सञ्चारमाध्यममा आएको समाचार सत्य हो र यदी केपी ओलीले शंकर पोखरेललाइ लोभी भन्नु भएको हो भने त सिंगो एमालेजन देखि हामी सर्वसाधरण सम्मले भन्नै पर्ने हुन्छ, “माफ गर्नुस केपी कमरेड , तपाईंको निष्कर्ष गलत छ । तपाईंले त्यसै भन्नु भएको भए तपाईं जस्तो वैगुणी मानिस अरु कोहि हुन सक्दैन किन कि शंकर पोखरेल लोभी हैनन बरु नेतृत्वको बचाउ गर्नुपर्छ भनेर निरन्तर तपाईंलाइ साथ दिंदै गर्दा अनेकन अवसर गुमाएका र अकल्पनीय आक्रमण सहेका र अपुरणीय क्षेति व्यहोरेका मानिस हुन ।”
सर्वप्रथम त यहाँलाइ सम्झना हुनु पर्ने हो कि आज भन्दा धेरै अगाडी शंकर पोखरेललाइ एमाले अध्यक्ष बन्न एमालेका थुप्रै युवा नेताहरुले अनुरोध गर्दा त्यसलाइ अस्विकार गर्दै तपाईं ( केपी ओली ) लाइ एक पटक नेतृत्वमा पुर्याउनु पर्छ भनेर लागेको व्यक्ति हो । त्यति मात्रै हैन, शंकर पोखरेलले लोभी बनेर आफ्नो स्वार्थ हेरेर निर्णय लिएको भए तत्कालिन नेकपा र त्यसको विभाजन पछि पुनर्जीवित एमालेमा तपाईंको निरन्तर नेतृत्वको सम्भावना अत्यन्त असहज हुने पक्का थियो ।
तपाईंहरुको सत्तालिप्सा र कुशासनको जगमा नै देशी विदेशी प्रतिक्रियावादीहरुले असल इमान्दार जेन जी युवाहरुले गत भाद्र २३ गते आयोजना गरेको प्रदर्शनलाइ उत्तेजित बनाइ २३ को नरसंहार र २४ को विध्वंश सम्भव बनाउन सकेको सत्यका वावजुद त्यस लगत्तै भएको पार्टी महाधिवेशनमा समेत तपाईं माथि बाह्य आक्रमण भैरहेको बेलामा तपाईंको कमजोरीलाइ आधार बनाएर तपाईंलाइ हटाएर थप कम्जोर पार्नु भन्दा फेरी नेतृत्वमा पुर्याउनु पर्छ भनेर शंकर पोखरेलले नेतृत्वदायी भूमिका खेलेको हैन ? यस्तो अवस्थामा पनि शंकर पोखरेल नै लोभी ? यो त मिलेन , मिल्दै मिलेन ।
त्यति मात्रै काहाँ , तपाईंको पार्टी सत्ता र राजकीय सत्ताको ढाल बन्दै गर्दा पनि शंकर पोखरेलले अतिरिक्त कुनै सेवा सुविधा पाएको त हैन तर तपाईंकै रक्षाकवच बनेकै हुँदा दुःखले बनाएको एउटा घर समेत निशानामा परेको र जलेको हैन ? अनि फेरी उनै पो लोभी ?यो त हुँदै भएन ।
अरु लाइ थाहा भए पनि नभएपनि शंकर पोखरेल लाइ थाहा छ म उहाँको कडा आलोचना गरेको मानिस हो । विगतमा एमाले बिग्रेर बामाले बन्ने विषय शंकर पोखरेल समेतको कमजोरीले भएको हो भनेर लेख्ने पनि म हुँ । त्यसैले अहिले यो लेखे वापत कसले के ठान्लान वा भन्लान भन्ने चिन्ता नराखी यति जरुर भन्छु कि शंकर पोखरेल लोभी हैनन र केपी ओली लाइ जोगाउँदा आफु अनेकन पटक आक्रमणमा परेका शंकर पोखरेललाइ लोभी भनिनु गलत हो । अनि त्यसो भन्दै गर्दा यो पनि जरुर भन्छु कि केपी ओलीको विकल्प खोज्दै गर्दा विष्णु पौडेल संग सहकार्य गर्नु शंकर पोखरेलको अर्को भुल हुनेछ ।
एमाले पूर्ण इमान्दार र चरित्रवान वाहेक अरुको नेतृत्वमा उठन सक्दैन । एमालेलाइ फेरी उठाउने हो भने विकल्प एक मात्रै छ त्यो भनेको केपी ओलीले कार्यकारी नेतृत्व हस्तान्तरण गर्दै अभिभावकीय नेतृत्व लिने अनि संक्रमणकालिन रुपमा भण्डारी संयोजक अनि शंकर पोखरेल सहित भूगोल , धर्म , समुदाय सबै मिलाएर इमान्दारहरुको कार्यकारी टिम बनाएर देशव्यापी जनअभियान संचालन गर्ने । कुरो यही हो , आगे एमालेजनहरुको मर्जी ।
–अमेरिका निवासी लेखक नेपालको राजनीति र सुरक्षा मामिलामा चासो राख्छन ।
