बाँके, १७ कात्तिक । प्रहरी कर्मचारीलाई शारीरिक रूपमा तन्दुरुस्त र मानसिक रूपमा ऊर्जाशील बनाउँदै आपसी एकता तथा भाइचाराको भावना बलियो बनाउने उद्देश्यले बाँकेमा प्रहरी कर्मचारीहरूले सामूहिक पदयात्रा (हाइकिङ) गरेका छन्।
लुम्बिनी प्रदेश प्रहरी गण खजुरा, बाँकेको आयोजनामा मंगलबार बिहान सम्पन्न पदयात्रामा ५५ जना प्रहरी कर्मचारी सहभागी भएका थिए। गण प्रमुख प्रहरी उपरीक्षक मिलन केसीको नेतृत्वमा भएको टोलीले बाँकेको नरैनापुर गाउँपालिका–५ स्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सन्तानेश्वर महादेव मन्दिरसम्मको करिब १० किलोमिटर दूरी पैदल पार गरेको हो।
बिहान ७ बजे गणबाट सुरु भएको पदयात्रा नरैनापुर क्षेत्र हुँदै सन्तानेश्वर महादेव मन्दिर पुगेर सम्पन्न भएको थियो। नियमित जिम्मेवारी र कार्यव्यस्तताबीच आयोजना गरिएको यस कार्यक्रमले प्रहरी कर्मचारीलाई शारीरिक अभ्याससँगै प्रकृतिसँग रमाउने र सहकर्मीसँग आत्मीयता साट्ने अवसरसमेत प्रदान गरेको छ।

प्रहरी संगठनभित्र शारीरिक तन्दुरुस्ती जति आवश्यक छ, मानसिक स्फूर्ति, आपसी समन्वय र सामूहिक भावना पनि उत्तिकै महत्वपूर्ण मानिन्छ। यही मान्यतालाई आत्मसात् गर्दै आयोजना गरिएको पदयात्राले प्रहरी कर्मचारीबीच भाइचारा, सहकार्य र एकताको भावना थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
यस्ता रचनात्मक तथा स्वास्थ्यप्रवर्द्धनात्मक गतिविधिले प्रहरी कर्मचारीलाई तनाव व्यवस्थापन गर्न, सकारात्मक ऊर्जा प्राप्त गर्न र कार्यक्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।

नियमित ड्युटी र जिम्मेवारीको घेराभन्दा बाहिर निस्केर गरिएको यो सामूहिक पदयात्राले प्रहरी कर्मचारीलाई स्वास्थ्य, सद्भाव र सहकार्यको महत्त्वसमेत स्मरण गराएको छ।




