काठमाडौं, ७ असोज ।
एमाले युवा नेता विष्णु रिजालले अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदनलाई समर्थन गर्दै उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले प्रतिवेदनका सन्दर्भमा गरेको ब्याख्यालाई समर्थन गरेका छन् ।
ललितपुरको भनिमण्डमा वुधबार जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीको प्रतिवेदनमाथि पौडेल र पोखरेलले गरेको पछिल्लो ब्याख्याले अविश्वासको वादल बिलाएको भन्दै युवा नेता रिजालले त्यसप्रति समर्थन जनाएका हुन् ।
पौडेल र पोखरेलले मंगलवार अध्यक्ष ओलीको प्रतिवेदनलाई समर्थन गर्दै ओलीकै नेतृत्वमा पार्टीलाई एकताबद्ध बनाएर स्थानीय निर्वाचन केन्द्रीत बनाउनुपर्ने जोड दिएका थिए ।
‘अध्यक्ष कमरेडको प्रतिवेदनले आफ्ना कमजोरी केलाएको छ । अध्यक्ष स्वयम्ले निर्वाचनमा पार्टीको पराजयको नैतिक जिम्मेवारी लिएर अब के गरेर जार्नुपर्छ भन्ने मार्गचित्र प्रस्तुत गर्नुभएको छ । यसमा उपाध्यक्ष विष्णु पौडेल र महासचिवशंकर पोखरेल गरेको व्याख्याबाट पार्टीका मुख्य नेताहरुका बीचमा खडा भएको अविश्वासको कालो–सेतो सबै खालको बादलबिलाएर गएको छ । म समर्थन गर्दछु ।’ रिजालले बैठकमा प्रतिवेदनमाथि आठ बुँदे लिखित सुझाव दिँदै भनेका छन् ।
उनले कम्युनिष्ट आन्दोलनलाई पुनस्थापित गर्न सहजताका लागि एमालेले वामपन्थी एकताको निर्णय गर्नुपर्ने केन्द्रीय कमिटी बैठकबाटै ध्यानाकर्षण पनि गराएका छन् ।
‘हाम्रो पार्टीले वामपन्थी एकताको निर्णय गर्नुपर्छ । हाम्रो नीति र नेतृत्वमा नेकपालगायत अरु वामपन्थी दलसँग एकता गर्दा कम्युनिस्ट आन्दोलनलाई पुनःस्थापित गर्न सहज हुन्छ । साथै, समग्र कम्युनिस्ट आन्दोलनको पुनःगठनका लागि गम्भीरतापूर्वक बहस हुनुपर्छ ।’ वामपन्थी एकताको आवश्यकता र औचित्यबारे सुझाव राख्दै रिजालले भनेका छन् ।
आजकै नारा, सिद्धान्त, रणनीति, कार्यनीति, कार्यशैली र सरकारदेखि सरकारसम्मको गोलचक्करप्रति नयाँ पुस्ता कत्ति पनि आकर्षित नभएकाले सापेक्षतामा हेरेर हिजो मदन भण्डारीले अनेक आरोप खेपेर चालेजस्तै साहसिक कदम आवश्यक रहेकोमा जोड दिँदै रिजालले त्यसले फेरि एक कालखण्डका लागि पुनःजीवन दिने जिकिर पनि गरेका छन् ।
त्यस्तै, पार्टीले फिजिकल र डिजिटल दुबै मोर्चामा उत्तिकै ध्यान दिन आवश्यक रहेको सुझाव राख्दै उनले भनेका छन्,‘ आजको डिजिटल चुनौतीलाई सामना गर्न पार्टीका परम्परागत संरचनाहरु मात्र पर्याप्त छैनन् । केन्द्रमा २४ घण्टा जागा रहने गरी अलग्गै डिजिटल डिपार्टमेन्ट आवश्यक छ । साथै, प्रदेश र स्थानीयतहमापनियसलाई तीब्रता दिनुपर्छ ।’

केन्द्रीय कमिटीका सदस्यहरुलाई आफ्नो पालिका जिताउनका लागि उत्तरदायी बनाउन उनीहरुलाई उम्मेदवार छनोट प्रक्रियादेखि नै सामेल गराउने संस्थागत व्यवस्था गर्नुपर्ने उनको माग छ । त्यस्तै, संसद्मा बारम्बार दलका तर्फबाट नेपाली सेनाप्रति प्रस्तुत दृष्टिकोणले भ्रम उत्पन्न भन्दै रिजालले राज्यको स्थायी संरचनासँग टकराव बढेकोप्रति सचेत भएर पार्टीले उपयुक्त नीति र निर्णय लिनुपर्नेमा जोड दिएका छन् ।
त्यस्तै, पार्टीका विभागहरुलाई परम्परागत नबनाएर कम्तीमा ५० प्रतिशत एक्सपर्ट युवाहरुलाई समेट्ने नीति बनाउनुपर्नेमा रिजालको जोड छ ।

