काठमाडौं, २५ साउन । नेकपा एमालेभित्र पुर्नगठन र नेतृत्व परिवर्तनको बहस सिर्जना भैरहेको बेला केही नेताहरु पार्टीको नाम परिवर्तन गरेर अघि बढ्नुपर्ने भन्दै देशव्यापी लविङमा लागेका छन् । अध्यक्ष केपी शर्मा ओली हटाउने र दोस्रो पुस्ताका नेताहरुले पार्टी सम्हाल्ने रस्साकस्सी भएपनि पार्टीको नाम फेर्ने गृहकार्य समेत शुरु भएको छ ।
नेकपा एमालेभित्र चुनावी पराजयपछि उठेको पुनर्गठनको बहस अब सांगठनिक सुधारको मुद्दामा मात्रै सीमित छैन । यो बहस पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीचको शक्ति सन्तुलनसँग जोडिँदै गएको बेला सुरेन्द्र पाण्डे लगायतका नेताहरुले पार्टीको नाम फेरेर अघि बढ्नका लागि छलफल शुरु गरिसकेका छन् ।
सत्तारुढ नेकपा एमालेभित्र फेरि जनताको बहुदलीय जनवाद (जबज) र पूर्वमहासचिव मदन भण्डारीको विषय बहसमा तानिदै जाँद एमालेको नाम परिवर्तनको अर्को बहस सिर्जना भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीमा जबजको सिद्धान्तअनुसार काम हुन छाडेको गुनासो गरेको अर्को सन्दर्भ पनि यही बेला जोडिएको छ । यो बीचमा मदन भण्डारी फाउन्डेसनमा ओली र भण्डारी समूहबीच फुट देखापर्दा पार्टीको नाम परिवर्तनको बहसले पनि उत्तिकै स्थान पाउने देखिएको छ ।
विद्या भण्डारी र केपी शर्मा ओलीबीच अन्तरसंघर्ष चर्किएसँगै जबजको सिद्धान्तमा पनि अर्को बहस शुरु भयो । त्यस्तै जेनजी विद्रोहपछि सुरेन्द्र पाण्डेले पार्टीको नाममा समेत समस्या रहेको आन्तरिक रुपमा बताउदै आएका छन् ।
एमालेले तत्कालीन महासचिव मदन भण्डारीद्वारा प्रस्तावित जबजलाई पार्टीको राजनीतिक कार्यक्रमका रुपमा ०४९ सालको पाँचौं महाधिवेशनबाट पारित गरेर लागू गर्दै आएको छ । एमाले अध्यक्ष ओली जबजको वकालतकर्ताका रुपमा चिनिँदै आए पनि अहिले विद्या भण्डारी पक्षधर नेताहरुले ओलीमा विचलन देखिएको आरोप लगाउन थालेका छन् । कुनै बेला नेकपा एमालेका वर्तमान उपाध्यक्ष नेता रघुजी पन्तले ०४९ को पाँचौँ महाधिवेशनमा कम्युनिस्ट पार्टी संसारमा बदनाम हुँदै गएकाले एमालेले आफ्नो नाम फेरेर कम्युनिस्ष्ट पार्टीको साटो सामाजिक जनवादी (सोसल डेमोक्रेटिक) राख्नुपर्ने प्रस्ताव गरेका थिए । सुरेन्द्र पाण्डेहरु अहिले यही स्थानमा आइपुगेका छन् ।
पाँचौँ महाधिवेशनमा मदन भण्डारीले ‘नौलो जनवाद’लाई छाडेर ‘जनताको बहुदलीय जनवाद’ प्रस्ताव गरेका थिए । त्यस्तै सीपी मैनालीले ‘परिमार्जित नौलो जनवाद’ प्रस्ताव गरेका थिए । पन्तले भने कम्युनिष्ट नाम हटाएर ‘सामाजिक जनवाद’ प्रस्ताव गरेका थिए । ‘जबज’ ले विचारलाई अंगभंग बनाएको पन्तको आरोप थियो ।
फागुन २१ को निर्वाचनमा एमालेको जनमत खुम्चिएपछि पार्टीभित्र नेतृत्व र संगठन पुनर्गठनको माग चर्कियो । त्यसलाई सम्बोधन गर्न जेठ १० गते सचिवालय बैठकले रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा कार्यदल गठन ग¥यो । एक महिनाभित्र प्रतिवेदन दिने जिम्मेवारी पाएको कार्यदल दुई महिना पार गरेर अघि बढिसकेको छ । कार्यदलको बैठकसमेत नियमित बस्न नसकेको र संकलित सुझावको करिब ८०० पृष्ठको मस्यौदा छलफलबाट पारित हुनुअघि नै अध्यक्ष ओलीसमक्ष पुगेको तथा त्यहाँ उल्लेखित प्राब्धानलाई ओली अस्वीकार गर्दा पार्टीको नाम परिवर्तनको बहस पनि बढ्दै गएको छ ।


