काठमाडौं २ वैशाख ।
परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सरकारले तयार पारेको ‘राष्ट्रिय प्रतिबद्धता’ दस्ताबेजमा प्रयोग भएका कूटनीतिक शब्दावलीप्रति गम्भीर आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले बुँदा नं १४ अन्तर्गत ‘अन्तर्राष्ट्रिय कूटनीति र परराष्ट्र सम्बन्ध’ शीर्षकमा उल्लेख गरिएको ‘नेपाललाई बफर स्टेटबाट भाइब्रेन्ट ब्रिजमा रूपान्तरण गर्ने’ तथा ‘सबैसँग सम दूरी र समनिकटताको नीति अवलम्बन गर्ने’ भन्ने वाक्यांशप्रति प्रश्न उठाएका हुन्।
ज्ञवालीले अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा प्रयोग हुने प्रत्येक शब्दको विशिष्ट अर्थ हुने भएकाले यस्ता शब्द चयनमा उच्च सतर्कता आवश्यक हुने बताएका छन्। नेपालले आफ्नो भूराजनीतिक अवस्थालाई अहिलेसम्म ‘बफर स्टेट’ का रूपमा परिभाषित नगरेको उल्लेख गर्दै उनले छिमेकी राष्ट्रहरूले पनि यस्तो शब्द प्रयोग नगरेको स्मरण गराएका छन्।
उनका अनुसार छिमेकी देशहरूबीच निरन्तर द्वन्द्व वा शत्रुता नभएको अवस्थामा ‘बफर स्टेट’ जस्तो शब्द प्रयोग गर्नु सान्दर्भिक नदेखिने तर्क छ। त्यसैगरी ‘समदूरी’ र ‘समनिकटता’ जस्ता अवधारणाहरू पनि व्यवहारिक रूपमा स्थिर मापनमा लागू नहुने उनले बताएका छन्।
“राष्ट्रिय हितको रक्षा, स्वतन्त्र परराष्ट्र नीति र बाह्य सम्बन्धमा सन्तुलन कायम गर्नु नै मुख्य कुरा हो,” उनले लेखेका छन्, “मुद्दा, साझेदारी र सन्दर्भअनुसार सम्बन्धका आयाम फरक हुन सक्छन्, त्यसैले सधैं एउटै मापनमा सम्बन्ध राख्न सम्भव हुँदैन।”
ज्ञवालीले सरकारी दस्ताबेजहरूमा प्रयोग हुने भाषाप्रति विशेष सावधानी अपनाउनुपर्नेमा जोड दिएका छन्।
