काठमाडौं, २६ असोज ।
साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरिबहादुर सुनारविरुद्ध परेका उजुरीमाथि थप तथ्य स्पष्ट पार्न संसदीय सुनुवाइ समितिले प्रहरी र अध्यागमन विभागसँग सम्बन्धित कागजात तथा विवरण माग गर्ने निर्णय गरेको छ ।
सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले उजुरीकर्ता तथा सम्बन्धित व्यक्तिसँग छलफल गरेपछि सुनार जर्मनीबाट डिपोर्ट भएर फर्काइएका हुन् वा होइनन् भन्ने विषयमा विभागमार्फत विवरण झिकाउने निर्णय गरेको हो । सुनार जर्मनी गएको समयमा त्यहाँबाट नेपाल फर्काइएको दाबी गर्दै उनको नैतिक चरित्रमाथि प्रश्न उठाइएको उजुरी समितिमा परेको थियो ।
त्यसैगरी, एक महिलासँगको विवाहेतर सम्बन्ध र उनीमाथि दुर्व्यवहार गरेको आरोपसँग सम्बन्धित उजुरीबारे ललितपुर प्रहरीसँग कागजात माग गर्ने निर्णय पनि समितिले गरेको छ । उक्त घटनाका सम्बन्धमा प्रहरीमा उजुरी परेको र मिलापत्र भएको भनिएको विषयमा वास्तविकता बुझ्न समितिले सम्बन्धित अभिलेख उपलब्ध गराउन भनेको हो ।
सुनारविरुद्ध परेका उजुरीका विषय गम्भीर रहेकाले थप प्रमाण अध्ययन गरेर मात्र आवश्यक निर्णयमा पुग्नुपर्ने समितिका सदस्यहरूको धारणा छ । उजुरीमा उल्लेख गरिएका दाबीको सत्यता यकिन गर्न सम्बन्धित निकायबाट प्राप्त हुने विवरणले सहयोग गर्ने अपेक्षा गरिएको छ ।

यसैबीच, समितिले सोमबार भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा र बेलायतका लागि गौरवशमशेर जबराको संसदीय सुनुवाइ गर्ने कार्यसूचीसमेत राखेको छ ।
सरकारले असोज २ गतेको मन्त्रिपरिषद् बैठकबाट विभिन्न देशका लागि राजदूत सिफारिस गरेको थियो । सिफारिसमा जर्मनीका लागि सरू जोशी, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जापानका लागि जिज्ञानकुमार थापा, ओमानका लागि डा। पदमाक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा।डा। संगम श्रेष्ठ र श्रीलंकाका लागि डा। मञ्चलाकुमारी झासमेत छन् ।
संसदीय सुनुवाइ समितिले सम्बन्धित निकायबाट प्राप्त हुने कागजात अध्ययन गरेपछि प्रस्तावित राजदूत सुनारविरुद्धका उजुरीका विषयमा थप निर्णय गर्नेछ ।

