एडिलेड (साउथ अष्ट्रेलिया)
ओशिनिया क्षेत्रकै बृहत् र प्रतिष्ठित नेपाली खेलकुद महोत्सव ‘७ औँ ओशिनिया नेप्लिज स्पोर्ट्स मिट (ONSM) २०२७’ को तयारी औपचारिक रूपमा सुरु भएको छ।
सन् २०२७ मार्च २५ देखि २८ सम्म साउथ अष्ट्रेलियाको एडिलेडमा आयोजना हुने यस ऐतिहासिक प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्नका लागि लागि ओशिनिया समन्वय कमिटी (OCC) गठन गरिएको छ।
ओशिनिया क्षेत्रभरिका नेपाली खेलाडी र समर्थकहरूलाई एउटै मञ्चमा जोड्ने, मौलिक पहिचानको प्रवर्द्धन गर्ने र साउथ अष्ट्रेलियाको खेल सामर्थ्यलाई प्रदर्शन गर्ने उद्देश्यका साथ समिति गठन गरिएको एडिलेड नेप्लिज क्रिकेट एशोसिएसनका अध्यक्ष समेत रहनु भएका ‘७ औँ ओशिनिया नेप्लिज स्पोर्ट्स मिट (ONSM) २०२७ अध्यक्ष विजय जोशीले बताउनुभयो।
मुख्य कार्यसमिति र विभागीय जिम्मेवारी
प्रतियोगिताको चुस्त व्यवस्थापनका लागि घोषित मुख्य कार्यसमिति यस प्रकार रहेको छ:
- अध्यक्ष : विजय जोशी
उपाध्यक्षहरूमा: - अजय क्षेत्री (न्यु साउथ वेल्स)
- भैरव लिम्बू (भिक्टोरिया)
- सुरज पौडेल (अष्ट्रेलियन क्यापिटल टेरिटोरी – ACT)
- चन्द्र प्रकाश गुरुङ (नर्दन टेरिटोरी – NT)
- प्रसुन कुमार उपाध्याय (क्विन्सल्यान्ड)
- उमेश थापा (वेष्टर्न अष्ट्रेलिया)
- हरी गौतम (तास्मानिया)
- बाल तिमिल्सिना (न्युजिल्यान्ड) रहनुभएको छ।
कमिटिको सचिवमा सन्तोष अधिकारी, कोषाध्यक्षमा दीपेश राज पाण्डे, वित्तीय संयोजकमा दिप्सन खड्का र पब्लिक अफिसरमा विष्णु हमाल चयन हुनुभएको छ।
त्यस्तै, कार्यसमिति सदस्यहरूमा प्रमिला थापा (NSW), महेश श्रेष्ठ (VIC), राम मणी भुसाल (NT), शरण भट्ट (QLD), सुमित पाडाल (ACT), प्रदीप महर्जन (WA), सुजित रेग्मी (TAS) र सुबोध ढकाल (न्युजिल्यान्ड) रहनुभएको छ।
विभागीय संयोजकहरूको जिम्मेवारी बाँडफाँड
प्रतियोगितालाई व्यवस्थित र चुस्त रूपमा सञ्चालन गर्न विभिन्न विभागीय संयोजकहरूसमेत तोकिएको छ:
- मिडिया संयोजक: बालगोपाल उपाध्याय
- डकुमेन्ट कन्ट्रोलर: नविन पन्त
- खेलकुद संयोजक: थिर गुरुङ
- इभेन्ट म्यानेजमेन्ट संयोजक: पुष्कर कोइराला
- प्रमोसन संयोजक: शबा डिसी न्यौपाने
- सांस्कृतिक संयोजक: सिमा गुरुङ
- लजिस्टिक्स संयोजक: सन्तोषी गौतम
- ICT सपोर्ट संयोजक: मधुकर पौडेल
- मेडिकल संयोजक: रक्षा शुक्ला रहनु भएको छ ।
मस्कट ‘कोआला’ र मूल नारा सार्वजनिक
यस पटकको मिटको मूल नारा र मस्कट पनि तय गरिएको छ:
- मूल नारा: ‘हेरिटेजद्वारा एकजुट, खेलकुदद्वारा प्रेरित’ (United by Heritage, Inspired by Sport)
