“मेरो धर्ती, मेरो नेपाल, मेरो स्वाभिमान; जहाँ छौँ, त्यहीँबाट गर्छौँ, अभियान र योगदान”
१. विश्वको जुनसुकै कुनामा रहे पनि मन सधैँ आफ्नो प्यारो देश नेपाल पुगिरहन्छ, नेपालीहरूमाझ नै पुगिरहन्छ । जहाँ रहे पनि सपना नेपालकै डाँडापाखा, खेतबारीकै देखिन्छ । सामाजिक क्षेत्रमा निरन्तर जोडिने नै हो, समुदाय र देशका लागि केही गर्ने नै हो ।
२. अबको केही समय ‘नेपाल आईडी’ मार्फत केही काम गर्नेछौँ । यसको संस्थागत र प्रणालीगत विकासका लागि केही समय लगाउने छौँ । डायस्पोरामा रहेका उद्यमशील, पेशागत, बैध्दिक र सामाजिक अगुवाहरूको साझा संस्थाको रूपमा यसमा हाल अमेरिकामा ७७ जना संस्थापक सदस्यहरू रहेका छौँ । २५ जनाको कार्यकारी बोर्ड, ११ जनाको सल्लाहकार समिति र २२ जनाको संरक्षक परिषद गठन भइसकेको छ । अझै खँदिलो योजनासहित परिमार्जन र पुनर्गठन गर्दै यसलाई विकसित गर्नुपर्ने छ ।
३. नेपालमा समन्वय समिति, अन्य देशहरूमा र अमेरिकाका विभिन्न राज्यमा शाखा बनाउने वैधानिक व्यवस्था छ । डायस्पोरामा ५ वा सो भन्दा बढी कुनै देश वा स्टेटमा सदस्य संख्या भई सामाजिक कामको सुरूवात गरेर NEPAL ID को Branch स्थापना गर्न सकिनेछ ।
४. डायस्पोरा नेपालीले नेपाल र नेपाली समुदायको Identity, Connection, Knowledge and Empowerment गर्ने उद्देश्यले यो संस्थाको स्थापना गरिएको हो । Idea Exchange, Knowledge Sharing, Entrepreneurial Engagement र Professional Development का लागि केही काम सुरू हुँदैछ ।
५. हामी सानो काम भएपनि एक स्टेप प्रगतिशील काम गर्नेछौँ ।समाजमा योगदानका लागि थोरै Effort खर्च गर्नेछौँ । यहाँ दिने मात्र हो, प्राप्ति भने सरसङ्गत, सकारात्मक भाव, आत्मसम्मान र सानो सन्तुष्टि मात्र हो । आउनुस्, सल्लाह, समन्वय र योगदान गरौँ । समुदायको लागि थोरै समय दिऊँ ।

(नोटः डायस्पोरामा नेपाली राष्ट्रियताको उजागरण र पुनर्जारणका लागि सुरू गरिएको “नेपालका लागि प्रवासी नेपाली अभियान-२०२०” बाट यस संस्थाको आधार तयार भएको थियो ।)
यो अवधारणा सार्वजनिक गर्नुअघि नेपाल आएर डा. बास्तोलाले सोलु र काठमाडौमा छात्रवृत्ति प्रदान गरेका थिए ।
१. “विद्यावारिधि लक्ष्य पुरस्कार” वितरण:
मेरो आफ्नै संयोजनमा सन् २०२४ मा स्थापना गरिएको “विद्यावारिधि लक्ष्य पुरस्कार” अन्तर्गत विं.सं. २०८१ र २०८२ सालमा कक्षा ८ उत्तीर्ण (BLE) गरी आफ्नो गाउँपालिका प्रथम हुने सोलुखुम्बुका ३२ जना (१६–१६: हरेक पालिकाबाट एक छात्र एक छात्रा सहित) विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रम ६ वटा पालिकामा सम्पन्न भएको छ। सोलुखुम्बु इनिसिएटिभको आयोजनामा जिल्लाका ६ वटा पालिकामा पुगेर आफ्नै उपस्थितिमा पुरस्कार वितरण गर्न पाउँदा विशेष खुशी लागेको छ।
२. श्री केदार माध्यमिक विद्यालयलाई जग्गा हस्तान्तरण:
