काठमाडौं, १२ वैशाख । कांग्रेसले सर्बसम्मत संसदीय दलको नेता चयन गर्ने निर्णयसहित गृहकार्य अगाडि बढाएको छ । इतर पक्षका शीर्ष नेताहरुसँगसमेत आवश्यक परामर्श गरेर दलको नेता सर्बसम्मत चयन गर्नेगरी कांग्रेसले शुक्रवार संसदीय दलको नेता चयन गर्ने निर्वाचन प्रक्रिया नै स्थगन गरेको छ ।
सर्बसम्मत दलको नेता चयनका लागि सभापति गगन थापाले नै इतर पक्षका नेताहरु पूर्णबहादुर खड्का, शेखर कोइरालालगायतसँग आवश्यक समन्वय र परामर्श गरेर सहमति जुटाउने कोशिस गर्नेछन् । सहमहामन्त्री प्रकाश रसाईंलीले सर्बसम्मत चयन गर्ने प्रयासस्वरुप केन्द्रीय कार्यसम्पादन समितिले उपसभापति विश्वप्रकाश शर्मा संयोजक रहेको अलग्गै संयोजन समिति बनाएको तथा सभापति गगन थापाले अन्य शीर्ष नेताहरुसँग समन्वय र सम्बाद गर्ने बताए । त्यस संयोजन समितिमा निर्वाचन समितिका सदस्यहरु संयोजक प्रकाश रसाइली ‘स्नेही’, मुना भुसाल र राजु कटुवाल पनि सदस्य रहेका छन् ।
‘पार्टीको वृहत्तर हितका निम्ति, लोकतन्त्र, संविधान र पार्टीमाथि आएको चुनौति सामना गर्न दलको नेता सर्बसम्मत चुन्नका निम्ति कार्यसम्पादन समितिको बैठकको निर्णयअनुसारसंयोजन समितिले शनिवार साँझभित्र सर्बसम्मत उम्मेद्वार चयन गर्ने निर्णय र निर्देशन भएबमोजिम संसदीय दलको नेता चयन गर्ने प्रक्रिया स्थगन गरिएको हो’ रसाईंलीले भने,‘सर्बसम्मत चयनका लागि सभापतिले पनि शीर्ष नेताहरुसँग सम्बाद र परामर्श गरेर आवश्यक गृहकार्य गर्नुहुनेछ ।’ शर्मा नेतृत्वको समितिमा उपसभापति पुष्पा भुषाल र महामन्त्रीद्वय गुरुराज घिमिरे र प्रदिप पौडेल सदस्य छन् ।
दलको नेताका लागि नेताहरु अर्जुनरसिंह केसी, भीष्मराज आङदेम्बे र मोहन आचार्य आकांक्षी छन् । केसी र आङदेम्बे समानुपाति र आचार्य प्रत्यक्ष निर्वाचित सांसद हुन् । केसी सबैको सर्बसम्मतीमा मात्र दलको नेता बन्ने मुडमा छन् । आङदेम्बेलाई उपसभापति शर्माको समर्थन छ । निर्वतमान सभापति देउवा पक्षको पनि साथ रहेको र शर्माले पनि समर्थन गरेकाले आङदेम्बेको वलियो दाबेदारी छ । प्रत्यक्षबाट छान्ने निर्णय हुँदा भने रसुवाबाट चुनाव जितेका आचार्यको सम्भावना छ । उनलाई सभापति थापाको समर्थन छ । तर सर्बोच्च अदालतको पार्टीको आधिकारिकतासम्बन्धि फैसलापछि पार्टी एकता जोगाउनुपर्ने दबाबमा रहेका सभापति थापा इतर पक्षलाई बाईपास गरेर नजाने मुडमा रहेको उनी निकट स्रोतले जनाएको छ ।
संसदीय दलको बैठकअघि पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले संसदीय दलको विधानलाई पूर्णता दिएको थियो । शुक्रवार दिउँसो ३ बजे दरखास्त दिने, दिउँसो ३ः१० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गर्ने, ३ः२० बजे दाबी विरोध दिन सकिने, ३ः२५ बजे दाबी विरोध उपर जाँचबुझ गर्ने, ३ः३० बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गर्ने, ४ः३० बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिने, ४ः४० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन, मतदान साँझ ५ बजेका लागि तय गरिएको थियो । तर, केन्द्रीय कार्यसम्पादन समितिले सहमतिका लागि प्रयास गर्ने निर्णय गरेपछि सबै प्रक्रिया स्थगित गरिएको छ ।
