काठमाडौं, १८ जेठ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमणका सिलसिलामा नयाँदिल्ली पुगेका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहले संसदको बैठकबाटै नेपालले पनि भारतको भूमि मिचेको विवादस्पद अभिव्यक्ति दिएकै भोलिपल्ट केहीबेरअघि लामिछाने भारत प्रस्थान गरेका हुन् । उनी अहिले नयाँदिल्लीमा अवतरित भएका छन् ।
भारत स्वयंले अहिलेसम्म नेपाललाई भूमि अतिक्रमणबारे जानकारी नदिएको अभिलेख हुनेगरी नोट नगराएको परिप्रेक्ष्यमा प्रधानमन्त्री बालेनको विवादस्पद अभिव्यक्तिले नेपालको सार्वभौमसत्तामाथि नै खतरा उत्पन्न भएको र देशको स्वाधिनता तथा स्वाभिमानमाथि खेलवाड गरिएको भन्दै दलहरु बिरोधमा सडकमा ओर्लिएका छन् ।
त्यस्तै, भारतमा खुसीयाली छाउँदा नेपालमा भने धेरै ठूलो पंक्ति असन्तुष्ट बनेको छ । यस्तो पृष्ठभूमिमा भएको लामिछानेको भ्रमणप्रति धेरैले चासो र सरोकार राखेका छन् ।
उनी भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा भारत भ्रमणमा गएका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानसथलमा पत्रकारहरुले भ्रमणबारे लामिछानेको प्रतिक्रिया लिन खोज्दा तर्किदैं भारतबाट फर्किएपछि कुरा गर्ने भनेर पन्छिए ।
सभापति लामिछानेसँगै रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, पत्नी निकिता पौडेल र प्रदीप आचार्य रहेका छन् ।
रविले जेठ १८ देखि २२ गते (जुन १ देखि ५ तारिख) सम्म भारत भ्रमण गर्नेछन् । त्यसक्रममा नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ ।
उनले भाजपा नेतृत्व, भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम छ । त्यसपछि उनले अयोध्याको भ्रमण पनि गर्ने पार्टी प्रवक्ता झाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भेटघाट, छलफल तथा भ्रमणका लागि नयाँदिल्लीस्थित नेपाली दूतावासले समन्वय गरिरहेको रास्वपाले जनाएको छ ।
