काठमाडौं, १ साउन ।
सम्पति शुद्धीकरण विभागले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलविरुद्ध विहिबार करिब २१ करोड रुपैयाँ बराबरको मुद्दा दायर गरेको छ । विभागले बिहीबार विशेष अदालतमा पौडेलविरुद्ध २० करोड ९० लाख रुपैयाँको बिगो माग दावी गर्दै मुद्दा दायर गरेको हो । यहि असार ८ गते सुर्खेतबाट पक्राउ गरी अनुसन्धान अघि बढाइएका पौडेलविरुद्ध विभागले बिहीबार २४औं दिनमा मुद्दा लगेको छ। विचौलिया व्यवसायी दीपक भट्टको समूहसँग शंकास्पद कारोबार देखिएपछि पौडेल पक्राउ परेका थिए ।
विभागले यसअघि विभिन्न कसुरमा मुद्दा दायर भईसकेका दीपक भट्ट र सुलभ अग्रवाल लगायत विरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । त्यसैगरी सुलभ अग्रवालकी श्रीमती शुभी अग्रवाल र उपेश बस्नेतविरुद्ध पनि पुरक मुद्दा लगिएको छ । मुद्दामा भट्टसँग ४७ करोड र शुभीसँग ३३ करोड बिगो माग दावी गरिएको हो । पूर्वअर्थमन्त्री पौडेल समेत जोडिएको डेढ सय रोपनी जग्गा र चार लाख कित्ता शेयरको विषयमा पनि विभागले प्रश्न उठाएको छ । सम्पत्ति शुद्धिकरण विभागले उनको संलग्नताबारे कुनै पनि प्रकारको प्रमाण जुटाएको छैन । कोही एक जना व्यक्तिलाई दीपक भट्टसँग नाम जोड्न लगाएर उनलाई अनुसन्धानको दायरामा तानिएको थियो ।
विशेष अदालतमा पेश गरिएको मुद्दामा पनि उनको संलग्नताबारे कुनै प्रमाण पेश नगरी मतियारको रुपमा प्रस्तुत गरिएको छ ।
पौडेलले विभागसमक्ष गरेको बयानमा आफूमाथि लगाइएका आरोपहरू निराधार रहेको बताएका छन्।
‘हिमालन रिइन्स्योरेन्स र अन्य बीमाहरूको इजाजत दिने वा नदिने भन्ने अधिकार नेपाल बीमा प्राधीकरणमा निहित रहेको विषय हो। हिमालयन रिइन्स्योरेन्स र अन्य लघु बीमाहरूलाई इजाजत दिने र एपिआई पोलिसी, ब्रोकर लाइसेन्स देखि नयाँ स्टक एक्सचेन्जसँग सम्बन्धित विषयमा मेरो कोही कसैसँग कुनै प्रकारको संलग्नता छैन,’ उनले बयानमा भनेका छन्।
उनले आफूले श्रीराम टोबाकोको २० प्रतिशत सेयर दिलाउनू भनेको र सञ्चालक भेटेको भन्ने आरोप पनि झुटो रहेको बताएका छन्।
‘म विरूद्ध लगाइएका सबै आरोपहरू आधारहीन र सरासर झुटा हुन्। मैले श्रीराम टोबाको उद्योगको २० प्रतिशत सेयर दिपक भट्टको कम्पनीलाई दिनु भनी उक्त कम्पनीका सञ्चालकहरूलाई भनेको र भेट गराएको भन्ने आरोप सरासर झुटा हो,’ उनले बयानमा भनेका छन्, ‘दिपक भट्ट र श्रीराम टोवाको उद्योगबीचको आपसी सम्बन्धमा मेरो कहीँ कतै र कुनै हिसाबले संलग्न छैन।’
पौडेललाई श्रीराम टोबाका सञ्चालक चुन्नाप्रसाद पौडेलको बयानको आधारमा पक्राउ गरिएको थियो । उपाध्यक्ष पौडेलको नाममा कुनै पनि प्रकारको शेयर देखिएको छैन ।
