काठमाडौं, ७ असोज । नेकपा (एमाले)की केन्द्रीय सदस्य रचना खड्काले पछिल्लो निर्वाचनमा पार्टीले व्यहोरेको कमजोर परिणामलाई आधार बनाएर नेतृत्व, नीति, कार्यशैली र संगठन सञ्चालनको निर्मम समीक्षा गर्नुपर्ने बताएकी छन्।
एमाले केन्द्रीय कमिटीको जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्दै खड्काले पार्टीको राजनीतिक कार्यदिशाको महत्त्वपूर्ण पक्ष नेता–कार्यकर्ता र पार्टी–जनताबाट अनुमोदित हुनुपर्ने बताइन्।
खड्काले पार्टीका नेताहरूबीच पुनः एकता हुने विषयमा आफूलाई चिन्ता नभएको बताउँदै नेतृत्वको एकताले मात्रै पछिल्लो निर्वाचन परिणाम बदल्न सक्ने हो कि होइन भन्ने प्रश्न समेत उठाइन्। ‘मलाई नेताहरू एकापसमा मिल्नुहुन्न कि भन्ने डर लाग्दैन,’ उनले भनिन्, ‘तर चिन्ता के हो भने तपाईंहरूको एकताले मात्रै आजका दिनमा माथि उल्लेखित निर्वाचन परिणामलाई बदल्न सक्ला ?’
पछिल्लो निर्वाचनको परिणामलाई पार्टीको अवस्थाको वास्तविक ऐनाका रूपमा लिनुपर्ने उनको धारणा थियो। उनका अनुसार १६५ प्रत्यक्ष निर्वाचन क्षेत्रमध्ये एमालेले ९ स्थानमा मात्रै जित हासिल गरेको र समानुपातिकतर्फ १६ सिट पाएको स्मरण गराउँदै पराजितमध्ये १५ स्थानमा मात्रै पार्टी दोस्रो भएको र ४९ स्थानमा उम्मेदवारको जमानत जफत भएको नेताहरूलाई स्मरण गराइन्।
‘यो तथ्यभित्रको सत्य स्वीकार गरौँ,’ खड्काले बैठकमा भनिन्, ‘पार्टी अध्यक्ष स्वयं ५० हजार मतान्तरमा पराजित हुनुभयो र सचिवालयका एक जना सदस्यले पनि निर्वाचन जित्न सक्नुभएन।’

उनले आफ्ना भनाई ८ वटा बुँदामा राखेकी थिइन ।
१. हामी हाम्रो राजनीतिक कार्यदीशाको महत्त्वपूर्ण पक्ष नेताहरु कार्यकर्ताबाट र पार्टी जनताबाट अनुमोदन हुनुपर्दछ भन्ने मान्छौ भने पछिल्लो निर्वाचनको परिणामलाई अगाडी राखेर सोचौं । निर्वाचनमा देशका १६५ निर्वाचन क्षेत्रमध्ये जम्मा ९ र ११० समानुपातिक मा जम्मा १६ जना जितेका हौ। हारेका मध्ये १५ ठाउँमा मात्रै दोस्रो थियौ । ४९ ठाउमा त जमानत नै जफत थियो । पार्टी अध्यक्ष स्वयम् ५० हजार अन्तरमा पराजित हुनुभएको थियो र सचिवालयको एक जनाले पनि निर्वाचन जित्न सक्नु भएन । यो तथ्य भित्रको सत्य स्वीकार गरौं ।
२. कार्यदलले यहि तथ्यलाई केन्द्रमा राखेर खस्कदो जनमतको कारणहरुको खोजी गर्दै हामीले गरेका निर्णयहरु र कार्यदीशातर्फ फर्केर निर्मम समीक्षा गर्नुपर्ने थियो । कार्यदलमा के थियो थाहा भएन । पार्टी पंक्तिमा छलफल ठिकै ढङ्गले हुँदै थियो । बिनम्रताका साथ भन्छु कार्यदलले आयोजना गरेको पार्टी भित्रको छलफललाई नेतृत्व परिवर्तनमा मात्रै केन्द्रित गर्ने काममा आफै कार्यदल निर्माण गर्ने अध्यक्ष कमरेडको समेत योगदान रह्यो । तथापी नेतृत्वको प्रभावकारिताको बिषय पनि पुनर्गठनको एउटा बिषय त हो नै । प्रचार जे भएपनी अन्य बिषयहरुमा पनि व्यापक छलफल भए भन्ने लाग्छ। प्रतिबेदनमाथी नै यसमा छलफल गर्न उचित हुन्थ्यो । यो बैठकको केन्द्रिय बिषय नै कार्यदलको प्रतिबेदन हुनुपर्दथ्यो । प्रतिबेदन केन्द्रीय कमिटीमा प्रस्तुत नहुनु अत्यन्तै गलत निर्णय हो ।
३. मलाई नेताहरु एकापसमा मिल्नुहुन्न कि भन्ने डर लाग्दैन किनभने बिगतको अनुभवको आधारमा भन्न सक्छौ यहाँहरु मिल्नु हुन्छ र एकताबद्द् हुनुहुन्छ । तर चिन्ता के हो भने यहाँहरुको एकताले मात्रै आजका दिनमा माथी उल्लेखित निर्वाचन परिणामलाई बदल्न सक्ला ?
