काठमाडौं, ६ असोज ।
एमाले महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको सहयोग र समर्थनबिना पार्टी अध्यक्ष नबन्ने घोषणा गरेका छन् ।
आफूविरुद्ध घेराबन्दी गरेर नेतृत्व हत्याउन खोजेको आशंकामा ओलीले बैठकसमेत संचालन गर्न नदिई निषेध र आक्रमणको नीति लिएपछि पोखरेलले समर्पणको नीति लिदैं त्यस्तो घोषणा गरेका हुन् ।
केन्द्रीय कमिटीको मंगलवारको बैठकमा पोखरेलले आफू कहिल्यै पनि ओलीको नीतिविरुद्ध नरहेकोसमेत प्रष्टिकरण दिँदै असहमति राखेर महासचिवमा रहिरहन नसक्नेसमेत प्रष्ट्याए ।
‘नीति र नेतृत्वप्रति असहमति राखेर म महासचिवमा रहन सक्दिनँ, किनभने कमजोरी र गल्ती भएको छ भने म पनि त्यसको भागिदार रहनुपर्छ, पोखरेलको भनाई थियो,‘त्यसकारण अध्यक्षको सहयोग र समर्थन बिना म अध्यक्ष बन्दिन र बन्न पनि सक्दिन ।’
पोखरेलले पुनर्गठनलाई व्यक्ति परिवर्तनसँग बुझ्न नहुने भन्दै त्यसलाई विचार र नीतिको पुनर्गठनसँग पनि जोडेर हेर्नुपर्ने भन्दै केही दृष्टान्त प्रस्तुत गरेका थिए । ०३९ मा र २०६५ मा वैचारिक पुनर्गठन भएको भन्दै पोखरेलले पछिल्लो पटक ओलीकै नेतृत्वमा पार्टीलाई अध्यक्षसहितको सामूहिक नेतृत्वमा लगेर वैचारिक पुनर्गठन गरिएको बताए । त्यसकारण कार्यदलले पुनर्गठन भनेर व्यक्तिलाई हटाएर पार्टी पुनर्गठन गर्ने प्रस्ताव नगरेको उनको भनाई थियो ।


