हिजो एक जना महिलाले दिएको उजुरीलाइ आधार मानेर नेपालको पत्रकारिता क्षेत्रमा खोज अनुसन्धानमुलक समाचारको पर्यायको रुपमा चिनिनु हुने श्रद्धय किशोर श्रेष्ठलाइ पक्राउ गरिएको छ । पत्रकारले समाचार बनाउने हेतु घटना घटाउन सक्दैनन उनीहरुले त केवल भए गरेका घटनाको गहिराइ सम्म गएर रिपोर्ट मात्रै गर्छन भन्ने सत्य नजानेर , नबुझेर र किशोर श्रेष्ठले गरेको खोजमुलक पत्रकारिताको कारण कर्तुत भण्डाफोर हुन पुग्दा अनेकन गुमाउन वाध्यहरुले फैल्याएको अफवाह बाट प्रभावित भएर कतिपयले बल्ल ठिक पर्यो शैलीमा त्यस गिरफ्तारीलाइ उचित ठहर गर्दै लेखेको बोलेको पनि हेरेको छु । त्यस्तो गर्नेहरु मध्य किशोर श्रेष्ठले गरेको रिपोर्टिंगले घाटा पुगेका केहि अराजक अपराधी पात्र र तिनका आसेपासेहरु देखि आफ्नो मान राख्न सक्ने सामर्थ्य नभएका माननीय भनिनेहरु लाइ त केहि भन्नु छैन तर अरु असल मन भएका तर अफवाह बाट प्रभावित व्यक्तित्वहरुको सम्मान गर्दै केहि
लेख्नु पर्छ भन्ने लागेको छ ।
सवै भन्दा पहिला किशोर श्रेष्ठ विरुद्ध वैयक्तिक गोपनियतासम्बन्धी ऐन, २०७५ विपरितको कसुर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीको भनाइ छ रे तर जसको गोपनियता भंग गरेको आरोप छ वहाँ स्वयमले आफ्नो फेसबुकमा पोष्ट गरेको तस्विरको चर्चा गर्ने वाहेक किशोर श्रेष्ठले अरु गरेको केहि हैन । फेसबुकमा आफैंले पोष्ट गरेको तस्विरको बारेमा समाचार बनाउनुले गोपनियता भंग गरेको भन्न मिल्दै मिल्दैन । अनि कतिपय मानिसहरुले भनेको सुन्छु कि अर्काको बदनाम हुने गरेर तस्विर हाल्ने , समाचार लेख्ने किन गर्ने ? यसो सुन्दा ठिकै लागे पनि हामि सबैले बुझ्नु पर्छ कि सार्वजनिक रुपमा भन्न नसकिने कर्म गर्ने दोषी कि गरिएका कामको भण्डाफोर गर्ने समाचार बनाउने पत्रकार दोषी ? मलाइ लाग्छ कर्तुत भण्डाफोर गर्ने पत्रकार हैन कर्तुत गर्ने दोषी । अनि त्यही विषयमा कतिपयले जो महिलाको जस्तो तस्विर आयो , त्यो तस्विर बनाएर हालिएको हो भनेर भनेको पनि सुनिन्छ । भलै जिम्मेवार मानिसहरुले त्यो तस्विर बनाइएको नभई वास्तविक रुपमा खिचिएको भनिरहेको छन तर पनि मानौं त्यो बनाएर कोहि कसैले फेसबुक ह्याक गरेर सार्वजनिक गरेको रहेछ रे अनि त्यसैलाइ आधार मानेर समाचार बनाउने काम भएछ रे । अनि त्यसको समाधान त समाचार बनाउने संचार माध्यमलाइ सत्य तथ्य सहित खण्डन पठाउने होला , अनि नभए प्रेस काउन्सिल जाने होला अनि पनि नभए गालि वेइज्जतिको मुद्दा लिएर अदालत जाने होला नि , हैन र ? तर त्यसो नगरी प्रहरीमा मुद्दा दर्ता हुन्छ र हतार हतार गिरफ्तार गरिन्छ पत्रकारलाइ । यो नितान्त गलत हो ।
दुनियालाइ थाहा छ केहि समय अगाडी उनै किशोर श्रेष्ठको खोजमुलक पत्रकारिताले गर्दा पद गुमाउन वाध्य मानिस अहिले फेरी गृह मन्त्री छन । अनि तिनै गृह मन्त्रीको दल संग सम्वद्ध सांसद सहितको तस्विर फेसबुकमा आउँछ , त्यसैको आधारमा समाचार बन्छ अनि तस्विरमा देखिनेले तस्विर आफ्नो हैन भन्दै बोल्छन अनि गलत तस्विरको आधारमा समाचार बन्यो भन्नु भन्दा पनि गोपनियता भंग भएको भन्दै मुद्दा दर्ता गरिन्छ । यो सबै हुँदै गर्दा ति मुद्दा हाल्ने महिलाले त अनावश्यक तनाव मात्रै भोगेको प्रष्ट छ , किन कि मुद्दा दर्ता गर्ने उनको मनसाय नै नभएको कुरा आइरहेको छ । तर पनि मुद्दा दर्ता गराइयो ! किन कि किशोर श्रेष्ठ संग प्रतिशोध साँध्ने , वदला लिने मौका यही हो भन्ने कतिपयलाइ लाग्यो । आफ्ना काला कर्तुत सार्वजनिक हुँदै गर्दा त्यसबाट पिडित तिलमिल हुनु ठिकै हो तर तिनको प्रतिशोध साध्नको खातिर स्वतन्त्र प्रेश माथि प्रहार गर्ने असंवैधानिक कामको जनता बाट प्रतिवाद नहुने भन्ने चाहिं हुनसक्दैन र हुनु हुदैन । स्वतन्त्र प्रेशको गला घोटने , संविधानको उल्लङ्घन गर्ने , मुद्दा सिर्जना गराएर व्यक्ति थुन्ने कामको भण्डाफोर गरिनु पर्छ ।
हुनसक्छ पत्रकारिता गर्दै गर्दा किशोर श्रेष्ठ बाट पनि जाने अन्जाने कमजोरी भएका होलान , कतिपय विषयमा वहाँले आत्माआलोचना नै गरेको पनि सुनिएको छ । त्यसो हुँदा कतिपय लाइ किशोर श्रेष्ठ मनै नपर्न सक्छ , त्यो स्वाभाविक हो । तर के हामीलाइ मन पर्ने वा मन नपर्ने आधारमा कुनै मानिसलाइ गैरकानुनि रुपमा थुनेर कसैले आफ्नो कुण्ठा शान्त पार्ने विषयमा पनि मौन हुन मिल्छ ? बिल्कुल मिल्दैन र त्यसो गर्नु हुदैन । त्यसैले किशोर श्रेष्ठको गिरफ्तारीलाइ व्यक्तिको दृष्टिले हेर्नु हुदैन , यसलाई स्वतन्त्र प्रेश , लोकतन्त्र र संविधान माथिको प्रहारको रुपमा लिएर त्यसको भण्डाफोर गरिनुपर्छ ।
तसर्थ , गालि वा तालि दुवै स्वीकार्दै भन्छु, किशोर श्रेष्ठको गिरफ्तारी गलत हो र वहाँलाइ तत्काल रिहाइ गरियोस
–अमेरिका निवासी लेखक नेपालको राजनीति र सुरक्षा मामिलामा चासो राख्छन ।


