काठमाडौं, २४ साउन । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण तथा उनीहरूका समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले विश्वका विभिन्न मुलुकमा विश्व आदिवासी दिवस विविध कार्यक्रमका साथ मनाइँदै गरेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले हाम्रो देश जातीय, भाषिक, धार्मिक,सांस्कृतिक र भौगोलिक विविधतायुक्त देश भएको बताएका छन्। आइतबार विहान एक बक्तब्य जारी गर्दै एमाले अध्यक्ष ओलीले अधिकार र पहिचान तथा भाषिक र धार्मिक अधिकार सबै पक्षको समान भएको बताएका हुन्। ‘यहाँको जल, जंगल, जमीन र प्रकृतिको संरक्षणमा आदिवासी समुदायको परम्परागत योगदान छ । यहाँका मौलिक भाषा, भेषभूषा, रीतिरिवाज र लोक संस्कृति नेपालका अमूल्य साझा सम्पदा हुन्’, एमाले अध्यक्ष ओलीले भनेका छन् ।
सन् १९९४ डिसेम्बर २३ मा संयुक्त राष्ट्रसङ्घको महासभाले हरेक वर्ष अगस्ट ९ लाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको हो । सन् १९८२ मा जेनेभामा संयुक्त राष्ट्रसङ्घको आदिवासी जनसङ्ख्यासम्बन्धी कार्यसमूहको पहिलो बैठक अगस्ट ९ मा भएकाले सोही दिनलाई दिवसका रूपमा छनोट गरिएको हो ।
संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वका ९० देशमा करिब ४७ करोड ६० लाख आदिवासी जनजाति बसोबास गर्छन् । उनीहरू विश्वको कुल जनसङ्ख्याको छ प्रतिशतभन्दा कम भए पनि विश्वका सबैभन्दा गरिबमध्ये कम्तीमा १५ प्रतिशत आदिवासी समुदायका छन् । उनीहरूले विश्वमा बोलिने अनुमानित सात हजार भाषामध्ये ठूलो बहुमत भाषा बोल्छन् र करिब पाँच हजार फरक संस्कृति प्रतिनिधित्व गर्छन् ।
आदिवासी जनजाति समुदायले विशिष्ट संस्कृति, परम्परा तथा मानिस र प्रकृतिबीचको सम्बन्धसम्बन्धी आफ्नै ज्ञान र अभ्यासलाई पुस्तौँदेखि संरक्षण गर्दै आएका छन्। उनीहरूको सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनीतिक विशेषता आफू बसोबास गर्ने बहुसङ्ख्यक समुदायभन्दा पृथक छन् ।
पहिचान, परम्परागत जीवनपद्धति तथा पुर्ख्यौली भूमि, क्षेत्र र प्राकृतिक स्रोतसाधनमाथिको अधिकारको मान्यताका लागि आदिवासी समुदायले लामो समयदेखि संघर्ष गर्दै आएका छन् । इतिहासका विभिन्न कालखण्डमा उनीहरूको अधिकार उल्लङ्घन हुँदै आएको र आज पनि उनीहरू विश्वका सबैभन्दा पछाडि पारिएका तथा जोखिममा रहेका समुदायमध्ये रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
आदिवासी जनजातिको अधिकार संरक्षण र उनीहरूको विशिष्ट संस्कृति तथा जीवनपद्धतिको निरन्तरताका लागि विशेष उपाय आवश्यक रहेको अन्तरराष्ट्रिय समुदायले स्वीकार गर्दै आएको छ । दिवसका अवसरमा आदिवासी जनजातिको अधिकार, संस्कृति, भाषा, परम्परागत ज्ञान तथा प्राकृतिक स्रोतसँगको सम्बन्धको संरक्षणका साथै उनीहरूको निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागितामा जोड दिइन्छ ।
ओलीको शुभकामना
आज ३२ औं विश्व आदिवासी दिवस, यस अवसरमा स्वदेश तथा विदेशमा बसोबास गर्नुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । आज आदिवासी समुदायको हक, अधिकार, संस्कृति र विशिष्ट पहिचानलाई संयुक्त राष्ट्रसंघले लिपिबद्ध गरेको ऐतिहासिक दिन हो ।
हाम्रो देश जातीय, भाषिक, धार्मिक,सांस्कृतिक र भौगोलिक विविधतायुक्त देश हो । हामीले यस विविधतालाई राष्ट्रिय सौन्दर्यका रूपमा आत्मसात् गर्दै आएका छौं । यस बहुसांस्कृतिक विशेषतालाई भिन्नताका रूपमा नभई राष्ट्रिय एकता र शक्तिका रूपमा सुदृढ गर्दै लैजानु पर्दछ। सदियौँदेखि कायम रहेको आपसी मेलमिलाप, भाइचारा र सहअस्तित्वको परम्परालाई हामीले अझ प्रगाढ बनाउनु पर्दछ ।
यहाँको जल, जंगल, जमीन र प्रकृतिको संरक्षणमा आदिवासी समुदायको परम्परागत योगदान छ । यहाँका मौलिक भाषा, भेषभूषा, रीतिरिवाज र लोक संस्कृति नेपालका अमूल्य साझा सम्पदा हुन् ।
हामीले सबै समुदायको समान अधिकार सुनिश्चित गर्दै राज्यका हरेक अंगहरूमा समावेशी र सहभागितामूलक प्रतिनिधित्वको ग्यारेन्टी गर्ने संवैधानिक व्यवस्था स्थापना गरी त्यसको कार्यान्वयन गर्दै आएका छौं । दशकौं लामो संघर्ष र बलिदानबाट निर्मित समावेशी प्रतिनिधित्व, न्याय र समानतामा आधारित यस संविधानको रक्षा र सुदृढीकरण गर्ने दायित्व पनि हाम्रै हो। यहाँका सम्पूर्ण समुदायको सहभागितामा देशलाई समृद्ध बनाउन हामीले सफलता प्राप्त गर्दै आएका पनि थियौं। नेपाललाई समृद्ध बनाएर मात्र नेपालीले सुख प्राप्त गर्ने बाटो खुल्छ ।
राष्ट्रको यस गन्तव्यमा केही समय अल्झन आए पनि लामो समय यस्तो अवस्था रहन सक्दैन । त्यसका लागि हामी सबैको जागरूकता र साझा प्रयास अवश्यक छ । हाम्रो राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक संविधान र यसले सुनिश्चित गरेका अधिकारहरूको रक्षा सम्पूर्ण समुदायको एकता चाहिन्छ । विविधतालाई शक्तिका रूपमा अङ्गीकार गर्दै एकताबद्ध हुन यस अवसरमा सबैलाई आह्वान गर्दछु । विश्व आदिवासी दिवसको पुनः हार्दिक शुभकामना ।


