दाङ, १४ जेठ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आँखाको उपचारका लागी विरामीको मन जित्दै गएको छ । केही वर्षअघिसम्म रुकुम, रोल्पा, सल्यान वा प्युठानका बिरामीहरूका लागि आँखाको जटिल रोगको उपचारका लागी जिल्ला वाहीर जानुपर्ने वाध्यता रहदै आएकोमा प्रतिष्ठानमा आखाँको उपचार सुरु भएपछि विरामीको त्यो वाध्यता अव अन्त्य भएको छ ।
जिल्लामै आँखाको राम्रो उपचार पाउन थालेपछि विरामीहरु हर्षित हुँदै गएका छन् । चालु आर्थिक वर्षको बैशाख महीनामा मात्रै प्रतिष्ठानमा १ सय ४० जना विरामीको आँखाको जटिल रोगको उपचारका साथै अप्रेसन सफलतापुर्वक भएका छन । प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख, निर्देशक तथा सह–प्राध्यापक डा। सुरेश रसाइलीको नेतृत्वमा चिकित्सक, नेत्र सहायक, स्वास्थ्यकर्मिको सहभागितामा साना देखी गम्भिरखालका आँखाको उपचारदेखी अप्रेसन हुँदै आएका छन् । प्रतिष्ठानले दिएको जानकारी अनुसार गएको बैशाख १ गतेदखी ३१ गतेसम्म सो संख्यामा आँखाका विरामीहरुको अप्रेसन भएको हो ।
आँखारोग विभागका प्रमुखसमेत रहनु भएका रसाइलिका अनुसार १ हजार ४ सय २० जना आँखाका विरामीले ओपिडिमार्फत सेवा पाएका छन् भने २६ जना विरामीको भर्ना गरेर आँखाका उपचार गरीएको छ । कुनैवेला दाङमा आँखाको उपचार गर्ने अस्पताल राम्रो नहुँदा विरामीहरुले निकै सास्ती वेहोुर्न परेको थियो । आँखाको उपचार गर्नु केवल स्वास्थ्य समस्या मात्र होइन, आर्थिक र मानसिक पीडाको अर्को नाम पनि थियो। उपचारका लागि काठमाडौं धाउनुपर्ने, महँगो खर्च, बसोबासको समस्या र लामो पालो—यी सबै बाध्यताले धेरै बिरामी समयमै उपचारबाट वञ्चित हुने गर्थे। तर अहिले जिल्लाकै प्रतिष्ठानमा आँखाको उपचार भरपर्दो र विश्वासिलो भएपछि परिदृश्य फेरिएको छ।
प्रतिष्ठानले सुरु गरेको आँखा सम्बन्धी उच्चस्तरीय विशेष सेवा विस्तारसँगै दुर्गमका बिरामीका लागि आशाको नयाँ ढोका खुलेको छ। अब रुकुम–रोल्पाका बिरामीहरू काठमाडौं होइन, दाङमै आएर अत्याधुनिक उपचार पाइरहेका छन्।
आँखा रोग विशेषज्ञ सह प्रा।डा। रसाइलीले प्रतिष्ठानमा आँखाको कोटरसम्बन्धी उपचार, आँखाको प्लास्टिक तथा पुनर्निर्माण शल्यक्रिया र आँखाको क्यान्सर उपचारजस्ता सेवाहरू विस्तार गरेसँगै जटिल आँखाका रोगहरूको उपचार जिल्लामै सम्भव भएको छ। “पहिला बिरामीहरूलाई काठमाडौं जानैपर्ने बाध्यता थियो, तर अहिले यहाँकै सेवाले त्यो अवस्था अन्त्य भएको छ,” उहाँले भन्नुभयो ।
आँखाको अप्रेसन धमाधम हुन थालेपछि प्रतिष्ठानको क्षमतामात्र होइन, दुर्गम क्षेत्रका बिरामीको भरोसा पनि बढेको छ । त्यसैगरी, आँसु नली खोल्ने तथा पुनर्निर्माण गर्ने शल्यक्रिया, कालो मोतियाको उपचार, तथा सौन्दर्यसम्बन्धी आँखा शल्यक्रिया समेत प्रतिष्ठानमा उपलब्ध छन्। माथिल्लो र तल्लो आँखा ढकनी मिलाउने शल्यक्रियादेखि अनुहार सुन्दर बनाउन दिइने विशेष सुई सेवा पनि सञ्चालनमा छ।
दृष्टि पर्दाको विस्तृत परीक्षण, आँखाको दृष्टि फैलावट जाँच्ने सेवा, नानीको बनावट परीक्षणजस्ता अत्याधुनिक जाँच सेवाहरू पनि यहीँ उपलब्ध छन्। मधुमेह, उच्च रक्तचाप र थाइराइडका कारण आँखामा पर्ने असरको परीक्षण र उपचार पनि यहीँ हुँदै आएको छ। साथै, विशेष किसिमको लेजर उपचार सेवा पनि सञ्चालनमा छ। अब उपचारका लागि राजधानी धाउनुपर्ने बाध्यता हटेको छ।
आँखाको उपचारका लागी डा. रसाइलीको नेतृत्वमा रहेको टोलीलाई बिरामीहरूले ‘विश्वासिलो’ मात्र होइन, ‘काठमाडौंकै स्तरको सेवा दिने’ भनेर समेत मूल्यांकन गर्न थालेका छन्।
यससँगै, आँखा वरिपरि वा अनुहारको हड्डी भाँचिएका बिरामीहरूको लागि आधुनिक तरिकाले पुनर्निर्माण शल्यक्रिया पनि यहीँ सम्भव भएको छ।
प्रतिष्ठानले आगामी दिनमा अझ अत्याधुनिक उपकरण र विशेषज्ञ जनशक्ति थप गर्ने योजना बनाएको छ। यसले लुम्बिनी प्रदेश मात्र होइन, कर्णाली र सुदूरपश्चिमका बिरामीहरूलाई समेत ठूलो राहत दिने अपेक्षा गरिएको छ।
कुनै समय ‘काठमाडौं जानैपर्छ’ भन्ने बाध्यता बोकेका दुर्गमका बिरामीहरूका लागि दाङको प्रतिष्ठान अहिले उपचारको नयाँ केन्द्र बनेको छ । जस्का कारण जहाँ दूरी घटेको छ, खर्च घटेको छ, र आशा बढेको उपचारमा आएका विरामीहरु बताउछन् ।
