काठमाडौं, २० साउन । कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले एमालेको सस्थागत निर्णयबाट आफूलाई हटाउन भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई भेटेरै चुनौती दिएका छन्।
अध्यक्ष ओली र मुख्यमन्त्री हिक्मत कार्कीबीच मंगलबार साँझ गुन्डुमा भएको भेटमा कार्कीले पुनः आफ्नो पुरानै अडान दोहोर्याएका हुन्।
स्रोतका अनुसार ओलीसँगको भेटमा कार्कीले आफ्नो नेतृत्वमा रहेको सरकारमा मुख्यमन्त्री परिवर्तनको औचित्यमाथि नै प्रश्न उठाएका थिए।
केही महिनामै प्रदेश सरकारको कार्यकाल सकिने अवस्थामा आफूलाई किन हटाउन खोजिएको हो भन्ने प्रश्न उनले अध्यक्ष ओलीसमक्ष राखेका थिए।
‘अहिले केही महिना मात्रै बाँकी छँदा मैले मुख्यमन्त्री किन छोड्नुपर्ने? म बदनाम बनेँ कि? मैले केही काम गर्न सकिनँ कि?,’ कार्कीले ओलीलाई भनेको कुरा उद्धृत गर्दै एक नेताले भने।
भेटमा कार्कीले एमालेभित्र पछिल्लो समय उठिरहेको संस्थागत निर्णय प्रक्रियाको मागलाई बेवास्ता गर्न नसकिने बताएका थिए।
‘पहिला तपाईंले कमिटीको अधिकार प्रत्यायोजन गरेर निर्णय गर्नुहुन्थ्यो। अहिले कमिटीमार्फत निर्णय गरौं। त्यसले संस्थागत अभ्यास बलियो बनाउँछ,’ कार्कीले ओलीलाई भनेका थिए।
कार्कीले पार्टीको कमिटीले औपचारिक निर्णय गरे त्यसलाई आफूले तत्काल कार्यान्वयन गर्ने प्रतिबद्धता पनि जनाएका थिए।
‘संस्थागत निर्णय भएपछि म एक सेकेन्ड पनि पदमा बस्दिनँ,’ उनले ओलीसमक्ष भनेका थिए।
मुख्यमन्त्री कार्कीसँग भेट्नुअघि अध्यक्ष ओलीले एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राई र प्रदेश अध्यक्ष घनश्याम खतिवडासँग छुट्टै छलफल गरेका थिए।
त्यसपछि मुख्यमन्त्री कार्कीलाई बोलाएर नेतृत्व परिवर्तनको विषयमा प्रत्यक्ष संवाद भएको एमाले स्रोतले जनाएको छ।
ओलीले कोशीमा नेतृत्व परिवर्तन गरेर संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने तयारी गरिरहेका छन्। यहीबेला मुख्यमन्त्री कार्कीले भने आफू पार्टीको औपचारिक निर्णयबाहेक राजीनामा नदिने अडान कायम राखेका छन्।
मंगलबार साँझको भेटपछि अध्यक्ष ओलीले बुधबार कोशी प्रदेशका पदाधिकारी, मुख्यमन्त्री कार्कीसहित प्रदेश नेतृत्वसँग सामूहिक छलफल गर्ने कार्यक्रम तय भएको छ।


