काठमाडौं, ११ असोज ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आगामी मंसिर अन्तिम साता हुने राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ । तयारीकै सिलसिलामा राप्रपाले ७२ जिल्लामा अधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व निर्वाचित गरेको छ ।
६ असारमा बसेको राप्रपा केन्द्रीय समिति बैठकले २६, २७ र २८ मंसिरमा काठमाडौंमा महाधिवेशन आयोजना गर्ने निर्णय गरेको थियो ।
तयारीकै सिलसिलामा भदौ मसान्तभित्र७२ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको जानकारी दिँदै पार्टी प्रवक्ता तथा राष्ट्रिय महाधिवेशन प्रचार प्रसार समितिका संयोजक मोहनकुमार श्रेष्ठले १५ असोजभित्र ७७ ओटै जिल्लामा अधिवेशन सम्पन्न भइसक्ने जानकारी दिए ।
श्रेष्ठका अनुसार भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट र धादिङको अधिवेशन सम्पन्न हुन बाँकी छ भने जुम्ला र धनकुटामा १४ असोजम्म अधिवेशन सम्पन्न हुँदैछ । जिल्ला अधिवेशन सकिएलगत्तै २१ असोजमा सातओटै प्रदेशमा अधिवेशन आयोजना गर्ने राप्रपाको तयारी छ ।
जिल्ला र क्षेत्रीय अधिवेशनका क्रममा पदेन महाधिवेशन प्रतिनिधि चुनिइसकेका छन् । विधानअनुसार जिल्ला अध्यक्ष, संघीय निर्वाचन क्षेत्रका अध्यक्ष, प्रदेशसभा क्षेत्रका अध्यक्ष, गाउँपालिका, नगरपालिका, उपमहानगर र महानगरपालिका अध्यक्ष स्वत ः महाधिवेशन प्रतिनिधि हुन्छन् ।
तलका अधिकांश समितिहरुमा अधिवेशन सकिएकाले १ हजार आसपास पदेन महाधिवेशन प्रतिनिधि छानिइसकेको राप्रपाले जनाएको छ ।
निर्वाचित प्रतिनिधिहरु भने आगामी १५ असोजपछि छानिनेछन् । त्यस समयसीमाभित्र सदस्यता नविकरण र नयाँ सदस्यता वितरणको काम सकिएपछि २ सय ३० प्रदेशसभा क्षेत्रीय समितिले समानुपातिक, समावेशि सिद्दान्तका आधारमा हरेकले ९ जनाका दरले महाविधेशन प्रतिनिधि छान्नेछन् ।
छानिने प्रतिनिधिमध्ये एक जना ४० वर्षमुनिको युवा अनिवार्य हुनुपर्ने सर्कूलर राप्रपाले गरेको छ ।