- मस्कट: ‘कोआला’ (Koala)
साउथ अष्ट्रेलियाको पहिचान र गौरवका रूपमा रहेको मैत्रीपूर्ण एवं लचिलो जीव ‘कोआला’ ले एकता, सामूहिक भावना र पाहुनाहरूलाई गरिने न्यानो आतिथ्यको प्रतीक झल्काउने अध्यक्ष जोशीले स्पष्ट पार्नुभयो। सन् २०१३ मा स्थापना भएको यो प्रतियोगिता नेपाली समुदायको ‘ओलम्पिक’ का रूपमा समेत चिनिन्छ। यसमा फुटबल, क्रिकेट, पौडी, टेवल टेनिस, लन टेनिस, दौड, बास्केटबल, भलिबल, गल्फ, व्याटम्यान्टिन गरी १० खेल समावेश गरिएको छ ।
ओलम्पियन कट्रिना वेभ सद्भावना दूत नियुक्त
प्रतियोगिताको आधिकारिक सद्भावना दूतमा अष्ट्रेलियन प्यारालिम्पिक स्वर्ण पदक विजेता कट्रिना वेभ (Katrina Webb OAM) नियुक्त हुनुभएको छ। तीनवटा प्यारालिम्पिक खेलहरूमा अष्ट्रेलियाको प्रतिनिधित्व गर्दै स्वर्ण, रजत र कास्य पदक जितिसक्नुभएकी वेभ एक अन्तर्राष्ट्रिय नेतृत्व रणनीतिकार, फिजियोथेरापिस्ट तथा उत्प्रेरक वक्ता हुनुहुन्छ।
नेपालसँग गहिरो आत्मिक र परोपकारी सम्बन्ध रहेकी वेभले दुई पटक सगरमाथा आधार शिविरको पदयात्रा गर्नुका साथै ‘नेपाल लिडरसिप प्रोग्राम’ समेत सञ्चालन गर्दै आउनुभएको छ।
अध्यक्ष जोशी भन्नु भयो `नेपालसँग गहिरो सद्भाव राख्ने कट्रिना वेभ जस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय व्यक्तित्व आबद्ध हुनुले प्रतियोगिताको गरिमा अझ बढेको छ। प्रतियोगितालाई नेपाली समुदायमा मात्र सीमित नराखेर बृहत् अष्ट्रेलियाली समुदायसम्म जोड्न अब प्रत्येक खेलका लागि एक-एक जना सद्भावना दूत समेत नियुक्त गरिनेछ।”
अध्यक्ष जोशीले यस खेलकुद महाकुम्भले ओशिनिया क्षेत्रमा छरिएर रहेका नेपाली समुदायबीच भाइचारा, एकता र खेलकुद प्रतिभाको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने बताउनुभयो।
आगामी दिनमा सहभागी राज्य तथा न्युजिल्यान्डसँग तीव्र समन्वय गर्दै स्पोर्ट्स मिटलाई ऐतिहासिक, समावेशी र भव्य बनाउने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष जोशीले सम्पूर्ण नेपाली समुदायलाई यसमा हातेमालो गर्न आह्वान गर्नुभएको छ।
७०० भन्दा बढी खेलाडी सहभागी हुने अनुमान
प्रतियोगितामा अष्ट्रेलियाका विभिन्न राज्यहरू र न्युजिल्याण्डबाट समेत गरी ७०० देखि ८०० सम्म नेपाली खेलाडीहरू सहभागी हुने अनुमान गरिएको मिडिया संयोजक बालगोपाल उपाध्यायले बताउनु भयो । यस वृहत् खेलकुद महोत्सवले साउथ अष्ट्रेलियाको पर्यटन, होटल व्यवसाय, स्थानीय व्यापार र सामुदायिक संलग्नतामा दीर्घकालीन र सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।


