काठमाडौं, २६ साउन ।
कांग्रेस पूर्व सभापति शेरबहादुर देउवालाई करिब सात हजार नेता–कार्यकर्ताले स्वगत गर्ने भएका छन् ।
विहिबार करिब ५ महिनापछि स्वदेश फर्किन लागेका देउवालाई त्यति धेरै नेता–कार्यकर्ताले स्वागत गर्ने तयारी गरिएको नेता मिन विश्वकर्माले बताए ।
राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा स्वागतको तयारी भइरहेको उनले जानकारी दिए । देउवा २८ गते दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्दैछन् । काठमाडौं आएकै भोलिपल्ट देउवा समूहले शशांकको नेतृत्वमा काठमाडौंमा राष्ट्रिय भेला गर्दैछ ।
‘हामीले स्वागत गर्न पाउनुपर्छ भनेर नै उहाँलाई दिउँसो आउने गरी मिलाइएको हो । संयोजककै नेतृत्वमा पार्टीका शीर्ष नेताहरू स्वागतमा जानुहुन्छ ।’ विश्वकर्माले भने ।
राष्ट्रिय भेला तयारीका लागि अहिले भेला आयोजक समितिको बैठक बसिरहेको छ । ‘हामीले उहाँको स्वागतमा करिब ५ देखि ७ हजार नेता कार्यकर्ता उपस्थित हुने अनुमान गरेका छौँ।’ विश्वकर्माले भने ।
कांग्रेस आधिकारिकता विवादमा सर्वोच्च अदालतबाट निस्सा पाएपछि देउवा समूह उत्साहित छ । यही समयमा देउवा स्वदेश फर्किदैछन ।


