काठमाडौं, २० जेठ ।
एमाले उपमहासचिव योगेश भट्टराईले अध्यक्ष पद नछाड्ने अध्यक्ष केपी शर्मा ओलीको भनाईप्रति कटाक्ष गरेका छन् ।
संकटका बेला नेतृत्वले झोला फालेर हिँड्न नहुने भन्दै अध्यक्ष नछाड्ने सन्देश दिएका ओलीलाई उपमहासचिव योगेश भट्टराईले कटाक्ष गरेका छन् ।
०५९ मा जनकपुरमा सम्पन्न सातौं महाधिवेशनमा तत्कालीन महासचिव माधवकुमार नेपालले फेरि पनि नेतृत्वमा दोहोरिने ईच्छा व्यक्त गरेपछि नेता ओलीले एउटा रोचक कथासहित गरेको व्यंग्य सामाजिक संजालमा पोष्ट गर्दै भट्टराईले कटाक्ष गरेका हुन् । यद्यपि, भट्टराईले त्यतिबेला ओलीले नेपाललाई गरेको व्यंग्यको सन्दर्भ भने उल्लेख गरेका छैनन् । ओलीले पार्टीको संगठन विभागले आयोजना गरेको राष्ट्रिय कार्यशालामा संकटका बेला महाधिवेशनबाट चुनिएको नेतृत्वले जिम्मेवारीबाट भाग्न नमिल्ने बताएका थिए ।
भट्टराईले भनेका छन् ः
‘नेकपा एमालेको सातौ राष्ट्रिय महाधिवेशनको (जनकपुर)बन्द सत्रमा पार्टीका एकजना बरिष्ठ नेताले भाषणका क्रममा यस्तो कथा सुनाउनु भएको थियो – एकजना बुढा मानिस बसमा चढेछन् । सीट खाली थिए तर ऊनी सीटमा बसेनन् । उभिएर बसभित्रको फलामको डन्डी च्याप्प समाए । बाटो उबड खवाड थियो । बस गुड्न सुरु गर्यों । बस घरी दायाँ ढल्किन्थ्यो बुढा मानिस बसको डन्डीलाई बायाँ तिर जोडले तान्थे । फेरी बस बायाँ ढल्किन्थ्यो बुढा मानिस डन्डीलाई जोडले दायाँ तान्थे ।
यही रीतले बस अघि बढी रह्यो । बुढा मानिस सोही क्रिया गरिरहे । बुढा असिन पसिन भए । बस गन्तव्यमा पुगेर रोकियो । सबै यात्रु बाहिर निस्के । बुढाले सबैलाई जम्मा गरेर भने आज तपाईँहरू सबै मेरो कारणले बच्नु भयो । यात्रुहरू छक्क परेर सोधे कसरी । बुढाले सगौरव भने पल्टिन लागेको बसलाई डन्डीमा तानेर मैले पल्टिनबाट जोगाए र तपाईँहरू बच्नु भयो ।
आज मलाई यो कथाको खुब सम्झना भयो ।