४. अध्यक्षको प्रतिबेदनमा प्रतिनिधि सभाको पुनस्थापनाको लागि आन्दोलन गर्ने बिषय मुल कार्यभारको रुपमा आएको छ, अध्यक्ष कमरेड म ध्यानाकर्षण गराउन चाहन्छु यदि यस्तो गरियो भने २०७७ साल पुष ५ गते प्रतिनिधि सभाको बिघटन पश्चात् आम जनतामा टुट्दै गएको हाम्रो भरोसा र ओरालो यात्रालाई यसले अझै तीब्र बनाउनेछ मात्रै हैन क्षेतबिक्षत बनाउनेछ। । कृपया यता नलागौ ।
५. बिचार, व्यवहार, जीवनशैली, कार्यशैली, पार्टीकाम छोडेर मुल्यांकनको एउटै आधार नेतृत्वको प्रशंसा र आलोचनामा सिमित भय र सङ्कुचनबाट पार्टी पंक्तिलाई मुक्त गरौं । आन्तरिक प्रतिश्पर्धा नेतृत्व प्रतिको अनादार हैन । अजेन्डामा असहमति राख्ने बित्तिकै पार्टी बिभाजनगर्न खोजेको आरोप लगाउने काम बन्द गरौं । केन्द्रीय सदस्यहरुलाई जनताले के भनिरहेका छन पार्टी पंक्तिले के भनिरहेको छ भन्ने यथार्थता केन्द्रीय कमिटीमा राख्न प्रेरित गरौं अन्यथा बैठकहरु जिवन्त बन्न सक्दैनन ।
६. ध्यान पुर्याउ १८-४० बर्ष उमेरसमुहका मतदाता ५२ प्रतिशत छन र ५० बर्षभित्रका मतदाता करिव ६७% रहेका छन । हाम्रो अघिल्लो पंक्तिले नै मुलत नीति निर्माणको निर्माणको काम गर्छ । त्यहा ६७% मतदाता रहेको उमेरसमुहको प्रतिनिधित्व नै शून्य छ । यो तथ्यांक र हाम्रो अबस्था अस्वभाविक छ ।
७. सत्य हो पार्टी र राष्ट्रमाथी घेराबन्दी छ , षड्यन्त्र छ , दमन छ तर पार्टी माथीको दमनले पार्टी पंक्ति मा प्रतिरोध हैन निराशा ब्याप्त भयो भने स्वीकार गरौ हामीले कार्यकर्ताको भावना र जनताको मनोबिज्ञान बुझ्न सकेनौं ।
८. समय सङै धेरै बिषयमा परिवर्तन आएको छ । आज जनमत प्रकट हुने थलो Digital platform हो । Digital platform मा आएका बिष्यहरुलाई घेराबन्दी र षडयन्त्र मात्रै नठानौ । यसले जनमत निर्माणमा निर्णायक काम गर्छ भन्ने बुझौं । त्यसैले हानीले बोलेका सम्पुर्ण बिष्यहरु आर्काइभमा रहने यो समयमा हाम्रा सम्पुर्ण गतिबिधिना सम्यम्ता अपनाउन जरुरी छ ।


