काठमाडौं, १७ कात्तिक ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले नेकपा (एमाले)मा असन्तुष्ट भएर बसिरहेका नेता तथा कार्यकर्तालाई एकता प्रक्रियामा आउन आह्वान गरेका छन् ।
मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै सहसंयोजक नेपालले यस्तो आह्वान गरेका हुन् ।

नेकपा (एमाले) व्यक्ति विशेषले कब्जा गरेको टिप्पणी गर्दै उकुसमुकुस भएर बसिरहेका नेता कार्यकर्ताहरूलाई विद्रोह गरेर नेकपासँगको एकता प्रक्रियामा सहभागी हुन आग्रह उनले गरे ।
अहिले मुलुकमा रहेका विद्यमान समस्याको समाधानका लागि कम्युनिष्ट शक्तिहरू एकतावद्ध हुन आवश्यक रहेको भन्दै विभिन्न कम्युनिस्ट घटकमा रहेका नेता तथा कार्यकर्तालाई एकतामा आउन पनि आग्रह गरे ।
उनले मोहनविक्रम सिंह, मोहन वैद्य र नेत्रविक्रम चन्द नेतृत्वका कम्युनिस्ट घटकहरूलाई समेत समाजवाद निर्माणको निम्ति एकतामा आउन आह्वान गरे ।

