नेपाल अति कम विकसित मुलुकबाट २०८३ मंसिर ८ गते ‘विकासोन्मुख देश’मा उक्लिने प्रक्रियामा छ ।
तर नेपाल सरकारले तीन वर्ष अर्थात् सन् २०२९ सम्मको लागि यो प्रक्रियालाई सार्नको लागि संयुक्त राष्ट्रसंघलाई पत्र लेखेको छ । नेपालले यो प्रक्रिया सार्नको लागि पत्र लेखेको यो समेत गरि तेस्रो पटक हो ।
तर, नेपाल सरकारको यो कार्य अपारदर्शी, अदूरदर्शी र गलत कदम हो ।
नेपालले अति कम विकसित राष्ट्रको रुपमा रहिरहंदा हुने सकारात्मक र नकारात्मक पक्षहरु जति धेरै छन्, विकासशील देशको रुपमा खुडकिलो उक्लिदा पनि हुने सकारात्मक र नकारात्मक परिणामहरु त्यति नै धेरै हुन्छन् । यसैले नेपालले कुनै भय वा संकोच नमानिकन विकासशील राष्ट्रमा उक्लिने आंट गर्नै पर्छ ।
तर, व्युरोक्रेसीका केही सीमित मानिसहरु र थोरै व्यापारीहरुले सदैव नेपाललाई अति कम विकसित राष्ट्रमा नै राखिरहन चाहन्छन् ।
अति कम विकसित देशले पाउने सुविधाहरु जस्तै – वैदेशिक अनुदान पाईने, वैदेशिक ऋण अत्यन्त सस्तो व्याज दरमा पाईने, नेपालबाट निर्यात हुने बस्तुहरुमा भन्सार शुल्कमा छुट पाईने वा अत्यन्त कम भन्सार शुल्कको सुविधा पाईने ईत्यादि कारणहरु देखाएर उनीहरु नेपाललाई कम्फर्ट जोनमा राखिराख्न चाहन्छन् ।
यो मानसिकता नेपालको लागि घातक थियो, छ र रहनेछ ।
यसलाई ‘भिखारी मानसिकता’ पनि भनिन्छ ।
नेपालले भिखारी मानसिकताको कम्फर्ट जोनबाट आफुलाई साहसको साथ बाहिर निकाल्नै पर्छ, निसंकोच अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा उक्लिनै पर्छ र भविष्यमा आई पर्ने समस्याहरु र जोखिमहरुसंग सामना गर्न सदैव तयार रहनै पर्छ ।
सबै मापदण्डहरु पुरा गरिसकेको नेपालले अब पनि अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा उकालो नचढने हो भने विकासशील राष्ट्रबाट विकसित राष्ट्रको बन्नको लागि कहिले पाईला चाल्ने हो ?
यसपाली नेपाल संगसंगै बंगलादेश र लाओस पनि अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा फडको मार्दैछन् । बंगलादेश र लाओसले अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा जांदा त्याग्नु पर्ने सुविधाहरु र भोग्नु पर्ने समस्या र जोखिमहरु लगभग समान छन् । उनीहरुले आंट गरि रहेका छन् तर नेपाल विकासशील राष्ट्रमा उक्लिन बारम्बार हिचकिचाई रहेको छ, किन ?
अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा उक्लिने प्रक्रियाको लागि लागि वार्षिक प्रतिव्यक्ति आम्दानी १३०६ डलर पुग्नुपर्छ, मानव विकास सूचकांक कम्तिमा ६६ हुनुपर्छ र आर्थिक तथा वातावरणीय जोखिम सूचकांक बढीमा ३२ रहनुपर्छ।
अहिले नेपालको वार्षिक प्रतिव्यक्ति आम्दानी १४०४ डलर पुगि सकेको छ तथ्य सार्वजनिक भई सकेको छ । संयुक्त राष्ट्रसंघको कमिटी फर डेभलपमेन्ट पोलिसी (सिडिपी) को सन् २०२५ को अनुगमन प्रतिवेदन अनुसार नेपालको प्रतिव्यक्ति आम्दानी १४०४ डलर पुगि सकेको तथ्य उक्त प्रतिवेदनमा उल्लेख छ।
नेपालले अति कम विकसित देशबाट विकासशील देशमा पुग्नको लागि आवश्यक सबै सर्तहरु पुरा गरिसकेको कारणले यसलाई नेपालले राष्ट्रिय गौरवको ऐतिहासिक क्षणको रुपमा लिनु पर्छ र विकासशील देशको रुपमा विश्व मानचित्रमा आफ्नो पहिचान कायम गर्न बुद्धिमत्तापुर्वक हौसला र साहसका साथ अगाडि बढनु पर्छ ।
नेपालले अति कम विकसित देशको रुपमा रहंदा पाउने केही सीमित लाभहरुको लोभ गरेर नेपालको अर्थतन्त्र चलायमान हुंदैन र वैदेशिक लगानीहरु पनि प्रशस्त मात्रामा आउने संभावना पनि रहदैन । नेपाललाई विश्वका अन्य देशहरुले हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आउदैन ।
सबै सूचकांकहरु पुरा भएको बेलामा विकासशील मुलुकमा उक्लन नेपालले मानसिकरुपमा नै आफुलाई कहिल्यै पनि तयार गरेन भने नेपालको मानसिकता ‘गरिबी केन्द्रीत’ मात्र हुने संभावना बढेर जान्छ।
यसैले यस पटक नेपालले सम्पुर्ण संभावित जोखिमहरु मोल्न मानसिक रुपमा नै तयार भएर विकासशील मुलुकमा उक्लने आंट गर्नै पर्छ ।यसपाली पनि नेपालले आंट गर्न सकेन भने भविष्यमा विकासशील मुलुकमा उक्लने आंट कहिले गर्ला भन्न सकिन्न ।
अब नेपालले अति कम विकसित देशको रुपमा रहंदा पाउने संभावित सीमित लाभहरुको लोभ नगरिकन सो भन्दा बढी विकासशील देशको रुपमा उक्लिंदा भोग्नु पर्ने कठिनाई र जोखिमहरुको लागि आफुलाई सक्षम बनाउन सम्पुर्ण संभावनाका ढोकाहरु खुला राखेर कठोर र कठिन वर्तमान परिस्थितिको आधारमा सुशासनको दूरदृष्टिले अहिले देखि नै तयारी थाल्नु पर्छ ।
भविष्यमा आउने जोखिम, चुनौति र अप्ठ्याराहरुलाई पनि बुद्धिमत्तापुर्वक सामना गर्दै जानु पर्छ । त्यसै अनुसार नेपालले शिक्षा, पुर्वाधार, ऊर्जा, भाषा, संचार, एआई, अर्थतन्त्र, मानव संशाधन, विज्ञान, प्रविधि, सीप, नव प्रवर्द्धन, कानून, वाणिज्य, लेखा, क्रियटिभिटी, स्वास्थ्य, खानेपानी, कृषि, शान्ति सुरक्षा र सुशासनमा लगानी बढाउनु पर्छ ।
अब नेपाललाई पछाडि फर्कने छुट छैन । नेपाल साबधानी र बुद्धिमत्तापुर्वक दृढ साहसका साथ अगाडि बढनु पर्छ ।
२०८३ मंसिर ८ गते पछि अति कम विकसित देशबाट विकासशील देशको रुपमा र केही दशक निरन्तर कठिन मेहनत गरिसके पछि विकासशील देशबाट विकसित देशको रुपमा नेपालले विश्व मानचित्रमा आफ्नो पहिचान बनाउने साहसिलो यात्रामा अविरल अगाडि बढनु पर्छ ।
हरेक जोखिम, चुनौती, अप्ठ्यारा र विपत्तिहरुको सामना गर्न नेपालले आफुलाई योग्य, सक्षम र सामर्थ्यवान बनाउदै लानु पर्छ र अझ बढी गतिशील हुनु पर्छ ।
नेपालले विगतका वर्षहरुमा जस्तै अब पनि केही सीमित संभावित जोखिमहरुको कारण देखाएर ‘गरिब’को ट्यागलाई झुण्ड्याई राख्नु नेपाल र नेपालीको हितमा हुंदैन ।
नेपालले वर्षौं देखि बाध्यताले झुण्डिएर रहेको ‘गरिब’को ट्यागलाई यसपालीबाट सधैंको लागि वैधानिक बाटोबाट नै हटाउने मौका पाएको छ । यसर्थ, नेपालले तत्काल अदम्य साहसका साथ यसको सदुपयोग गर्नु पर्छ र नेपाल विकासशील राष्ट्रमा उक्लिनै पर्छ ।
विकासशील देशमा तत्काल उक्लिने निर्णय नै भविष्यमा नेपाल र नेपालीको बृहत्तर हितमा हुन्छ ।
