काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वदेश फर्किन लागेको भन्दै आफूप्रति सरकारले प्रतिशोध साँध्न सक्ने बताएका छन्। बीपी स्मृति दिवसका अवसरमा विज्ञप्ति जारी गरी उनले पुनः नेपाली भूमिमा फर्किँदै गर्दा सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन्।
‘म नेपाली भूमिमा पुनः पाइला टेक्दै छु। सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्छ, तर म नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासमाथि पूर्ण आस्था र समर्पण भाव राख्छु’, उनले भनेका छन्, ‘राष्ट्रियता, प्रजातन्त्र र समाजवाद साथै संविधानवादको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण राजनीतिक शक्ति, नागरिक समाज, युवा पुस्ता तथा आम नेपाली जनतासँग हार्दिक आग्रह गर्दै, आफ्नो निष्ठा, प्रतिबद्धता र समर्पणभावप्रति फेरि एकपटक विश्वास दिलाउँदै म स्वदेश फर्कँदैछु।’
सन्देशमा उनले अहिले देशले प्रतिशोध नभइ सहकार्य चाहेको उल्लेख गरेका छन्। ‘प्रतिशोध होइन, सहकार्य चाहिएको छ । त्यसैले इतिहासबाट प्राप्त अनुभव, परिवर्तनको ऊर्जा र प्रविधि तथा ज्ञानले सम्पन्न नयाँ पुस्ताको सिर्जनशील क्षमताबीच मनको एकता, राष्ट्रिय संवाद र साझा सहकार्यको आवश्यकता आज पहिलेभन्दा अझ बढी सान्दर्भिक बनेको छ,’ उनले भनेका छन्।
गत भदौ २४ को जेनजी आन्दोलनमा उनी र श्रीमती आरजु राणा देउवामाथि निर्घात कुटपिट भएको थियो। त्यसपछि स्वदेशमा उपचार गराएका उनीहरू फागुन २१ मा भएको आमनिर्वाचनअघि सिंगापुर गएका थिए।
उनी २०८२ चैत ७ गते सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए। पूर्वसभापति देउवा त्यसअघि १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए।

