काठमाडौं, १२ जेठ ।प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न अहिलेको सरकार प्रतिबद्ध रहेको बताएका छन।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मङ्गलवार काठमाडौँ र नयाँदिल्लीस्थित युरोपेली संघ (इयू) तथा सदस्य राष्ट्रका राजदूत तथा काठमाडौँस्थित अन्य मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा उनले त्यस्तो बताएका हुन । वर्तमान क्षणको अत्यावश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको पनि उनले बताए ।
प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धानविज्ञ दिपा दाहालले भेटमा प्रधानमन्त्री शाहले नेपालमा हालै सम्पन्न निर्वाचन परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट र निर्णायक जनादेश दिएको र नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता रहने अवगत गराएको जानकारी दिइन ।
“नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु होइन। नेपालको नीति निर्देशन स्पष्ट, स्थिर र अनुमानयोग्य हुने सुनिश्चित गर्दै हामी लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध छौँ।” प्रधानमन्त्रीले भने ।
उनले नेपालको सुशासन र अर्थतन्त्रको समावेशी वृद्धिका लागि आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको दोहोर्याए ।
जनताका लागि नयाँ अवसरहरू सिर्जना गर्न सरकार विश्व बजारबाट लाभान्वित हुन चाहेको, बृहत् लगानी आकर्षित गर्न प्रक्रियाहरूलाई थप सहज बनाउँदै नवप्रवर्तनलाई प्रोत्साहन र दिगो विकास हासिल गर्न प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
भेटमा काठमाडौँ र नयाँदिल्लीस्थित युरोपियन युनियनका राजदूतहरू तथा काठमाडौँस्थित अन्य राजदूतहरूले शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गरेको भन्दै नेपालको प्रशंसा गरे ।
