काठमाडौं, २७ जेठ ।
नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले आजसम्ममा आफ्नो क्रियाशील सदस्यता नविकरण नगरे १५औँ महाधिवेशनमा सहभागी हुनबाटै वञ्चित हुने भएका छन् ।
महामन्त्री प्रदीप पौडेल नेतृत्वको केन्द्रीय सदस्यता व्यवस्थापन समितिले पार्टीका सबै तहका पदाधिकारी तथा जनप्रतिनिधिलाई सदस्यता अद्यावधिक गर्न आजकै लागि अन्तिम डेडलाईन(समयसीमा)तोकेको थियो । जसअनुसार आजै राती १२ बजेबाट सो समयसीमा सकिदैंछ ।
‘क्रियाशील सदस्य रहेका सङ्घीय संसद्का सबै सदस्यहरू, प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा प्रदेश सभा सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधिहरूले ज्येष्ठ २७ गते भित्र आफ्नो क्रियाशील सदस्यता अनिवार्यरुपमा अद्यावधिक गर्न र आफ्नो क्षेत्रभित्रका पार्टीका सबै तहलाई सक्रिय गराइ अद्यावधिक प्रक्रियामा सहजीकरण गर्न गराउन निर्देशन गरिन्छ ।’ सदस्यता व्यवस्थापन केन्द्रीय समितिको परिपत्रमा भनिएको थियो ।
उता, परिपत्रमा केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्य, जिल्ला, क्षेत्र, प्रदेश सभा क्षेत्र, पालिका तथा वडा समितिका पदाधिकारी तथा सदस्य, भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारीलाई पनि सदस्यता अद्यावधिक गर्न भनिएको छ ।