काठमाडौं, १३ जेठ । पूर्वाधार विकास मन्त्रालयमा एक बिचौलिया र सचिव विश्वबाबु पुडासैनीबीच हात हालाहाल भएको छ । खानेपानी मन्त्रालय नगाभिंदैको बिषयमा कमिसनको भागबण्डा नमिल्दा सचिव पुडासैनी र शाहीको विवाद हात हालाहालमा पुगेको मन्त्रालय सम्बद्ध स्रोत बताउँछ । पुडासैनी खानेपानी मन्त्रालय पूर्वाधार विकास मन्त्रालयमा गाभिएपछि त्यहाँका दुई सचिवमध्ये एक हुन् ।शाहीले पुडासैनीसँग मिलेर खानेपानीका विभिन्न ठेक्का सेटिङमा संलग्न रहेको र कमिसनमा हिसाबकिताव नमिल्दा विवाद भएको थियो ।
कमिसन विवादको विषयमा सचिव पुडासैनी, खानेपानी बिभागका महानिर्देशक कमलराज श्रेष्ठ र बिचौलिया शाही बीच कुटाकुट भएको थियो ।
प्रहरीले सचिव पुडासैनीमाथि दुव्र्यवहार गरेको आरोपमा बिचौलिया उपेन्द्र शाहीलाई सिंहदरबार प्रहरी गुल्मले पक्राउ नै गर्नुपर्ने परिस्थिति निर्माण भएको थियो । सचिव पुडासैनी र बिचौलिया शाहीबीच लामो समयदेखि पुरानो चिनजान भएको प्रहरी अनुसन्धानमा खुलेको छ । पुडासैनी र शाहीबीच विवाद हुँदा कार्यकक्षमा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठ पनि उपस्थित थिए ।
सचिव पुडासैनी र शाहीबीच लामो समयदेखिको सेटिङ हुने गरेको र सेटिङ भएका ठेक्काको कमिसनको विषयलाई लिएर विवाद भएको थियो ।
विवादले उग्र रुप लिएपछि बिचौलिया शाहीले सचिव पुडासैनीमाथि झम्टिएका थिए । त्यसपछि प्रहरीलाई खबर गरिएको थियो। प्रहरी वृत्त सिंहदरबारको टोली गएर शाहीलाई नियन्त्रणमा लिएको हो । उनलाई काठमाडौं परिसरले मंगलबार अभद्र व्यवहार मुद्दामा म्याद थप गरेको छ ।
सचिव पुडासैनी यसअघि खानेपानी मन्त्रालयका सचिव थिए । सो मन्त्रालय मर्ज भएर पूर्वाधार विकास मन्त्रालय बनेको हो ।
उनी खानेपानी सचिव हुँदा शाहीसँग मिलेर विभिन्न ठेक्कामा सेटिङ गरेका थिए । अहिले त्यही सेटिङको कमिसन विवादमा कुटाकुट भएको स्रोत बताउँछ ।
उच्च प्रशासनसँग सम्बन्ध बनाएका शाही बदनाम बिचौलिया हुन् । यसअघि चक्रबहादुर बुढा राजश्व अनुसन्धान विभागको महानिर्देशक हुँदा बुढाकै मोबाइलबाट फोन गरेर व्यापारीलाई धम्काएको विषयमा उनी विवादमा परेका थिए
