काठमाडौं, ६ असोज ।
एमालेका प्रभावशाली युवा नेता ठाकुर गैरेले पार्टी पुनर्गठन अपरिहार्य भएको भन्दै केन्द्रीय कमिटीको जारी बैठकबाट केन्द्रदेखि तलैसम्म पुनर्गठनसम्बन्धि कार्ययोजना पास गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
उनले पार्टी पुनर्गठन नगरी अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा स्थानीय चुनावमा पार्टी होमिए उम्मेद्वार नै पाउन नसक्ने अबस्था आउनसक्ने चेतावनीसमेत दिएका छन् ।
‘पार्टीलाई माथिदेखि तलैसम्म पुनर्गठन नगरी स्थानीय चुनावमा जाने हो भने पार्टीका नेता–कार्यकर्ता अरु पार्टीबाटै उम्मेद्वार बन्न सक्छन्, उम्मेद्वार पनि नपाइन सक्छन्, कतिपय बनेकाले पनि चुनाव नजित्न सक्छन्, त्यसैले पुनर्गठनपछि मात्र पार्टी चुनावी तयारीको कार्यभारमा केन्द्रीत हुनुपर्छ ।’
गैरेले चुनावको तयारीमा लाग्नुअघि पुनर्गठनको कार्यभार पुरा गर्नु अपरिहार्य भएको भन्दै केन्द्रीय कमिटी बैठकलाई कन्भिन्स गर्ने प्रयास गरे ।