विद्यालय व्यवस्थापन समितिको समन्वयमा गत वर्ष खरिद गरिएको, विद्यालयको छात्रावास निर्माण तथा अन्य शैक्षिक प्रयोजनका लागि आवश्यक जग्गाको कानुनी प्रक्रिया पूरा गरी हस्तान्तरण गरेको छु । मूलतः मेरो बुबा म सानै छँदा बित्नुभएको र बुबाको सम्झनामा केही गरौँ भन्ने सोच आइरहेका बखत विद्यालयलाई जग्गा दान गर्ने सोच आएको थियो । मेरो बुबा जन्मेहुर्के बढेको क्षेत्रमा रहेको र मैले कख सिकेको कक्षा ७ सम्म पढेको घरछेउकै विद्यालय श्री केदार माध्यमिक विद्यालयलाई औपचारिक रूपमा हस्तान्तरण गर्न पाउँदा खुशी लागेको छ । छात्रवास निर्माण र खेलमैदानका लागि अत्यावश्यक यो जग्गा विद्यालयका लागि दीर्घकालीन महत्वका साथ उपयोगी हुनेछ भन्ने विश्वास छ।
३. अतिविपन्न विद्यार्थीका लागि दीर्घकालीन छात्रवृत्ति:
Himal Ed Foundation को ‘One-to-One Match’ कार्यक्रमअन्तर्गत हामी (थोमस बास्तोला र लोमस बास्तोला) दुई जनाले अतिविपन्न विद्यार्थीलाई कक्षा १२ सम्म हरेक वर्ष जनही रु. १५,०००/- का दरले सहयोग गर्ने प्रतिबद्धता गरेका छौँ। यस वर्षको छात्रवृत्ति रकम पनि हस्तान्तरण गरिएको छ। यसमा सोलुखुम्बु सोताङ घर भई नेचासल्यानस्थित केदार माविमा अध्ययन गर्ने पुष्पा नेपाली र नेचासल्यान ३ घर भई सोही विद्यालयमा अध्ययनरत छात्रा अञ्जना कटेल रहेका छन् । विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूको संयुक्त बैठकले यी नाम सिफारिस गरेको थियो ।
४. पद्मोदय हाइस्कूलमा अनुभव, प्रेरणा र शैक्षिक सामग्री वितरण:
विद्यालय शिक्षा पूरा गरेपछि मैले काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसबाट आई.ए., बी.ए. र एम.ए. अध्ययन गरेँ। रत्नराज्यलक्ष्मी क्याम्पस र पद्मोदय हाइस्कूल छिमेकी शैक्षिक संस्था हुन्। मेरो जीवनको करिब दुई दशक अध्ययन, विद्यार्थी आन्दोलन, पत्रकारिता, लेखन र सम्पादनजस्ता विविध क्षेत्रमा बित्यो, जसको प्रमुख कार्यक्षेत्र प्रदर्शनीमार्ग नै रह्यो, जहाँ पद्मोदय हाइस्कूल अवस्थित छ।
देशका विभिन्न जिल्लाका निम्न तथा मध्यम आय भएका परिवारका विद्यार्थीहरू अध्ययन गर्ने काठमाडौंको मुटुमा रहेको यस ऐतिहासिक विद्यालयका विद्यार्थी र शिक्षकहरूसँग आफ्ना अनुभव साटासाट गर्ने, उत्प्रेरणामूलक मन्तव्य राख्ने तथा शैक्षिक सामग्री वितरण गर्ने अवसर पाउनु मेरा लागि अत्यन्तै भावनात्मक र स्मरणीय अनुभव बन्यो। आफ्नै जीवनयात्रालाई दिशा दिएको शैक्षिक परिवेशमा फेरि पुगेर नयाँ पुस्तासँग संवाद गर्न पाउनु विशेष अर्थपूर्ण अनुभूति रह्यो।
५. Nepal ID र सोलुखुम्बु इनिसिएटिभबीच ऐतिहासिक सहकार्य सुरूवात:
डायस्पोरामा रहेका उद्यमी, बौद्धिक, पेशाकर्मी र सामाजिक अगुवाहरूको साझा संस्था Nepal ID र सोलुखुम्बुको शिक्षा, संस्कृति र साहित्य क्षेत्रमा कार्यरत संस्था Solukhumbu Initiative बीच महत्वपूर्ण सम्झौता सम्पन्न भएको छ। यस सम्झौताअनुसार Nepal ID ले रु. १५ लाखको स्थायी कोष स्थापना गर्ने; उक्त कोषबाट प्राप्त ब्याजमार्फत प्रत्येक वर्ष सोलुखुम्बुका ८ जना विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि रु. ८,८४८/- (आठ हजार आठ सय अठचालिस रूपैया) नगदसहित “Nepal ID Student Scholarship” प्रदान गरिनेछ। यस कार्यक्रमको व्यवस्थापन सोलुखुम्बु इनिसिएटिभले गर्नेछ।
