काठमाडौं, १८ साउन । कोशीमा मुख्यमन्त्री फेर्ने विवाद चर्केपछि मूख्यमन्त्री हिक्मत कार्कीले विश्वास मत लिन र विश्वास मत प्राप्त नभए प्रदेश सभा विघठनको तयारीबारे छलफल थालेका छन् । एमालेभित्रको विवाद पार्टीका शीर्ष नेताहरूसँगको छलफलपछि टुग्याउने सहमति जुटेको भनिएपनि मूख्यमन्त्री कार्कीले यस्तो छलफल थालेका हुन्।
पार्टीको प्रदेश समितिले बोलाएको सांसदहरूको बैठकमा सचिव तथा इन्चार्ज शेरधन राईले सहमतिमा समस्या समाधान गर्ने बताएर पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफलका लागि बोलाएका छन् । तर कार्कीले ओलीसँग भेट गरेर कुरा नमिलेमा विश्वास मत लिने गरी छलफल थालेको स्रोतको दावी छ । कोशी विवाद सुल्झाउन बसेको बैठकमा पार्टीका सचिव तथा मुख्यमन्त्री हिक्मतकुमार कार्की, कोशीका अध्यक्ष घनश्याम खतिवडा, संसदीय दलका उपनेता तिलकुमार मेयाङ्बो, प्रमुख सचेतक रमेश बस्नेतसहित २५ जना प्रदेश सांसद उपस्थित थिए ।
मुख्यमन्त्री फेर्ने विषयमा विवाद भएपछि पार्टी इन्चार्ज राईले दुई दिनअघि सांसदहरूसँग वान टु वान छलफल गरेका थिए । प्रदेश र जिल्लाका नेताहरूसँग समेत छलफलपछि सोमबार सांसदहरूङ्को भेला बोलाइएको थियो । राईले पार्टी अध्यक्षको निर्देशन अनुसार काार्कीलाई फेरेर तिलकुमारलाई मुख्यमन्त्री बनाउने गरी छलफल अगाडि बढाएका थिए । उनले कार्कीलाई राजीनामा गर्न सुझाएका थिए । तर, संस्थागत निर्णयबिना आफू मुख्यमन्त्रीबाट नहट्ने कार्कीले अडान लिए ।
अध्यक्षको निर्देशन आफूलाई नआएको र औपचारिक निर्णयसमेत नभएको भन्दै कार्कीले राजीनामा पनि नदिने र अविश्वासको प्रस्ताव आए सामना गर्ने अडान लिएपछि दलको नेता फेर्न गृहकार्य थालिएको थियो । दलको नेता फेरेर जाँदा पनि ओलीको निर्देशन कार्यान्वयनमा संवैधानिक जटिलता हुने देखेपछि अध्यक्षसँगकै बैठकबाट हल खोज्न इन्चार्ज राई र मुख्यमन्त्री कार्की बीचमा सहमति जुटेको स्रोतले बतायो । सोही सहमति अनुसार सोमबारको बैठकमा इन्चार्ज राईले मात्रै बोलेका थिए । मंगलबार शीर्ष नेताहरूसँग संवादका लागि कार्की काठमाडौं आउने भएका छन्।
कार्कीलाई मुख्यमन्त्रीबाट हटाएर अध्यक्ष ओली सांसद तिलकुमार मेयाङ्बोलाई मुख्यमन्त्री बनाउन चाहन्छन् । त्यसका लागि ओलीले सचिव शेरधन राईसहितको टोलीलाई विराटनगर ओरालेका छन् । तर, मुख्यमन्त्री कार्की भने ओलीको निर्देशन मान्ने पक्षमा देखिएका छैनन् । मुख्यमन्त्रीबाट राजीनामा नदिने अडानमा रहेका कार्की संसदीय दलमा दुईतिहाइ पु¥याउन दबाब दिइरहेका छन् । कार्कीकै प्रयासमा मुख्यमन्त्री परिवर्तन गर्न संसदीय दलको दुईतिहाइ मत चाहिने व्यवस्था गरिएको थियो । त्यही व्यवस्थालाई टेकेर कार्कीले अडान राखेका छन् । यद्यपि, पार्टीको प्रदेश समितिले भने उक्त विधानलाई पारित नगरेका कारण पार्टीले भने अस्वीकार गर्दै आएको छ ।
यतिबेला कार्कीलाई कसको साथले हिम्मत जुटाएको छ ओलीविरुद्ध उभिन ? भन्ने चासो बढेको छ । एमाले स्रोतहरूका अनुसार कार्की केही पहिलादेखि नै ओलीको विकल्प खोज्नुपर्ने लाइनमा उभिएका थिए । महासचिव शंकर पोखरेलहरूको टिमसँग मिलेर मुख्यमन्त्री कार्कीले एमाले पुनगर्ठनको पक्षमा वकालत गरेका थिए । त्यही कारण मुख्यमन्त्री कार्कीविरुद्ध ओली उभिएका हुन् । अनि, अहिले ओली मैदानमै ओर्लिएर कार्कीलाई हटाउन लागेपछि महासचिव पोखरेलले साथ दिएको एमाले स्रोतको दाबी छ । उक्त स्रोतका अनुसार पोखरेलको आडभरोसा पाएका कार्कीलाई अहिले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पनि साथ दिएको छ ।


