काठमाडौं, १७ कात्तिक ।
पूर्वाधार विकासमन्त्री सुनील लम्साललाई फुर्के खोलाको पक्की पुल निर्माणका विषयमा ध्यानाकर्षण गराउन र ज्ञापनपत्र बुझाउन गएका पुर्वजनप्रतिनिधिहरूले ज्ञापनपत्र बुझाउन पाएनन् । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको टोली मन्त्रीलाई नभेटी सिंहदरबारबाट बाहिरिनु परेको थियो ।
धादिङका पूर्वसांसद एवम् जनप्रतिनिधिहरूको संयुक्त प्रतिनिधिमण्डल पूर्वाधार विकास मन्त्रालय पुगे पनि मन्त्रीसँग भेट्न पाएनन् । पूर्वमुख्यमन्त्री पाण्डेका अनुसार मन्त्रीलाई भेट्नका लागि अघिल्लो दिन सोमबार मन्त्रीका सल्लाहकार सन्तोष पाण्डेसँग समन्वय गरी समय निर्धारण गरिएको थियो ।
सल्लाहकार पाण्डेले मङ्गलबार बिहान ११ः३० देखि १२ः०० बजेसम्मको समय दिएका थिए । निर्धारित समयमै मन्त्रालय पुगेका पूर्व जनप्रतिनिधिहरूलाई पाण्डेले मन्त्रीका स्वकीय सचिव (पिए) प्रतीक श्रेष्ठलाई खबर गरिसकेको भन्दै मन्त्रीको कार्यकक्षतर्फ पठाए । तर, पिए श्रेष्ठले मन्त्रीसँग समय नलिएको भन्दै अस्वाभाविक व्यवहार देखाएको पूर्वमुख्यमन्त्री पाण्डेको भनाइ छ ।
‘मन्त्रीज्यू अहिले हुनुहुन्न, गइसक्नुभयो भनि ठाडो जवाफ दिइयो,’ उनले भने ।
गत भदौ १० गतेको बाढीले धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ स्थित फुर्केखोलामा रहेको पक्की पुल बगाएपछि धादिङका ८ वटा पालिका तथा गोरखा जिल्लाका नागरिकलाई काठमाडौं र अन्य भागसम्म आवतजावतमा ठूलो सास्ती भइरहेको छ ।

सोही समस्या समाधानका लागि धादिङका पूर्वसांसद एवम् पूर्व जनप्रतिनिधिहरु ज्ञापनपत्र बोकेर मन्त्रालय पुगेका थिए । बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मन्त्रालय परिसरमै कुरेर बस्दा पनि मन्त्रीसँग भेट हुन नसकेपछि पूर्वजनप्रतिनिधिको टोली रित्तै हात सिंहदरबारबाट बाहिरिनुपरेको छ ।

