काठमाडौं, २५ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच दोस्रो पटक एक्लाएक्लै भेटघाट भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा करिब सात घण्टा लामो छलफल भएको हो ।
स्रोतका अनुसार दुवै नेताले दिउँसो लन्चसहित रातिसम्म लामो संवाद गरेका थिए। लामिछाने राति करिब १० बजे मात्र बालुवाटारबाट बाहिरिएका थिए।
स्रोतका अनुसार पछिल्लो समय सरकारको कामकारबाहीप्रति रास्वपाभित्र असन्तुष्टि बढ्दै गएपछि प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच एक्लाएक्लै छलफल भएको हो। दुवैले एक्लाएक्लै छलफल गर्ने निर्णय गरेपछि सचिवालयका कुनै सदस्यलाई बैठकमा सहभागी नगराइएको बताइएको छ। उनीहरुबीच अहिले देखिएको असन्तुष्टिलाई निकट दिनमै सम्बोधन गर्ने सहमति भएको छ ।
छलफलमा पार्टी र सरकारलाई थप प्रभावकारी बनाउने, मन्त्रीहरूको कार्यसम्पादनको समीक्षा गर्दै आवश्यक परे हेरफेर गर्ने, तथा आगामी राजनीतिक र सरकारी रणनीतिबारे गम्भीर छलफल भएको स्रोतको दाबी छ। दुवै नेताले खुलेर आफ्ना धारणा राखेको पनि निकट स्रोतले जनाएको छ। लामिछाने दिउँसो आफ्नै निजी सवारी साधनमा बालुवाटार पुगेका थिए। छलफल सकिएपछि भने उनलाई सांझ प्रधानमन्त्री कार्यालयबाट छोड्न गाडी पठाइएको थियो ।
पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहबिच प्रत्यक्ष रूपमा असहमति बाहिर नदेखिए पनि पछिल्ला घटनाक्रमले आपसी मतभेदको आशंका गर्नेलाई चाहिँ बल पुर्याएको छ।
सरकार एउटै दलको भए पनि ‘दुई दलीय गठबन्धन’ जस्तो देखिन थालेको छ। पुराना दलको विकल्प बन्ने नारा दिएर उदाएको रास्वपाले पाएको विशाल जनादेश आपसी मतभेदका कारण कतै बिच बाटामै अलपत्र पर्ने त होइन भन्ने चिन्ता पनि उब्जिन थालेको छ। सार्वजनिक मञ्चमा नेताहरूबाट बारम्बार दोहोरिने ‘एकताको सन्देश’ले तत्कालका लागि तनाव मत्थर गरे पनि संगठनात्मक संरचना (पदाधिकारी मनोनयन, विधान संशोधन) र नीतिगत दिशामा देखिएको अस्पष्टताले प्रश्न उब्जाएको छ।


