काठमाडौं, १८ जेठ ।
नेकपा एमाले प्रधानमन्त्री बालेन्द्र शाहको विवादस्पद अभिव्यक्तिविरुद्ध सडकमा ओर्लिएको छ । नेपालले भारतीय भूमि मिचेको अभिव्यक्तिविरुद्ध सदनमा बिरोध चर्काएको एमालेले सडकमा पनि बिरोध सुरु गरेको हो ।
सडक प्रदर्शनमा ओर्लिएलगत्तै महासचिव शंकर पोखरेलले वक्तव्य जारी गरेर विवादस्पद अभिव्यक्तिप्रति सदनमा उभिएर देश र जनतासामू माफी माग्न र स्वाभिमानको रक्षाका लागि प्रधानमन्त्री बालेनले राजीनामा दिनुपर्ने माग अघि सारेका छन् ।
यद्यपि, विज्ञप्तिमा राजीनामा शब्द प्रयोग नगरी मार्गप्रशस्त गर्न माग गरिएको छ ।
‘नेकपा एमाले प्रधानमन्त्री बालेन्द्र शाहको उक्त गैरजिम्मेवार अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै राष्ट्रिय हित, सार्वभौमसत्ता र भौगलिक अखण्डतासम्बन्धि विषयमा सरकारलाई स्पष्ट, तथ्यपरक, र जिम्मेवार ढंगले प्रस्तुत हुन जोडदार माग गर्दछ । नेपालको एक इन्च भूमि पनि कसैलाई छोड्न नसकिने अडानमा सिंगो देश अडिग छ । प्रधानमन्त्री शाहले आफ्नो राष्ट्रहित विपरितको भनाईप्रति तत्काल संसद र आम नेपाली जनतासँग माफी माग्दै कुटनीतिक मर्यादाको पालना गर्न र राष्टिय स्वाभिमानको रक्षाका लागि मार्गप्रशस्त गर्न हाम्रो पार्टी जोडदार माग गर्दछ ।’ पोखरेलले विज्ञप्तिमा भनेका छन् ।
प्रतिनिधिसभा बैठकमा सांसदहरुलाई जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको जग्गा मिचेको’ भन्ने अभिव्यक्ति दिनुलाई एमालेले राष्ट्रहित विपरीत भनेको छ ।
लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रमा भारतीय अतिक्रमणको समस्या समाधानका लागि स्थापित कूटनीतिक संयन्त्रलाई छाडेर ब्रिटिस इन्डिया वा बेलायतको प्रसंग जोड्नु पूर्णतः असान्दर्भिक र कूटनीतिक अपरिपक्वता भएको एमालेको ठहर छ ।
एमालेले भनेको छ– नेपाल–भारतबीच लिम्पियाधुरा, कालापानी, लिपुलेक तथा सुस्तासहित विभिन्न ७१ स्थानमा सीमा समस्या रहेको तथ्य सरकारी अभिलेखमै प्रस्ट छ । यस्ता विवादहरूको समाधान ऐतिहासिक तथ्य, प्रमाण, कूटनीतिक संवाद र अन्तर्राष्ट्रिय मान्यताका आधारमा हुनुपर्नेमा, आफ्नो कमजोरी लुकाउन ‘नेपालले पनि सीमा मिचेको छ’ भन्नु राष्ट्रिय हितमाथिको ठूलो कुठाराघात हो । खेती कमाइ वा नदीले धार परिवर्तन गर्दा हुने प्राविधिक क्रस होल्डिङलाई राज्यस्तरबाट भएको रणनीतिक भूमि अतिक्रमणसँग तुलना गर्नै मिल्दैन ।
जटिल प्राविधिक र राजनीतिक विषयहरूलाई देशको कार्यकारी प्रमुखले संसद् जस्तो गरिमामय ठाउँमा हलुका ढंगले बङ्ग्याउनु आपत्तिजनक रहेको विज्ञप्तिमा लेखिएको छ ।
‘देशको स्थापित अडान, द्विपक्षीय अन्तर्राष्ट्रिय मञ्चमा नेपालको कूटनीतिक दाबी र राष्ट्रिय एकतालाई गम्भीर रूपमा कमजोर बनाउने काम गरेको छ,’ महाचिव शंकर पोखरेलले जारी गरेको बक्तव्यमा भनिएको छ, ‘यस प्रकारको राष्ट्रहीत प्रतिकूल अभिव्यक्तिको हाम्रो पार्टी घोर निन्दा र भत्र्सना गर्दछ ।’
प्रधानमन्त्रीले सीमा विवादबारे तेस्रो पक्षलाई जोडेकोमा पनि एमालेले आपत्ति जनाएको छ । ‘समस्या समाधानका लागि स्थापित कूटनीतिक संयन्त्रलाई छाडेर ब्रिटिस इन्डिया वा बेलायतको प्रसंग जोड्नु पूर्णतः असान्दर्भिक र कूटनीतिक अपरिपक्वता हो,’ एमालेले भनेको छ ।
