काठमाडौं, १८ जेठ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पूर्ण स्वस्थ भएका छन् । पूर्ण स्वास्थ्यलाभसँगै तीन महिनापछि ओली पहिलो पटक सार्बजनिक कार्यक्रममा सहभागी हुँदैछन् ।
पार्टीको केन्द्रीय संगठन विभागको आयोजनामा वुधबार र विहिबार आयोजित ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुईदिने राष्ट्रिय कार्यशालाको उद्घाट्न ओलीले गर्ने तय भएको छ ।
काठमाडौँको बबरमहलस्थित कार्की बैंक्वेटमा सञ्चालन हुने उक्त कार्यशाला जेठ २० गते बिहान ठीक ११ बजेबाट सुरु हुने केन्द्रीय कार्याल्य सचिव डा. भीष्म अधिकारीले जनाएका छन् । कार्यशालाको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जानकारी दिए ।
गत फागुन दोस्रो साता सरकारले गिरफ्तार गरेपछि ओली अस्वस्थ भएका थिए । त्यसक्रममा शिक्षण अस्पताल महाराजगञ्जमा उनको पित्तथैलीको स्टोनको अपरेशन गरेको थियो । हर्नियाबाटसमेत पीडित ओलीको त्यसबीचमै सोको पनि अपरेशन गरिएको थियो ।
अस्पतालले डिस्चार्ज गरेपछि पनि अपरेशन गरिएको घाउमा इन्फेक्सन भएपछि ओली एक महिनाभन्दा बढि समय गुण्डुस्थित निवासमै रेस्टमा बसेका थिए । स्वास्थ्यमा धेरै सुधार भएपछि अघिल्लो साता एमालेको केन्द्रीय सचिवालय बैठक सम्पन्न भएको थियो । बैठकमा ओलीले आफ्नो स्वास्थ्य ९८ प्रतिशत ठिक भएको जानकारी दिँदै सबै जिल्ला र प्रदेशमा पुगेर नेता–कार्यकर्ताबीच पुगेर पार्टीलाई पहिलेकै अबस्थामा पु¥याउने ईच्छा व्यक्त गरेका थिए ।
पार्टीको सांगठनिक सुदृढीकरण तथा गतिशीलतालाई केन्द्रमा राखेर आयोजना गर्न लागिएको कार्यशालामा प्रदेश तथा जिल्ला इन्चार्जहरू (भारत प्रवाससमेत), प्रदेश कमिटी वा सो सरहका कमिटीका पदाधिकारी, कार्यालय सचिव, जिल्ला कमिटी अध्यक्ष, संगठन विभाग प्रमुख तथा जनसंगठन केन्द्रीय कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुखहरूको अनिवार्य सहभागिताका लागि खबर गरिएको आचार्यले बताए ।
दुई दिनसम्म सञ्चालन हुने कार्यशालामा पार्टी सदस्यता विस्तार, नवीकरण प्रक्रिया, संगठन सुदृढीकरणका रणनीति तथा भावी योजनाबारे सघन छलफल र उत्प्रेरणामूलक अभिमुखीकरण गरिने जनाइएको छ। एमालेले यस कार्यक्रमलाई संगठन सुदृढीकरण अभियानको महत्त्वपूर्ण कडीका रूपमा लिएको छ ।
कार्यशालामा एमालेको संगठनको समग्र वश्तुस्थिती बारे संगठन विभागका प्रमुख भानुभक्त ढकालले एक कार्यपत्र प्रष्तुत गर्ने सदस्यता नविकरणको प्राविधिक पक्षका बारेमा केन्द्रीय सदस्य तथा संगठन विभाागका सदस्य माधव ढुंगेलले अर्को कार्यपत्र प्रष्तुत गर्ने तयारी छ । सहभागीहरुलाई विभिन्न समुहमा विभाजन गरेर छलफल र प्रष्तुतिकरण समेत गर्ने कार्यसुची रहेको आचार्यले बताए । कार्यशालाको समापन महासचिव शंकर पोखरेलले गर्ने कार्यक्रम रहेको छ ।
