हिमालको चुचुरोमा पाइला टेकेकी हुन्।
सशस्त्र प्रहरीका प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णु प्रसाद भट्टका अनुसार यो आरोहणसँगै शेर्पा हिमाल चढ्ने सशस्त्र प्रहरी बल नेपालको पहिलो महिला कर्मचारी बनेकी छिन्।
विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने अभियानमा रहेकी उनले यसै सिजनमा सगरमाथा र ल्होत्से हिमाल पनि चढ्ने तयारी गरेकी छिन्। उनलाई यसअघि सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा संगठनको झण्डा प्रदान गरी बिदाइ गरिएको थियो।
यसअघि सशस्त्र प्रहरी बलबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज पौडेल र सशस्त्र प्रहरी नायब निरीक्षक दन्त बहादुर छन्त्यालले सगरमाथाको सफल आरोहण गरिसकेका छन्।
